गर्भवतीलाई निःशुल्क ल्याब, सुत्केरीलाई पोषण र भत्ता



बुटवल । तपाइलाइ थाहा छ ? बुटवलमा अस्पतालहरुमा लाइन लागेर स्वास्थ्य चेकजाँच र उपचार गर्नुभन्दा सजिलोसँग शहरी स्वास्थ्य केन्द्रहरुमा सुविधा पाइन्छ । त्यो पनि कुनै शुल्क नतिरिकनै । टिकट लिएको पनि शुल्क लाग्दैन ।
बुटवल उप–महानगरपालिकाले विभिन्न वडामा सञ्चालन गरेका शहरी स्वास्थ्य केन्द्रहरुमार्फत आधुनिक ल्याब सेवासहितको प्राथमिक स्वास्थ्य उपचार सेवा सञ्चालनमा छन् ।

त्यतिमात्रै हैन, ती केन्द्रबाट ७२ प्रकारका औषधी निःशुल्क पाइन्छ । तर, स्वास्थ्य चेकजाँच गर्न स्वास्थ्य केन्द्रमा पुगेर स्वास्थ्यकर्मीले सिफारिश गर्नुपर्छ । रोग बताएर त्यसको औषधीमात्रै लिन पाइँदैन । केन्द्रहरुमा प्राथमिक उपचार सबै, विशेषगरी खोप कार्यक्रम, सुरक्षित मातृत्वका कार्यक्रम, क्षयरोग, औलोरोग रोग, मलेरिया कुष्ठ रोग, नियोमियालगायतका रोगको उपचार हुन्छ ।

यस्तै परिवार नियोजन र पोषणसेवा प्रदान हुँदै आएको जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहले जानकारी दिए । उप–महानगरमा रहेका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ५५ जना स्वास्थ्यकर्मीहरुले शहरी स्वास्थ्य केन्द्रमा नियमित सेवाप्रवाह गर्दै आएका छन् ।

बुटवल वडा नं १ र २ लाई हेर्ने गरी वडा नं. १ मा, वडा नं. ३ र ५ लाई हेर्ने गरी वडा नं. ३ मा, वडा ४ र ६ लाई हेर्ने गरी वडा नं. ४ मा, वडा ७, ८ र १० लाई हेर्ने गरी वडा नं. ७ मा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । यस्तै वडा ९ र ११ लाई हेर्ने गरी वडा नं. ११ मा, वडा १२ र १३ लाई हेनेगरी वडा नं. १२ मा, १४, १५ र १६ वडालाई हेर्ने गरी वडा नं. १५ मा सेमलारमा स्वास्थ्य चौकी सञ्चालनमा छ । यस्तै वडा नं. १७, १८ र १९ लाई हेर्नेगरी मोतिपुरमा स्वास्थ्य चौकी सञ्चालनमा छ । सहरी स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकीमार्फत प्राथमिक स्वास्थ्य सेवालाई प्रभावकारी र विश्वसनीय बनाउने पहल थालिएदेखि नै नगरवासीको आकर्षण बढेको प्रमुख शिवराज सुवेदीले बताए ।

सेवाग्राहीको संख्या मात्रै होइन, उनीहरुमा सन्तुष्टि पनि बढाउने गरी सेवाप्रवाहलाई प्रभावकारी बनाउन पनि निर्देशन दिइएको उनको भनाइ छ । मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलव्ध गराउने कोसिस गरिएको प्रमुख सुवेदीले बताए ।

ज्येष्ठ नागरिकलाई घरघरमै सेवा
८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरदैलोमै चौमासिक रुपमा पुगेर स्वास्थ्य चेकजाँच र निःशुल्क औषधी उपलव्ध गराउने स्थानीय तहमा बुटवल नै मुलुकमा पहिलो मानिन्छ । ‘नगरप्रमुख ज्येष्ठ नागरिक घरदैलो निःशुल्क स्वास्थ्य परीक्षण’ शीर्षकमा सुरु भएको यो कार्यक्रमअन्र्तगत एक हजार तीन सय ३२ जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् । यो कार्यक्रम जारी छ ।

सुत्केरीलाई घरमै पोषण र औषधी

गर्भवती तथा सुत्केरी महिलाहरुलाई पनि घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको छ । पहिलो चरणमा सत्केरीलाई घरमै पुगेर पोषण सामग्री र भत्ता प्रदान गरिएको छ । यस्तै गर्भवतीलाई स्वास्थ्य संस्थामा आकर्षित गर्न क्याल्सियम चक्कीसहित पोषण साम्रागी सहयोग गरिएको छ । महिलामा स्वास्थ्य तथा सरसफाई सम्बन्धी क्षमता अभिवृद्धि गराउने उद्देश्यले उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गर्नेमा बुटवल मुलुकमै नमूना हो । यस कार्यक्रम अन्र्तगत आव २०७५÷७६ मा सात सय २० जना लाभान्वित भएका छन् ।

आव २०७४÷७५ मा सात सय ७० जनाले मात्र गर्भजाँचको सेवा लिएकोमा आव २०७५/७६ मा एक हजार तीन सय १३ जनाले सेवा लिएका छन् । उपप्रमुख गुमादेवी आचार्यले घरमै भेट्न गएर हालचाल सोधपुछ गर्ने र केही पोषण सामग्री प्रदान गर्दा उनीहरुमा सार्वजनिक स्वास्थ्यप्रति विश्वास बढेको पाइएको बताइन् । प्रोटोकलअनुसार चारपटक गर्भ जाँच गर्ने महिलाको संख्या पनि अघिल्लो वर्ष तीन सय ९५ रहेकोमा यो वर्ष ३२ प्रतिशतले वृद्धि भई पाँच सय २३ पुगिसकेको छ ।

सबै वडालाई पायक पर्नेगरी सञ्चालन गरिएका स्वास्थ्य संस्था तथा विभिन्न समयमा गरिने स्वास्थ्य शिविरमा हरेक वर्ष समुदायको आकर्षण बढ्दै गएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए ।

उनले स्वास्थ्य केन्द्रहरुमा अझ आधुनिक उपकरण र दक्ष जनशक्ति थपेर सेवाप्रवाह प्रभावकारी बनाइने पनि बताए ।
नगरका स्वास्थ्य संस्थाहरुबाट ४० वर्षभन्दा माथिका नागरिकहरुलाई निःशुल्क सुगरको जाँच भइरहेको छ । यसखालको निःशुल्क सेवा मुलुकमै बुटवलले पहिलोपटक सुरु गरेको हो । यसअन्र्तगत करिब दुई हजार पाँच सय जनाले यो सेवा लिइसकेको शिक्षा, स्वास्थ्य तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले बताए ।

उप–महानगरका स्वास्थ्य संस्थाहरुबाट गर्भवती महिलाहरुको निःशुल्क ल्याब परीक्षण गर्ने कार्यक्रम पनि बुटवलबाटै पहिलोपटक सुरु भएको हो । यसअन्र्तगत चालू आवको यो अवधिमा एक सय जनाले सेवा लिएको खनालले बताए ।

ल्याबसँगै भौतिक विकास तथा स्तरोन्नति पनि

बुटवल वडा नं. १२ नयागाउँमा रहेको नगर स्वास्थ्य केन्द्रको भौतिक स्तरोन्नति गर्दै आधुनिक ल्याबसहित विशेषज्ञले सेवा प्रदान गर्दै आएका छन् ।

यस केन्द्रमा आयुर्वेद पद्धतिबाट पनि सेवा प्रदान हुँदै आएको छ । भवन बनेर पनि सञ्चालनमा नआएको यो केन्द्रलाई जनप्रतिनिधि निर्वाचित भएपछि तला थप गरेर नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रका रुपमा विकास गरिएको छ । साथै आधुनिक ल्याबसहित विशेषज्ञको व्यवस्था गरेपछि अहिले दैनिक ४० देखि ६० जनासम्मले सेवा लिन थालेका छन् । यस्तै बुटवल १५, १६ र १७ लाई लक्षित गरेर सेमलार स्वास्थ्य चौकीमा तारबार, बाटो ग्राभेल गरिएको छ ।

बुटवल १८ र १९ लाई पायक पर्नेगरी मोतिपुर स्वास्थ्य चौकीमा कम्पाउण्ड वाल, ल्याब हल र रंगरोगनगरि चिटिक्क पारिएको छ । बुटवल–११ बुद्धनगर स्वास्थ्य चौकी निर्माण गरिएको छ भने बाउण्ड्री वालले सुरक्षित पारिएको छ । वडा न.४ मा शहरी स्वास्थ्य केन्द्रको स्थापना भई सञ्चालनमा छ भने वडा नं.७ शिवनगरमा ल्याबसहितको व्यवस्थित स्वास्थ्य केन्द्र सञ्चालनमा छ ।

बढ्दै छन् सेवाग्राही

आर्थिक वर्ष २०७४/७५ मा नगरका सम्पूर्ण स्वास्थ्य संस्थाहरुबाट बहिरंग सेवा लिने २१ हजार चार सय ७३ जना रहेकोमा गत आव २०७५/७६ मा १० हजार भन्दा धेरैले वृद्धि भएका छन् । उक्त आवमा मात्रै कुल ३२ हजार आठ सय २१ जनाले सेवा लिएको उपमहानगरको शिक्षा, स्वास्थ्य तथा जनशंख्या महाशाखाको तथ्यांकमा छ । स्वास्थ्य संस्था नभएका वडाहरुमा वडा क्लिनिक सञ्चालनमा ल्याईएको छ जसअन्र्तगत आव २०७४/७५ मा चार हजार सात सय चारजनाले सेवा लिएकोमा गत आव ०७५/७६ मा वृद्धि भई नौ हजार पाँच सय ९० जना सेवाग्राही पुगे ।

खोप भण्डार केन्द्रदेखि योग र पञ्चकर्मको सेवा

खोपहरुको सुरक्षित भण्डारण गर्न बुटवलमै खोप भण्डारण केन्द्रको स्थापना भएको छ । सिद्धार्थ बाल तथा महिला अस्पतालमा यो केन्द्र स्थापना गरिएको छ । यस्तै लुम्बिनी आयुर्वेद औषधालयमा नियमित सेवाप्रवाहसहित ल्याबकोसमेत स्थापना गरिएको छ ।

योग एवम् पञ्चकर्मलाई पनि बुटवलले प्राथमिकतामा राखेको छ । स्कुले बालबालिकादेखि विभिन्न उमेर समूहकालाई योग र पञ्चकर्म सिकाइएको योगका प्रशिक्षक विष्णु आचार्यले बताए ।

नगरका विभिन्न वडाहरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण, महिला तथा बच्चाका लागि मातृशिशु स्वास्थ्य, महिलाहरुका लागि पाठेघर एवंम स्तन क्यान्सर स्क्रिनिङ्ग, आँखाजाँच, दन्त परीक्षण, छाला रोग र अपांगता सम्बन्धी शिविरहरु सञ्चालन गर्ने, नगरभित्रका सामुदायिक निमावि र माविमा सेनेटरी प्याड वितरण गर्ने र विभिन्न विद्यालयहरुमा आइरन चक्की वितरण भइरहेको उप–महानगरले जनाएको छ ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुको परिचयपत्र निर्माण गरी वितरण गर्ने काम भईरहेको । अस्पतालजन्य फोहोरमैला व्यवस्थापनका लागि कार्यदलमार्फत योजना निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहन

सेवा गरेपनि सम्मान पाउन नसकेको गुनासो गरिरहेका स्वास्थ्य स्वयमसेविकालाई बुटवलले भने सम्मान गरेको छ । उनीहरुलाई प्रोत्साहन भत्तादेखि पहिचानका लागि परिचयपत्रसमेत वितरण गरिएको छ ।
यहाँका एक सय ७४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुको परिचयपत्र वितरण गर्ने र यातायात तथा सञ्चार खर्चस्वरुप मासिक एक हजार प्रदान गरिएको छ ।

शिविरमार्फत १० हजारलाई सेवा

नगरका विभिन्न वडाहरुमा महिला तथा बच्चाका लागि मातृशिशु स्वास्थ्य परीक्षण शिविर, महिलाहरुका लागि पाठेघर एवम् स्तन क्यान्सर स्क्रिनिङ्ग शिविर, ज्येष्ठ नागरिकका लागि स्वास्थ्य परिक्षण शिविरलगायत आँखाजाँच, दन्त परीक्षण, चर्मरोग, छाला रोग र अपांगता सम्बन्धी विभिन्न शिविरहरु सञ्चालन गरी करिब १० हजार जनालाई प्रत्यक्ष रुपमा सेवा प्रदान गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

महानगरको सुकुमुबासी बस्ती हटाउने कार्यमा भूमि आयोगले रोक लगायो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९