डडेल्धुरा । डडेल्धुरा जिल्ला प्रशासन कार्यालयमा सामाजिक दुरीको धज्जी उडाएको छ । बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि सरकार दोस्रो पटक लकडाउन थप्ने मनस्थितिमा पुगेको समयमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा भने सामाजिक दुरी सामान्य रुपमा पनि देखिएन ।
मंगलबार करिब ३ बजेर २० मिनेटमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा जाँदा कार्यालयको हाताभरी सेवाग्रहीहरुको भिडभाड रहेको थियो, कोही सेवाग्राहीहरु नागरिकता फाँटको झ्यालमा कोचाकोच हुने गरी उभिएका थिए त कोही मुल ढोकासम्म भुईमै बसेका देखिन्थे तर सामाजिक दुरी भन्ने कतै देखिएको थिए ।
कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सेवाग्राहीका लागी न्युनतम मापदण्ड पनि पुरा गरेको देखिँदैन । कार्यालयमा सेवा लिन आउने व्यक्तिहरुलाई सेनिटाइजर प्रयोग गर्न लगाउने, मास्क अनिवार्य लगाउनु पर्ने र सेवा लिदा सामाजिक दुरी कायम गराउने कुनै पनि संकेतहरु देखिएको छैन ।
कार्यालयले सेवाग्राहीहरुलाई सामाजिक दुरी कायम गरी नराख्दा सेवा लिने ठाउमा अनावश्यक भिडभाड हुने गरेको र सेवा प्रवाह गर्न पनि समस्या भइरहेको एक जना कर्मचारीले बताए । उनले भने, ‘सामाजिक दुरी नहुँदा कर्मचारीहरु पनि जोखिममा रहेका छन् । सामाजिक दुरी त परै छ सेवा ग्राहीहरु बस्ने ठाउ नपाएर कोही उभिएका छन् त कोही कार्यालयको मुख्य गेटसम्म भुईंमा बसेका छन् ।’

‘४/५ दिनदेखि सेवा ग्राहीको यस्तै भिडभाड रहेको छ सामाजिक दुरी कायम गरि सेवा प्रवाह गराउन तर्फ प्रशासनले कुनै चासो देखाएको छ्रैन । एसएलसीको नतिजा आउने बित्तिक्कै सेवाग्राहीको भिड अझै बढ्ने देखिन्छ, के गर्ने सेवा दिनै पर्यो, कोरोनाको डर भएपनि’, एक जना कर्मचारीको गुनासो थियो ।
बिहान १० बजे नागरिकता बनाउनका लागि कार्यालयमा पुगेको र अहिलेसम्म नागरिकता बन्न सकेको भागेश्वर गाउँपालिका ३ बोकटाका संजय रानाले बताए । जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा सेवाग्राहीका लागि बस्नका लागी बनाएका बेचमा बस्ने ठाँउ नपाएपछि उनले ८ महिनाको दुधे बालक समातेर मुल गेटको भुईंमा बसेका रानाले भने कारोनाको डर भए पनि नागरिकता बनाउदै पर्यो ।
अधिकांश व्यक्तिहरु नयाँ नागरिकता लिने र नागरिकताका प्रतिलिपि लिनका लागि जिल्ला प्रशासन कार्यालयमा आउने गरेका छन् ।
बजारमा मास्क प्रयोग नगर्ने व्यक्तिलाई प्रहरीले कार्बाही गर्दै राजस्व संकलन गरिरहेको छ तर जिल्ला प्रशासन कार्यालयभित्रको भिडभाडमा कयौं व्यक्तिहरु मास्क प्रयोग नगरि बसेका दिए । सेवा प्रवाह गर्ने कर्मचारी पनि विना मास्क सेवा दिईरहेकाले थप जोखिम रहेको देखिन्छ । सामाजिक दुरी कायम नगराउने र नगर्नेलाई जिल्ला प्रशासन कार्यालयले संक्रमण रोग ऐन २०२० बमोजिम कार्वाही गर्ने सुचना जारी गरेको छ, तर आफैंले उक्त सुचनाको बर्खिलाप गरेको देखिन्छ ।
भिड बढेको छ, त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा जिल्ला स्तरिय कोरोना नियन्त्रण समितिको बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलले बताए । उनले उक्त बैठकले व्यवस्थापनका लागि निर्णय गर्दै गरेको बताए ।








