इलाम । शनिबार विहानको समय छ । घडीमा आठ बजेको छ । इलाम चोकबजारमा प्रहरीको ‘ड्युटी’ चलिरहेको छ । त्यहाँ बसेका प्रहरीमध्ये एकजनाको हातमा एउटा बिल बुक पनि छ । त्यसै समयमा अन्दाजी १७/१८ वर्ष उमेरका दुई जना किशोरी चोक बजारतिर आइरहेका छन् ।
किशोरीले हातमा सानो झोलापनि झुण्डाएका छन् । एक अर्कामा गफ गर्दे हिनिरहेका थिए । जब चोक आइपुग्न लागे तब दुवै जनाले गोजीमा हात लगाए । गोजीमा माक्स रहेछ । झिकेर लगाए । प्रहरीले पनि हेरिरहेको थिए । प्रहरीको नजिकैमा आएपछि एक प्रहरीले भने,‘हाम्रालागि होइन तपार्इंको सुरक्षाका लागि हो माक्स । हामीलाई देख्दा मात्र नलगाउनुहोस न ।’ किशोरीहरूले प्रहरीको कुरा सुनेर पनि नसुने झै गरेर बाटो काटे ।
चोक बजारमा फेरि मालापथ(बजार पूर्वी) लाइनबाट एकजना अन्दाजी ४० वर्षका पुरुष चोक बजारतिरै आइरहेका छन् । उनले पनि हातमा झोला झुण्डाएका छन् भने । मुख भने खुला नै छ । सबै प्रहरीको नजर उनको तिर परिसकेको छ । उनी चोकमा रहेको प्रहरी सूचना केन्द्र अगाडि आइपुग्छन् र प्रहरीसँग भेट हुन्छ । ‘दाइ एकछिन उभिनोस् त’ ।
हातको जरिवाना रसिद पल्टाउँदै प्रहरीले भने, ‘तपाईले माक्स नलाई हिड्नु भएको छ एकसय रुपैयाँ जरिवाना तिर्नुपर्छ ।’ प्रहरीले त्यति भन्दा नभन्दै एक हातले गोजी छाम्दै अर्को हातले (झोला बोकेको) मालापथ लाइनतर्फ देखाउँदै भने,‘उ त्यही पुगेर आएको गोजिमा छ माक्स ।’ यति भनेर उनले गोजीबाट माक्स निकालेर कानमा झुण्डाउन थाले ।
‘मान्छेलाई भनिकन नलाग्ने रहेछ हाम्रो लागि माक्स लगाउनु पर्ने जसो गर्छन्’ ड्युटीमा खटेका एक प्रहरीको मुखबाट आवाज निस्कियो । उ सँगै ड्युटीमा खटेका अर्का प्रहरीले चोक बजारतिर इसारा गर्दै भने,‘उ ती दिदीलाई पनि हेर्नु न । हामीलाई देखेपछि माक्स निकाल्दैछिन् ।’ प्रहरीले भनेजस्तै चोकमै आइपुग्न लागेपछि प्रहरीलाई देखेर ती महिलाले माक्स लगाउन थालिन् ।
त्यति नै बेला पहिले बजार छिरेका किशोरीहरू हातमा तरकारीको झोला हल्लाउँदै फेरि चोक बजार निस्किए । अघि प्रहरीलाई देखेपछि लगाएको माक्स अहिले मुखमा देखिँदैन । प्रहरीले किशोरीहरूलाई फेरि पनि देख्यो । प्रहरीले देखेपछि किशोरी झसङ्ग हुँदै झोलाबाट माक्स निकाल्छन् र माक्स लाएर सरासर हिड्छन् । यी घटना त प्रतिनिधि पात्र मात्र हुन् ।
विहानको समयमा घरायसी सामान किन्नका लागि बजार आएकाले चहलपहल बाक्लो छ । कोही माक्स लगाएरै हिडिरहेका छन त कोही प्रहरीलाई देखेपछि माक्स लागाउने गर्छन् । बिहानको ‘ड्युटी’मा खटिएका ट्रफिक प्रहरी जवान यमुना पोख्रेल भन्छिन्,‘पहिले त धेरैजसो माक्स विनानै आउने गर्थे तर प्रहरीले कडाइका साथ जरिवाना काट्न थाले पछि त धेरै जसोले माक्स लगाएकै देखिन्छ ।’
पछिल्लो समय इलाममा कोरोना संक्रमणको संख्या बढेसँगै प्रहरीले माक्स लगाउन कडाइ गर्दापनि केहीले अँटेर गरिरहेको इलाम चोकका असइ डिकसेर राई को भनाइ छ । माक्स नलाइ हिड्नेलाई कारबाही स्वरुप एक सय रुपैया जरिवाना कटाउन थालेपछि अधिकांशले माक्स लगाउन थालेको असइ राइले बताए । प्रहरीले अहिलेसम्म ३५ जनालाई करबाही गरेर ३५ सय रुपैयाँ जरिवाना उठाइसकेको छ । राई भन्छन्, ‘अहिले त धेरै जसो माक्स लगाएरै हिन्छन् । यहाँ दुईचार जना छन अलि अटेरी र भनिकन पनि लाग्दैन ।’
कोरोना संक्रमण फैलने त्रासले इलाम सदरमुकामका विभिन्न स्थानमा निषेधाज्ञा समेत गरेको छ । जिल्ला संकट व्यवस्थापन समिति इलामकोे बैठकबसी कन्ट्रयाक ट्रेसिङ्ग गरेर पीसीआरको रिपोर्ट नआएसम्मका लागि निषेधाज्ञा गरिएको छ । अहिले इलाम नगरपालिका वडा नं. ७ स्थित उत्तरतर्फ शसस्त्र प्रहरी बल क्याम्पदेखि नापी कार्यालय र मालपोत कार्यालयसम्म, दक्षिणतर्फ बाल मन्दिरसम्मको क्षेत्रमा निशेध गरेको इलाम नगरपालिकाले जनाएको छ ।
यस्तै, नवीन चोकदेखि पश्चिम पुरानो ग्रीनभ्यू गेष्ट हाउससम्म, अदालत जाने ठाडो बाटोदेखि पूर्वतर्फ अंकित मिष्ठान्न भण्डार हुँदै शिखर फोटो स्टुडियो आसपासका बजार क्षेत्रलाई जोखिम भएको क्षेत्र मानेर आवतजावतमा निषेध गरेको हो । उता सूर्योदय नगरपालिका लकडाउनमा गरिएको छ भने सूनपाको आईत’boutमा घरमा बसेका सशस्त्र प्रहरीमा कोरोना संक्रमण पोजेटिभ भएसँगै बजार शिल गरिएको छ । त्यस्तै सन्दकपुर गाउँपालिका पनि लकडाउन गरिएको छ ।
इलाममा हालसम्म ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये इलाम नगरपालिकामा सबैभन्दा बढी ५६ जना संक्रमित छन् भने सूर्योदय नगरपालिकामा १४ जना, माइ नगपालिकामा ३, देउमाई नगरपालिका २ र रोङ गाउँपालिकामा १ मा कोरोना संक्रमण देखिएको छ । इलाम नगरपालिकाको सशस्त्र प्रहरी १ नं. गणका मात्रै ४६ जनामा कोरोना देखिएको छ । पछिल्ला दिनमा कोरोना संक्रमण बढेको पाइएको छ ।
केही दिनअघि हाइड्रोको अध्ययनका लागि आएको एक टोलीमा कोरोना देखिएपछि त्रास झनै बढेको छ । कोरोना जोखिम बढ्न नदिन सरोकारवाला निकायले पहल गरेपनि खासै प्रभावकारी देखिएको छैन । ‘हामीले प्रचारप्रसारदेखि कोरोना संक्रमणका काम समेत गरेका छौं तर संक्रमण बढिरहेको छ’, स्वास्थ्य कार्यालय इलामका विमल बरालले भने, ‘त्रास धेरै बढेको छ । दिनैपिच्छे संक्रमित फेला पर्दा समस्या जटिल बन्दै गएको छ ।’ पछिल्लो १५ दिनको समयमा मात्रै ४६ जना सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको छ । सशस्त्रमा कोरोना संक्रमित देखिएपनि हालसम्म संक्रमति फैलिएको स्रोत फेला नपर्दा इलाममा अझै संक्रमण बढ्ने आशंका देखिएको छ ।