दोलखा । दोलखामा गौरीशंकर गाउँपालिकामा पहिरोमा परी एक जना बेपत्ता भएका छन् भने एकजना घाइते भएका छन् । गएराति परेको भीषण बर्षापछि गौरीशंकर गाउँपालिका–८ खारेस्थित टुनिटारमा बस्तीमाथिवाट पहिरो खस्दा एक पुरुष वेपत्ता भएका हुन । पहिरोमा पुरिएर बेपत्ता हुनेमा कालिञ्चोक गाउँपालिका–८ सुनखानीको करिब २८ वर्षीय सुरेश शिवाकोटी रहेको स्थानीयले बताएका छन् ।
शिवाकोटी सिंगटीबाट टुनिटारको एक घरमा फलामे सटर राख्नका लागि गएको र काम नसकिएपछि सोही स्थानमा बसिरहेको अवस्थामा पहिरोले पुरेर बेपत्ता भएको स्थानीय बद्री खड्काले जानकारी दिए । दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले पहिरोमा पुरिएर एक जना बेपत्ता भएको र ३ जनालाई जिवितै उद्दार गरिएको प्रारम्भिक जानकारी आएको बताए ।
पहिरोमा परी एक स्थानीय पुरुष पनि घाईते भएका छन् । उनको एउटा हात भाँचिएको दोलखा प्रहरीले जनाएको छ । पहिरोका कारण पशुचौपायमा पनि ठुलो क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले घटनास्थलमा प्रहरी खटिएको र थप विवरण आउन बाँकी रहेको जनाएको छ ।