सरकारले चार महिनाको बन्दाबन्दीलाई खुकुलो पारेसँगै जनसंख्या बाक्लो भएका सहरी क्षेत्रमा कोरोना महामारी संक्रमण बढेर गएको छ । संक्रमणको असर जनसंख्याको चाप भएका जंगी तथा निजामती मुकामहरूमा पनि देखापर्दै गइरहेको छ । सहरी क्षेत्रमा कारोना संक्रमण रोकथामका मापदण्ड अपनाउन समस्या हुने हुनाले संक्रमणले आमरूप धारण गर्न सक्ने सम्भावना बढिरहन्छ । सहरमा आवश्यकताअनुसारको भौतिक दूरी कायम गर्न र एकअर्कामा छेलिएर हिँड्न निकै गाह्रो हुन्छ । जनसंख्या बाक्लो हुनुले निम्तने सम्भावित जोखिमलाई नियन्त्रण गर्नका साथै संक्रमितको उपचार गर्न पनि हम्मेहम्मे पर्दछ । काठमाडौं उपत्यकामा रहेका तीनवटै जिल्लामा सरकारी तथा सार्वजनिक अफिस तथा कामकारबाही सुचारु गरिसकेपछि देशभरका मानिस राजधानी सहरमा आउन बाध्य पारिएका छन् । कतिपयका काम प्रक्रियामा रहेका, अन्य कतिपय काम म्याद गुज्रने भएका र अरू काम हदम्यादका कारण अगाडि बढाउनुपर्नेजस्ता बाध्यताका कारण मानिसको काठमाडौं आगमन जेजसरी पनि भइरहेको छ । बरु अन्तरजिल्ला र लामो दूरीका सार्वजनिक सवारीसाधन खुला नगरिएका कारण साना जिप तथा प्राइभेट कारहरूमा गुन्द्रुक खाँदेझैं गरी उपत्यका भित्रिइरहेका मानिसबाट कोरोना संक्रमणको जोखिम झनै बढेर गएको छ ।
सरकारले पहिले गरेका समान प्रकृतिका केही कमीकमजोरी यसपटक पनि दोहो¥याउन गइरहेको छ । पहिले छिमेकी देश भारतबाट स्वदेश फर्किएका नेपालीलाई सिमानामा महिनौं रोकेर भारतीय क्वारेन्टाइन क्याम्पमा राखी त्यहाँ संक्रमण देखिएपछि नेपाल भिœयाउँदा जुन हविगत नेपालले भोग्नुप¥यो, अहिले पनि सो प्रकृतिको कमजोरी साना गाडीमा कोचिएर उपत्यकाको यात्रा गर्न बाध्य पारिएसँगै दोहोरिन गएको छ । सरकारले उपत्यका पसेका मानिसको पीसीआर जाँचका लागि आमरूपमा परीक्षणको प्रक्रियालाई अघि बढाएको छैन । यसले पनि संक्रमित र असंक्रमितबीच आवश्यक सतर्कता अपनाउने बाटो खोलिदिएको छैन । देशभर कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ६३ पुगेपछि देशमा कोरोना संक्रमण मध्यम तहमा पुगिसकेको देखाएको छ । यहाँबाट महामारी संक्रमण अब आम बन्दै जाने खतरा बढेर गएको छ । सरकारले दैनिक केवल ४ हजारको संख्यामा मात्र परीक्षण गरिरहेको छ जुन निकै कम हो ।
पछिल्लोपटक उपत्यकामा गरिएको कोरोना परीक्षणमा भेटिएका संक्रमितमध्ये अधिकांश सेना, सशस्त्र र प्रहरीजस्ता सदावहार मुकाम र समूहमा बस्नेमा भेटिएपछि यसले सन्त्रासको वातावरण सिर्जना गर्न थालेको छ । मुकाममा रहने एकै जनामा कारोनाजस्तो संक्रामक रोग भेटिए पनि त्यसले समूह वा क्याम्पमा बस्नेहरूका लागि ठूलो संकट निम्त्याउन सक्छ । त्यसमा पनि प्र्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत २७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि यसले तहल्का नै ल्याएको छ । त्यसैगरी आमजनताका सघन बस्ती रहेका काठमाडौंका धापासी, बसुन्धरालगायतका क्षेत्रमा पनि संक्रमितको संख्या बाक्लो हुँदै गएको छ । श्वासप्रश्वासमा गाह्रो हुने, ज्वरो आउनेलगायतका लक्षण देखिएका संक्रमितको संख्या पनि बढ्दै गइरहेको छ । काठमाडौं उपत्यकामा ४ सय ७६ जना, ललितपुरमा ९० र भक्तपुरमा ५० जनामा संक्रमण देखिएपछि अब यसले आमरूप लिन सक्ने त्रास बढेर गएको छ । त्यसैले, आमपरीक्षणको प्रक्रियालाई अघि बढाउन जरुरी छ ।






