टुरिन । पोर्चुगिज तथा इटालियन क्लब युभेन्ट्सका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो तीन फरक लिगमा ५० गोल गर्र्ने पहिलो र एक्ला खेलाडी बनेका छन् । इटालियन सिरी ‘ए’अन्र्तगत लाजियोविरुद्धको खेलमा दुई गोल गरेसँगै रोनाल्डोले तीन फरक लिग ९इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा र इटालियन सिरी ‘ए’०मा ५० गोल पूरा गर्ने पहिलो र एक्ला खेलाडी बन्दै नयाँ कीर्तिमान बनाएका हुन् ।
यस्तै, रोनाल्डो १९९५ पछि सिरी ‘ए’मा छिटो ५० गोल गर्ने खेलाडीसमेत बनेका छन् । रोनाल्डोले सिरी ‘ए’मा दुई सिजनमै ५० गोल पूरा गरेका हुन् । २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट युभेन्टस पुगेका रोनाल्डोले पहिलो सिजन २१ गोल र यो सिजन ३० गोल गरेका छन् । गोल मेसिन मानिने रोनाल्डोले प्रिमियर लिगमा ८४, ला लिगामा ३११ र सिरी ‘ए’ मा ५१ गोल गरेका छन् । यस्तै, ३५ वर्षे रोनाल्डोले यो सिजन सिरी ‘ए’मा पेनाल्टीमार्फत १२ गोल गर्दै १९९४–९५ को सिजनमा गुइसिप्पे सिग्नोरीले राखेको कीर्तिमानलाई समेत बराबरी गरेका छन् ।
रोनाल्डोले लाजियोविरुद्ध पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । ६ सिजन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा बिताएका रोनाल्डोले प्रिमियर लिगमा २९२ खेलमा ११८ गोल गरेका छन् । ९ सिजन रियलमा बिताएका रोनाल्डोले ४३८ खेलमा ४५० गोल गरेका छन् । उनी रियलका सदाबहार तथा सर्वाधिक गोलकर्तासमेत हुन् । रोनाल्डोले पोर्चुगलका लागि ९९ गोल गरेका छन् । उनी आफ्नो राष्ट्रका लागि गोल गर्नेको सुचीमा इरानका अली दाइ ९१०९० भन्दा मात्रै पछि छन् ।
युभेन्टस उपाधितर्फ
फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा लाजियोलाई २–१ ले पराजित गर्दै युभेन्ट्स लगातार नवौं सिजन इटालियन सिरी ‘ए’को उपाधिनजिक पुगेको छ । घरेलु मैदान टुरिनमा सोमबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ३१औं मिनेटमा युभेन्ट्सका पाउलो डिबाला गोलनजिक पुगेर पनि चुके । ४३औं मिनेटमा लाजियोका सिरो इम्मोवाइलको २५ यार्ड टाढाको प्रहार पोस्टमा लाग्दै बाहिरिँदा लाजियोले पनि अग्रता लिने अवसर खेर फालेको थियो ।
४७औं मिनेटमा युभेन्टसले पेनाल्टी प्राप्त ग-यो । रोनाल्डोको प्रहार लाजियोको डिफेन्डर बास्टोसले ह्यान्ड गरेपछि सुरुवातमा फ्रिकिक दिए पनि भीएआरको सहायतामा युभेन्टसले पेनाल्टी पाएको थियो । जसलाई रोनाल्डोको ५१औं मिनेटमा सदुपयोग गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । त्यसको तीन मिनेटपछि पाउलो डिबालाको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई खेलमा २–० ले अघि बढाए ।
६५औं मिनेटमा डिबालाको प्रहार क्रसबारमा लागेर फर्कंदा बास्टोसले क्लियर गरेको बललाई रोनाल्डोले हेडर प्रयास गरे पनि क्रसबारबाट थोरै बाहिरिँदा रोनाल्डो ह्याट्रिकबाट चुके । ८३औं मिनेटमा लाजियोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । लियोनार्दो बोनुचीले सिरो इम्मोवाइललाई पेनाल्टी बक्समा फउल गरेपछि प्राप्त पेनाल्टीमा सिरो आफंैले गोल गर्न सफल भएका थिए ।
त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस २–१ ले विजयी हुन सफल भयो । युभेन्टसको ३४ खेलबाट ८० अंक पुगेको छ । जुन दोस्रो स्थानको इन्टर मिलानको भन्दा ८ अंकले बढी हो । पराजित लाजियो ६९ अंक जोडेर चौथो स्थानमा यथावत् रहेको छ ।






