इटहरी । इटहरीमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमै फैलन थालेको छ । इटहरीमा आईतबार थप दुईजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै समुदायस्तरमै कोरोना भाइरस फैलिन थालेको हो ।
आईतबार इटहरी ८ की १९ बर्षीया युवती र इटहरी २० का ५४ बर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएपछि इटहरीमा समुदायस्तरमै कोरोना फैलदैँ गएको इटहरी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले बताए । ‘इटहरीमा अहिलेसम्म देखिएको ३० जनामध्ये आजै देखिएका दुईजना मानिस पनि समुदायस्तरका मानिस हुन् ।’ उनले भने । उनीहरु सरकारी कार्यालय, स्वास्थ्य कार्यालय वा अन्य कुनै सार्वजनिक ठाउँमा काम नगर्ने भएपनि उनीहरुमा कोरोना पुष्टि भएको चौधरीले बताए । उनका अनुसार समुदायस्तरमै कोरोना फैलिदैँ गएकाले सचेत रहन अपिल गरिएको छ । अहिले धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालनमा रहेको कोभिड १९ को अस्पतालमा बेड अभाव भएकाले यसअघिका संक्रमितहरु पनि घरमै बस्दै आएका छन् ।
घरमै बसेका ६ जना संक्रमित मध्ये एकजना संक्रमितलाई भने स्वाशप्रश्वासमा समस्या देखिएपछि शुक्रबार राती एम्बुलेन्समा अस्पताल लगिएको छ । इटहरी अस्पतालका इमर्जेन्सी शाखाका इन्चार्ज रामकुमार धमलाका अनुसार इटहरीमा आईतबार देखिएका दुई संक्रमित सँगै इटहरीमा ७ जना अहिले होम आइसोलेशनमै रहेका छन् । अस्पतालमा बेड अभाव भएका कारण संक्रमितहरु घरमै बस्न बाध्य भएको उनले बताए ।
‘आम सर्वसाधारण मानिसहरुले कोरोनालाई सामान्य मानियो वा मानिदैँ छ । यो दुःखद पक्ष हो । यो हुुनुमा सरकारी तवरवाट जति अनुगमन नियमन हुनु पर्दथ्यो सो हुन सकेन,’ धमलाले राजधानीसँग भने, ‘नागरिक तहवाट सरकारलाई सहयोग गर्नु पर्दथ्यो । त्यो पनि भएन । संसारलाई आक्रान्त पारेको कोभिड १९ माहामारीलाई हामीहरुले अलिक हलुका ढंगले लियौँ, यसले महामारीको रुप पनि लिन सक्छ ।’ उनका अनुसार इटहरीमा यसअघि समुदायस्तरमै कोरोना भाइरसको संक्रमण नदेखिएको भएपनि अहिले भने समुदायस्तरमै कोरोना भाइरसको संक्रमण देखिन थालेपछि सचेत रहन आग्रह गरिएको छ । अहिले इटहरी क्षेत्रमा दैनिक एक सय जना भन्दा बढीको पीसीआर परीक्षण गरिदैँ आएको उनले बताए ।






