पहिले र अहिले, कुन हो अयोध्या ?

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या’bout दिएको पछिल्लो अभिव्यक्ति अहिले बहस र चर्चाको विषय बनिरहेको छ । सो’bout उत्पन्न मत भिन्नता तथ्ययुक्त हो-होइन ? भनी अनुसन्धान गर्ने हामी सबैको दायित्व हो । यसले हाम्रो मुलुकको ऐतिहासिक एवं धार्मिक क्षेत्रको जग थप मजबुद बनाउँछ । अयोध्याको अहिलेको प्रसंग आफैंमा असान्दर्भिक होइन । यथार्थताको कसीले परीक्षण गर्दा यकिन भएपछि मात्र बोल्नुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले हतारमै दिएको अभिव्यक्तिले यसलाई विवादास्पद बनाएको मात्र हो । अनुसन्धाता लोकमणि पौडेलको अयोध्या’bout आलेख यसअघि नै सार्वजनिक भएको छ । उक्त आलेखमा नसमेटिएका अन्य केही थप स्रोतसामग्री उजागर गरी अयोध्या’bout अनुसन्धानमा सघाउ पु¥याउने स्तम्भकारको प्रमुख उद्देश्य हो ।

सर्वप्रथमतः अयोध्या राज्यको स्थापना अयोध्याको नामबाट नभई मध्यदेशको नामबाट भएको थियो । ठूलोले सानोलाई, बलियोले निर्धोलाई, शक्तिशालीले असहायलाई गर्ने भेदभाव र थिचोमिचो बढ्दै गएपछि मध्यदेशका बासिन्दाले ईपू २५०० तिरै आर्य समुदायका मनुलाई आफ्नो पहिलो राजा छनोट गरे । भारतीय इतिहासविद्हरूले मनुलाई पहिलो प्रमाणित राजा र उनको ९४औं पुस्तासम्मको वंशावलीलाई अहिलेसम्मकै पूर्ण राज राजवंशावली मानेका छन् । मनुका आठ छोरा र एक छोरी इला थिइन् । मनुले नौ जनालाई नै मध्यदेश आसपासको क्षेत्र विभाजित गराएर राज्य बाँडिदिए । पछि छोरापट्टिका सन्तान सूर्यवंशी कहलिए भने छोरी इलातर्फका सन्तान चन्द्रवंशी भए । चन्द्रवंशीकै एक हाँगोपछि ग्वाला नामले चिनियो । यही ग्वाला परिवारमा महाभारतको युद्धताका श्रीकृष्णको जन्म भयो ।

मनुको छोरातर्फका २०औं पिँढीका मान्धता, ३१औं पिँढीका हरिश्चन्द्र, ४५औं पिँढीका भगीरथ, ६१औं पिँढीका दिलिप र ६४औं पिँढीका दरशथ प्रतापी राजामा गनिन्थे । ९४औं पिँढीका राजा सान्तनुको सेखपछि महाभारतको युद्ध भयो । मनुले मध्यदेशको राज्य कुन स्थानबाट चलाए भन्ने कुरा खुलेकै छैन । धेरै पछिका पिँढीले मध्यदेशको राजधानी अयोध्या भनी प्रचारमा ल्याए । उक्त कुरा भारतीय इतिहासकार सत्यकेतु विद्यालंकारले आफ्नो पुस्तक ‘प्राचीन भारतीय इतिहासको वैदिक युग’को पृ. १४८ मा उल्लेख गरेका छन् । यही भनाइसँग मिल्दोजुल्दो नेपालको दक्षिणवर्ती भूमि अर्थात् तत्कालको विधेय राज्यको भूभाग पूर्व, मध्य र पश्चिमको नामले चिनिन्थ्यो । पछि राणाकालसम्म नै यही प्रचलन रहँदै आयो । अहिलेको वीरगन्जदेखि भैरहवासम्मको क्षेत्रलाई मध्य तराई वा मध्यदेश भनिन्थ्यो । यस आधारले मनुले शासन गरेको मध्यदेश अहिले चर्चामा आएको माढी क्षेत्र नै हुन सक्ने अनुमन गर्न सकिन्छ ।

बृटिस उपनिवेशकालमै भारतमा इतिहास लेख्नेक्रम सुरु भयो । यही समयदेखि अहिलेको फैजावाद नजिकैको स्थानलाई भारतीयहरूले इतिहासमा अयोध्या भनी नामकरण गर्दै आए । तर, ठोरीको अयोध्यापुरी त्योभन्दा सयौं वर्षअगाडिको हो । अयोध्या नामकरण गरी फैजावादलाई हिन्दू धर्मको आकर्षण केन्द्र बनाउने भारत सरकारको प्रयासले सो स्थानका बौद्ध धर्मावलम्बीमा चोट पु¥यायो । किनकि, सो क्षेत्र बुद्धकालदेखि नै शाक्यमुनि बुद्धसँग सम्बन्धित थियो । उत्खनन गर्दा त्यहाँ बुद्धका ढुंगे मूर्ति तथा अन्य धेरै बुद्धकालीन सामग्री फेला परेका छन् । जसले सो स्थान बुद्धसँग सम्बद्ध भएको प्रमाणित गर्दछ । यही बुद्ध तीर्थस्थलमा सन् १६०० तिर मुगल राजकुमार बाबरले मस्जिद बनाए, जसलाई बाबरी मस्जिद भनियो ।

यथेष्ट प्रमाण संकलन गरी अयोध्यापुरीलाई रामको जन्मभूमिमा परिणत गर्न सकिन्छ

तर, सो क्षेत्रका हिन्दूहरूले ११औं शताब्दीदेखि नै कायम रहेको आफ्नो राम मन्दिर तोडेर बाबरले मस्जिद बनाएका हुन् भन्ने आरोप लगाउँदै ६ डिसेम्बर १९९२ मा बाबरी मस्जिद ध्वस्त पारिदिए । अहिले सो क्षेत्र बौद्ध, हिन्दू र शिख समुदायकै आकर्षणको केन्द्र बन्दै आएको छ । वास्तवमा सो स्थानमा राम मन्दिर थिएन । यो नितान्त राजनैतिक प्रेरित दाबी थियो । कालन्तरदेखि नै फैजावाद बुद्ध धर्मावलम्बीकै तीर्थस्थल थियो । सो स्थानउपरको बुद्धमार्गीहरूको दाबी र विरोध अहिलेसम्म कायमै छ । सो अभियानको नेतृत्व अहिले साकेत भिक्षु आन्दोलनका अगुवा ‘विनित मौर्यले’ गर्दै आएका छन् । मुजफ्फरपुरस्थित वैशाली र भारतीयहरूले मानेको अध्योध्या वा फैजावाद बुद्धकालमै बुद्ध गयाजस्तै बुद्धिस्टहरूको आकर्षणको केन्द्रबिन्दु बनिसकेको थियो । यसले पनि रामको जन्मभूमि ठोरीस्थित अयोध्या नै हो भन्ने जनाउँछ ।

सत्यकेतु विद्यालंकारले मध्य देशकै समकालीन अन्य राज्यहरूमा विदेह, पौरव, काशी र कारुष थिए भनी उल्लेख गरेका छन् । यसैलाई आधार मान्ने हो भने तिरहुत राज्य मध्यदेशभन्दा धेरै अगाडिको देखिन्छ । किनकि, कालान्तरको तिरहुत राज्य नै सयौं वर्षपछि विदेहको नामले चिनियो र विदेह राज्य नै पछि मिथिला राज्यमा रूपान्तरित भएको हो । तिरहुत राज्यको सीमा कहाँसम्म थियो भन्ने कुरा खुलेको छैन । विदेह राज्यको नामले चिनिएपछि भने यसको सिमाना दक्षिणमा पटनासम्म थियो । दशरथको पालामा त विदेह राज्य मिथिला नामले प्रसिद्ध थियो । जसको सिमाना पूर्वमा कौशीकी नदी, पश्चिममा शालीग्राम वा काली गण्डकी नदी, उत्तरमा हिमालय पर्वत र दक्षिणमा गंगानदीसम्म थियो । यस आधारले पनि दशरथले राज्य गरेको अयोध्या मिथिला राज्य क्षेत्रअन्तर्गतकै तत्कालको अलगै राज्य अयोध्यापुरी हुन सक्ने अनुमान गर्न सकिन्छ ।

सत्यकेतुले पुस्तकको पृ. १४९ को दोस्रो अनुच्छेदमा मनुकै एक पुत्र ‘नामानेदिष्ट’ पछि तिरहुतको राजा बने भनेका छन् । नामानेदिष्टकै पछिल्ला पिँढीका एक राजाको नाम वैशाल थियो । ‘वैशाल’ अहिलेको मजुफ्फरपुर सहरनजिकै वैशाली नामको नगर बसाले । बुद्धको समयमा वैशाली बढी चर्चित बन्यो । यही वैशालीपछि लिच्छवी क्षेत्रीहरूले हत्याई आफ्नो राज्य बनाए । वैशालीकै लिच्छवीका सन्तानपछि नेपाल उपत्यका प्रवेश गरी लामो समयसम्म शासन चलाए । वैशाली नगरको भग्नावशेष अहिले मुजफ्फरपुर जिल्ला सदरमुकामदेखि पटना जाने बाटोमा पर्ने बसाढ गाउँमा छ । कतिपय भारतीय इतिहकासकारले मनुकै नाति, इच्वाकुका कान्छा छोरा ‘निमी’ले अयोध्या र वैशाली राज्यको बीचमा मिथिला राज्य स्थापना गरे भनेका छन् । तर, सो कुरा भने समयान्तर र स्थानको आधारमा मेल खाने देखिँदैन ।

चर्चित भारतीय इतिहासकारमध्येकै डा. उदयशंकर पाण्डेको ‘प्राचीन भारतको राज्य व्यवस्था, वैदिक एवं स्मृतिकालीन’ पुस्तक, डा. भोजराज द्विवेदीको “हिन्दू मान्यताका धार्मिक आधार’ नामक पुस्तक, डा. प्रशान्त कश्यपको ‘गहढवाल राज्यको इतिहास’लगायतका इतिहासकारको पुस्तकमा पनि दशरथको समय कुन हो भन्ने कुरा यकिन छैन । तर, राजा महाराजाहरूको पुस्तोनी पिँढीको गणना २० देखि २५ वर्षले तथा सर्वसाधारण नागरिकको ३० देखि ३५ वर्षले गणना गर्ने विश्व इतिहासकारको मान्यतालाई आधार मान्दा ईपूू २५०० को मनुको कार्यकालबाट उनकै ६४औं पिँढीका राजा दशरथको समय ईपू १३०० तिरको देखिन्छ । मिथिलाका राजा जनक पनि त्यही समयका मानिन्छन् ।

आर्यवर्त कनोज र वाराणसीलाई वैदिक आर्यथलो भनिएको छ । आर्यवत क्षेत्र मध्य भारतको विन्दाचल पर्वत उत्तर, हिमालय पर्वत दक्षिण, सिन्धु नदी पूर्व र ब्रह्मपुत्र नदी पश्चिमको विशाल क्षेत्र मानिन्थ्यो । यही क्षेत्रभित्रको नेपालको हिमवत खण्डको कौशीकी किनारको वराह क्षेत्रदेखि देउघाटस्थित वाल्मीकि आश्रम हुँदै मुक्तिनाथसम्मको भाग वैदिक आर्यवर्तको केन्द्रबिन्दु मानिन्छ । वाल्मीकि ऋषिको आश्रम आसपासको क्षेत्र रामनामसँग जोडिएर कालान्तरदेखि परिचित हुँदै आएको हुँदा भारतले मानेको अयोध्यामा होइन, ठोरीस्थित अयोध्यापुरी रामको जन्मस्थल हो भन्ने कुरा स्वतः पुष्टि हुन्छ । हिमवत खण्डलाई पनि प्राचीन साहित्यमा भारतीय लेखकहरूले नेपाल खण्ड, कुमाउ खण्ड, काश्मीर खण्ड, केदार खण्ड र जालन्धर खण्ड भनी पाँच खण्डमा विभाजित गरे ।

नेपालको हिमवत खण्डले विश्व इतिहासकार र अनुसन्धाताको ध्यान अहिले केन्द्रित गराएको छ । चीनमा पाइएको ५ लाख वर्ष पहिलेको मानव अवशेषलाई विश्वकै पुरानो मानिँदै आएकोमा नेपालको बुटवलस्थित तिनाउ नदी किनारमा केही वर्ष पहिले पाइएको प्राग्मानवको अवशेष १ करोड १० लाख वर्ष पुरानो ठानिएको आधारले विश्वकै मानव उत्पत्ति र विकासको पुरानो थलो नेपालकै हिमवत क्षेत्र भएको पुष्टि हुन्छ । यसतर्फ अनुसन्धान बढाइए अन्य नयाँ तथ्यहरू पनि नेपाली भूमिमा पाइन सक्छ । भारतीय इतिहासकारहरूको इतिहास लेखन भने प्रमाणमा भन्दा धार्मिक परम्परा र मान्यता, जुति, बृटिस शासकहरूको कथन, वंशावली र अनुमानमा आधारित हुँदै आएको पाइन्छ ।

यसक्रममा भारतीय लेखकहरूले आफ्नो पुस्तकमा आफ्नै भूमिलाई विशेष महŒव दिँदै आए । अहिले प्रचलनमा आएका रामायण र वेदमा उल्लिखित कुराहरू पनि वास्तविक रचनाकारकै शब्दका होइनन् । त्यसबाट प्रभावित बन्दै आएका पछिका अनुशरणकर्ताले नै यसलाई परिमार्जित गराउँदै लिपिबद्ध गराएका हुन् । तर, वेदकै कुरा गर्ने हो भने वैदिक युगमा विभिन्न ऋषि महर्षिहरूले रचना गरेका रीतिरिवाज, अर्ती–उपदेश, संस्कार–पद्धति, नीति–नियम सम्बद्ध छरिएर रहेका सबै प्रकारका मन्त्रलाई समेटेर महर्षि वेदव्यासले समानताको आधारमा महाभारतको युद्धपछि नै रिकु, यजुस, अर्थवन र सामन भनी चार समूहमा विभाजित गरे ।

यिनै चार प्रकारका मन्त्रहरूपछि ऋग्वेद, यजुर्वेद, अर्थवेद र सामवेदको रूपमा चिनिए । भारतमा प्रमाणमुखी इतिहास लेख्ने चलनको प्रारम्भ भएको सय वर्ष पुगेको छैन । नेपालमा त प्रमाणमुखी इतिहास २०२०÷२२ सालदेखि बाबुराम आचार्य, योगी नरहरिनाथ, नयराज पन्तको पालादेखि नै प्रारम्भ भएको हो ।

अयोध्या राज्यको स्थापना अयोध्याको नामबाट नभई मध्यदेशको नामबाट भएको थियो

वेदको उत्पति सँगसँगै हिन्दू धर्मको पनि विकास भयो । इतिहासकार डा. भोजराज द्विवेदीले हिंसा नगर्ने, श्रेष्ठ आचरणमा रहने, वेदको उच्चारण गर्ने र भागवत प्रतिमाको उपासना गर्ने व्यक्ति हिन्दूहो भनी ‘हिन्दू मान्यताओका धार्मिक आधार’ पुस्तकको पृ. ५ मा उल्लेख गरेका छन् । वाल्मीकि रामायणकै कुरा गर्ने हो भने दशरथ र रामकै समकालीन ऋषि वाल्मीकि ईपू १३०० तिरकै हुन् । उनले रचना गरेको रामायणलाई ७-८ सय वर्षपछिका अनुशरणकर्ता भक्तहरूले पुस्तकको स्वरूप दिए । वाल्मीकि रामायणमा बुद्धको निन्दा गरिएको छ । बुद्ध त वाल्मीकि ऋषिको कार्यकालभन्दा ८ सय वर्षपछिका वा ईपू ५ सयतिरका हुन् । बुद्धको समयअगाडि नै वाल्मीकि रामायण लेखिएको भए त्यसमा बुद्धको निन्दा हुने नै थिएन । अन्य कतिपय धार्मिक ग्रन्थहरूको लेखाइ पनि यस्तै प्रकारको छ । भानुभक्तले १९०० सालतिरै वाल्मीकि रामायणलाई नेपालीमा अनुवाद गरेका थिए ।

रामलाई त्रेता युगको मानिएको छ । हामीले मानिआएको सत्य, त्रेता, द्वापर र कलीयुगको विभाजन पनि तथ्यमा आधारित छैन । कतिले हजार वर्षको एक युग भनेका छन् भने कतिपयले ४ हजार र कतिले ४ लाख वर्षको एक युग हुन्छ भनेका छन् । जुन तथ्ययुक्त र भरपर्दो छैन । यसको तुलनामा अहिलेका इतिहासविज्ञले गरेको युग विभाजन बढी भरपर्दो छ । अहिले मनुको पाला वा ईपू २५०० अगाडिकोलाई पूर्व वैदिक युग, मनुको पाला वा ईपू २५०० देखि १२०० सम्मलाई वैदिक युग र ईपू १२०० देखि ईपू ५०० सम्म वा बुद्धको कार्यकालसम्म उत्तर वैदिक युग मानिएको छ । यसैले, रामलाई त्रेता युगको नभनी वैदिक युगको मान्नु उत्तम हुन्छ ।

वैदिक सभ्यताको केन्द्रबिन्दुमा रहेको वल्मीकि आश्रमलाई आधार मान्दा माढीस्थित मध्यदेशको अयोध्यापुरी रामको जन्मस्थल हुन सक्छ । माढीको ऐतिहासिक एवं धार्मिक महŒवलाई दृष्टिगत गरी सो क्षेत्रको विशेष सुरक्षार्थ तत्कालीन सरकारले माडीको २ किलोमिटरभित्रै २०२५ सालदेखि नै प्रहरी निरीक्षकको कार्यालय ठोरी स्थापना गरेको थियो । विकास र परिवर्तनसँगै स्थान विशेष र नदीनालाको नाम राख्ने प्रचलन त धेरै पछि मात्रै हुँदै आएको हो । नेपालको बागमती नदीको नाम पहिलो लिच्छवि राजा जयदेवकै पालामा २०० सालतिर राखिएको थियो । यसपछि नै भारतले पनि राजा भगीरथको प्रतापसँग जोडेर गंगा नदीको नाम भगीरथी गंगा भनी राख्यो । यसैगरी, नेपाल उपत्यकाका लिच्छविहरूले कब्जा गरेपछि, यहाँका किरातहरू पूर्व पहाडी क्षेत्रतिर विस्थापित भए ।

किरातहरूको बसोबासकै बाहुल्यताको आधारमा, पछि सुनकोसीदेखि लिखु नदीसम्मको भागलाई वल्लो किरात, लिखुदेखि अरूणसम्म माझ किरात र अरूणदेखि टिस्टासम्मको भागलाई पल्लो किरात भन्न थालियो । यहीक्रममा अयोध्यापुरी नजिकको सरयु नदीको नाम पनि पछि नारायणी, राप्ती या माडी भनी परिवर्तन भएको हुन सक्छ । अथवा, भारतीय सरयु नदी कल्पनामा आधारित पछि नामकरण गरेको पनि हुन सक्छ । यथेष्ट प्रमाण संकलन गरी अयोध्यापुरीलाई रामको जन्मभूमिमा परिणत गर्न सकिन्छ । यसका लागि हामीलाई भारतको सहमति चाहिँदैन । यसतर्फ सबैको ध्यान पुगोस् ।

तपाइको प्रतिक्रिया
(Visited 763 times, 1 visits today)

epaper

ताजा समाचार

आइभरी कोस्टका लागि ९० औं मिनेटमा निर्णायक गोल, इक्वेडर स्तब्ध