राष्ट्रियता : राष्ट्रियतामा राष्ट्रको पहिचान र प्रतिष्ठा कायम गराउने, राष्ट्रप्रति दर्शाउने अगाध सम्मान, अपनत्व, देशप्रेमजस्ता भावनाबाट प्रेरित हुँदै मन, वचन र कर्मले सदैव सत्मार्गमा आफ्ना क्रियाकलापलाई केन्द्रित गराउन सक्नुपर्छ । यसले देशको समग्र पहिचानलाई समेट्न सक्नुपर्छ । यो भावनात्मक विषय हो, जुन अन्तःस्करणबाट प्रष्फुटित हुन्छ र कर्ममा परिणत हुन्छ । राष्ट्रियतामा समर्पित नागरिक जुनसुकै परिस्थितिमा सदैव राष्ट्रको चिन्तनमा लागिरहेको पाइन्छ । तसर्थ, राष्ट्रियतामा अवसरवाद र व्यक्तिगत स्वार्थ रहँदैन र रहनु पनि हुँदैन ।
सामान्य बोलीचालीको भाषामा राष्ट्रियतालाई राष्ट्र वा राज्यसँग जोडेर हेरिन्छ । जो देशको नागरिक हो, उसको राष्ट्रियता त्यही हो । तर, यो यति मात्रमा सीमित हुँदैन । राष्ट्रियता परिचायक र पहिचान पनि हो । समान मौलिकता, सांस्कृतिक रहनसहनका बीचको सुमधुर सम्बन्ध एवं सौहार्दतालाई त्यस समाजभित्र विकास भएको राष्ट्रियता भनिन्छ । विशेष गरी बहुलवादी समाजमा विभिन्न प्रकारका संस्कृति, भाषाभाषी, धर्मावलम्बीका बीच उनीहरूको सम्मान र पहिचान समानताका आधारमा कायम गरेर सबैलाई एकतृत गर्दै राष्ट्रिय एकतामा आबद्ध गराउने सत्कार्य यसमा गरिन्छ । देशभित्र आन्तरिक कलह, वैमनश्य, द्वन्द्व, अशान्ति र गृहयुद्धको अवस्था आउँदा त्यस देशको राष्ट्रियता कमजोर बन्दछ ।
राष्ट्र र राष्ट्रियता एक अर्काका परिपूरक हुन् । देशको राष्ट्रियता प्राप्त गरेपश्चात् कर्तव्य र दायित्वको पालना गर्नुपर्छ । राष्ट्रियतामा ओतप्रोत भएको व्यक्ति आफूलाई आदर्श नागरिकका रूपमा समाजमा स्थापित गर्न सफल भएको हुन्छ र सामाजिक प्रतिष्ठा प्राप्त गर्दछ । परम्परादेखि चल्दै आएको रीतिरिवाज, प्रथा, कलाकौशल, साहित्य, धर्म आदिको संरक्षण गर्दै यो जिम्मेवारीलाई क्रमश भावी पुस्तामा हस्तान्तरण गर्दै जानुपर्दछ । समाज र राष्ट्रको संरक्षण संवद्र्धन गर्दै आफ्नो देश र समाजप्रति गौरव गर्न सक्ने परिस्थिति निर्माण गर्नु नै राष्ट्रियता हो ।
लिम्पियाधुरा क्षेत्रलाई नेपालको नक्सामा समावेश गर्ने स्वागतयोग्य कार्य वर्तमान सरकारले गरेको छ
राष्ट्रवाद : राष्ट्रवाद एक आदर्श हो, जसले देशको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वशासनको अवस्थालाई मजबुत बनाउँछ । बाहिरी हस्तक्षेप शून्य बनाउन, राष्ट्र र राष्ट्रवासीलाई शक्तिको स्रोत बनाउन र पहिचान कायम गराउन दत्तचित्त रहन्छ । राष्ट्रिय एकताको पहिचान गराउँदै अन्तर्राष्ट्रिय मञ्चमा सम्मानजनक र प्रतिष्ठापूर्ण उपस्थिति दिलाउँछ । राष्ट्रिय उत्थान, राष्ट्रभक्ति र राष्ट्रप्रेमलाई नागरिकले मन, वचन र कर्मले आत्मसात् गर्दछन् । नागरिक राष्ट्रवाद, संवैधानिक राष्ट्रवाद, सांस्कृतिक राष्ट्रवादसमेतका हिसाबले व्याख्या गरिएको हुन्छ । विभिन्न कालखण्डमा राष्ट्रवादका नाममा स्वतन्त्रता संग्राम भएका छन् । ग्रीक, इरिस, इजरायल आदिमा भएका मुक्तिकामी जनताले गरेका आन्दोलन, सोभियत संघ विघटनका लागि भएका आन्दोलन, हिन्दुस्तानमा महात्मा गान्धीको नेतृत्वमा स्वतन्त्रता प्राप्त गर्नका लागि भएको अंग्रेजविरुद्ध भारत छोडो आन्दोलन राष्ट्रवादका लागि गरिएका संघर्ष र आन्दोलन हुन् । स्वतन्त्रता प्राप्तिका उद्देश्यअनुसार राष्ट्रवादको निर्धारण हुन्छ । परस्परविरोधी मूल्य, मान्यता र संस्कृति अवलम्बन गरेका दुई वा सोभन्दा बढी समूहबीच आआफ्ना अधिकारका लागि गरिने संघर्षले राष्ट्रवादलाई सन्देहात्मक अवस्थामा पु-याउँछ । ‘वाद’ले विचारधारा र दृष्टिकोणलाई इंगित गर्दछ । राष्ट्रप्रतिको अगाध माया, स्नेह, सम्मान भावका रूपमा राष्ट्रवादको अभ्यास हुनुपर्दछ ।
नेपाली सन्दर्भ : नेपाल र नेपाली जनताको हितका दिशामा भए-गरेका कामकारबाहीको आधारमा यसको विश्लेषण हुन्छ । नेपाल बहुसांस्कृतिक, बहुजातीय, बहुधार्मिक, बहुक्षेत्रीय राष्ट्र हो । यो देशको निर्माण गर्ने क्रमदेखिको मुख्यमुख्य कार्यको स्मरण राष्ट्रियता र राष्ट्रवादका क्रममा गर्नुपर्ने हुन्छ । पृथ्वीनारायण शाहले नेपाल देशको पहिचान बनाइदिएकाले हामी नेपाली भएर सगौरव आफ्नो परिचय दिन सफल भएको अवस्था छ । भगवान् बुद्धको जन्म यहीँ भएकाले संसारभर नेपालको नाम सबैले स्मरण गर्दछन् । सगरमाथालाई नेपालले आफ्नो विश्व चिनारीका आधार बनाएको छ । नेपाली सैनिकले प्रदर्शन गरेको बहादुरीबाट नेपालीको इज्जत अन्तर्राष्ट्रिय जगत्मा छ । जंगबहादुरले बेलायत भ्रमणको आमन्त्रण प्राप्त गरेपछि उपनिवेशमा रहेको भारतका आफ्ना समकक्षीभन्दा स्वतन्त्र देश नेपालको प्रधानमन्त्री भएकाले आफूले बढी तोपको सलामी पाउनुपर्ने अडान राखेर सो स्वीकृत भएपछि मात्र भ्रमण गर्नु, राजा महेन्द्रले पूर्व–पश्चिम राजमार्ग तयार पारे । पाँच विकास क्षेत्रको विभाजन र विकासका लागि आधार तयार पारे ।
राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउने ठूलो प्रयास गरे । भारत र पश्चिमा राष्ट्रका सहमति नहुँदा पनि बीपीले इजरायल, चीन र पाकिस्तानसँग नेपालको कूटनीतिक सम्बन्ध कायम गरेर स्वतन्त्र देशको पहिचान कायम गरे । सगरमाथा नेपालको प्रमाणित गर्न चीनका राष्ट्र प्रमुखलाई विश्वस्त तुल्याए । यी प्रयास निश्चय पनि नेपालको हितमा केन्द्रित भएका हुन् । वर्तमान प्रधानमन्त्री ओलीले भारतद्वारा नेपालमा नाकाबन्दी गरेको समयमा यसको विरोधमा स्पष्ट अडान राख्नु र संविधान जारी गर्ने काम केही समय स्थगित गर्न भारतले दिएको दबाबलाई अनुपयुक्त र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भनी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई संविधान जारी गर्न सहयोग गर्नु राष्ट्रियताका पक्षमा लिइएका अडान सह्रानीय छन् ।
महाकाली सन्धिबाट देशलाई खर्ब रकम प्रतिवर्ष फाइदा हुने गलत तर्क गर्दै सो सन्धिलाई आफ्नो दल एमाले र संसद्बाट पारित गर्न चट्टानसरि खडा भई देशलाई घाटा पुग्नेगरी सन्धि गराउन महŒवपूर्ण भूमिका देखिएकाले उनमा मौसमी राष्ट्रवाद रहेको टिप्पणी गरिँदै छ । भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले भारतको उत्तरी सिमाना हिमाल भएको भनी संसद्लाई गरेको सम्बोधनप्रति कडा आपत्ति जनाई नेपाल स्वतन्त्र देश भएकाले सो अभिव्यक्ति फिर्ता लिन प्रधानमन्त्री बीपी कोइरालाले गरेको अनुरोधबाट बाध्य भई अभिव्यक्ति सुधार गर्नुलाई नेपालको राजनीतिक इतिहासमा राष्ट्रियताका पक्षमा बीपीबाट भएको उल्लेखनीय योगदानका रूपमा स्मरण गर्नुपर्दछ ।
नेपालमा सबै देशवासीबीच सामाजिक न्याय, समानता र पहिचानसहितको सम्मानजनक व्यवहार गर्नका लागि संवैधानिक तटस्थता, बहुल संस्कृतिको सम्बोधन, हरेक समूहको भलाइका लागि नीति, लोकतान्त्रिक उदारवाद र विविधतालाई सम्बोधन गर्ने कार्य कानुनी, संरचनागत र व्यावहारिक रूपमा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । सबैलाई एकीकृत गरी मिश्रित प्रणालीको निर्वाचन अवलम्बन गरेर हरेक समूह र वर्गका लागि भिन्न प्रकारका नीति तर्जुमा भई राजनीतिक रणनीति, बहुलवाद, सामाजिक उपयुक्तता र विविधतालाई सम्बोधन गर्ने सामाजिक रणनीति, सांस्कृतिक रूपमा प्रतिस्पर्धी कर्मचारीतन्त्र, सकारात्मक कार्य, प्रतिनिधिमूलक कर्मचारीतन्त्र र आरक्षणसहितको प्रशासनिक रणनीति अवलम्बन गरिएको अवस्था छ ।
नेपालमा विविध धर्म र संस्कृति मान्नेका बीचमा देखिएको विभेद कम गर्ने प्रयास भइरहेको छ । देशको साझा स्वार्थका विषयमा अघि बढ्ने वातावरण तयार गर्ने कार्य भएको छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रवादका विषयमा खुलेर अघि बढ्ने वातावरण तयार पार्न सहज भएको छ । तर, मनोवैज्ञानिक रूपमा अधिकांश नेपालका राजनीतिज्ञ परजीवीको पहिचान बनाएर बसेका छन् । लिम्पियाधुरा क्षेत्रलाई नेपालको नक्सामा समावेश गर्ने स्वागतयोग्य कार्य वर्तमान सरकारले र संसद्ले गरिरहँदा प्रधामन्त्रीको गैरकूटनीतिक अभिव्यक्तिको निरन्तरताका कारण अब वर्तमान प्रधानमन्त्री रहेसम्म भारतले वार्तासम्म नगर्ने अवस्था बनेको छ । यसले अन्ततोगत्वा आफ्नो क्षेत्रमा नेपालीको नियन्त्रण कायम गर्ने सन्दर्भ फेरि पनि छायामा परेको छ ।






