धनगढी । सुदूरपश्चिम प्रदेशमा पुनःकोरोना संक्रमण भयावह बन्दै गएको छ । शनिबार र आइतबार सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गरी दुई सय ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको संघीय स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ८८, धुलिखेल अस्पतालबाट २७ र सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा ७९ गरी एक सय ९४ जनामा तथा आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा ४८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म संक्रमण पुष्टि भएका चार हजार सात सय ४२ जनामध्ये तीनहजार १० जना संक्रमणमुक्त भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । हाल एक हजार छ सय७५ जना विभिन्न आइसोलशनमा उपचार गराइरहेका छन् । कोरोना संक्रमणबाट हालसम्म सुदूरपश्चिम प्रदेशमा नौं जनाको मृत्यु भइसकेको छ ।
होम क्वारेन्टिनका कारण समुदायमा संक्रमण फैलिने खतरा
भारतबाट आएर होमक्वारेन्टाइनमा बसेका व्यक्तिहरूमा कोरोना संक्रमण देखिन थालेपछि समुदायमा फैलिने चिन्ता बढेको छ । सेती प्रादेशिक अस्पतालमा शुक्रबार कोरोना पुष्टि भएका धनगढीका १६ जना सबै होम क्वारेन्टाइनमा बसेका थिए । उनीहरूले होम क्वारेन्टाइनमा बस्दा अपनाउनु पर्ने सावधानी नअपनाएर परिवार र समुदायमा घुलमिल भइसकेको स्थानीयहरूले बताएका छन् ।
सरकारले भारतसहितका देशहरूबाट आएका व्यक्तिहरूलाई होम क्वारेन्टाइनमा राख्न र होम क्वारेन्टाइनमा रहेको दश दिनपछि आरडीटी परिक्षणमा पोजिटिभ देखिएमा पीसीआर बिधिबाट कोरोनाको परीक्षण गर्न भनेको छ । परिवार र समुदायमा घुलमिल भैसकेपछि कोरोनाको परीक्षण गरिने भएकोले समुदायस्तरमा कोरोना फैलिने खतरा बढेको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले बताए ।
पछिल्ला दिनहरूमा भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि हुनथालेको छ । यसले गर्दा समुदायमा कोरोना संक्रमण हुन सक्ने खतरा बढेकाले होम क्वारेन्टाइनमा पठाउन नहुने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
केदारस्युमा लकडाउन
यसैबीच, बझाङको केदारस्यू गाउँपालिकाको क्वारेन्टाइनबाट घर पठाइएका ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार २५ जना र शनिबार ४१ जना होमक्वारेन्टाइनमा रहेका व्यक्तिमा कोरोना पुष्टि भएको छ । संक्रमितहरू वडा नम्बर ६ र ७ का बासिन्दा भएको र उनीहरू सबै भारतबाट नेपाल फर्किएको गाउँपालिकाले जनाएको छ ।
केदारस्यु गाउँपालिकाका कोराना संक्रमितहरू थापागाउ, भाटसैन, भामचौर, काडाचौर र जसुडालगायतका गाउँका स्थानीय हुन् । उनीहरू ८ देखि १२ दिन गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेपछि होम क्वारेन्टाइनमा बस्न भनेर गाउँपालिकाले नै घर पठाएको थियो । होमक्वारेन्टाइनमा बस्न भनिए पनि उनीहरूले होम क्वारेन्टाइनमा बस्दा पालना गर्नु पर्ने नियमहरू बेवास्ता गर्दै सामान्य मानिसझैं समुदायमा घुलमिल भइसकेको स्थानीयले बताएका छन् ।
एकै पटक ठूलो संख्यामा संक्रमितहरू भेटिएपछि गाउँपालिकाले वडा नम्बर ६ र ७लाई पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ । शनिबार बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिकामा पुनः लकडाउन गर्ने निर्णय समेत गरेको छ । गाउँपालिकाले वडा नम्बर ६ मा संक्रमण पुष्टि भएकाहरूलाई भाट्सैनमा रहेका चन्द्रोदय माध्यमिक विद्यालय र वडा नम्बर ७ काहरूलाई कैलाश भवानी माध्यमिक विद्यालयको आइसोलेसनमा राख्ने निर्णय गरेको छ ।
‘संक्रमितहरू भेटिएको वडालाई सिलगर्न सुरक्षाकर्मीहरू परिचालन गरिसकेका छौं,’ वडा अध्यक्ष समेत रहेका गाउँपालिका प्रवक्ता लोकेश भण्डारीले भने, ‘अवस्था सामान्य नहुन्जलसम्म गाउँपालिकाभरि लकडाउन गर्ने निर्णय भएको छ ।’ गाउँपालिकाभरि खाद्यान्न तथा दैनिक उपभोग्य बस्तुका पसलहरू बिहान ७ देखि १० बजेसम्म मात्रै खोल्न दिइने र एक वडाबाट अर्काे वडामा जानु पर्दा वडाध्यक्षको सिफारिस अनिवार्य हुनुपर्ने निर्णय गरिएको बताए ।
संक्रमितहरू समुदायमा घुलमिल भइसकेको हुनाले उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गर्नलाई लागि स्वास्थ्यकर्मीहरू परिचालन गरिएको र संक्रमितहरूको सम्पर्कमा आएकाहरूको पीसीआर परिक्षण गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष इन्द्र भण्डारीले बताए । परीक्षण गर्नका लागि २ सय थान भीटीएम किट गाउँपालिकामै मौजुद रहेको र अपुग किटका लागि स्वास्थ्य कार्यालयसँग समन्वय गरिरहेको अध्यक्ष भण्डारीले बताए ।