दुर्गेश थापाको स्वर रहेको म्युजिक भिडियो ‘बिच्च बिच्चमा–२’ अहिले युट्युब प्रेमी दर्शकका लागि रमाइलो खजाना बनेको छ । तीजको गीत भनिएको उक्त गीतको भिडियोलाई अहिलेसम्म ८७ लाख बढी दर्शकले हेरिसकेका छन् ।
कोरोना संक्रमण नभएको भए शायद यति बेला दुर्गेश र उनको टिम स्वदेश एवं विदेशमा आयोजित विभिन्न स्टेजमा ‘बिच्च बिच्चमा…’ भन्दै स्टेज थर्काइरहेका हुन्थे । जसले ‘दुर्गेशले अलिमियाको गीत चोरे…’ भनेर टिप्पणी गरेका थिए ती पनि दुर्गेशकै गीतमा थप्पडी मारिरहेका हुन्थे होला ।
धन्न, कोरोना संक्रमणले दुर्गेशहरु युट्युबमै सिमित भएका छन् यसपाली । तर, पनि उनको क्रेज दिन दिनै बढिरहेको छ । एक महिनामै उनको गीत ८७ लाख पटक क्लिक हुनुको अर्थ हो हाम्रो समाजमा दुर्गेश र दुर्गेश जस्तै पात्रहरु काफी लोकप्रिय छन् । गीत, गीत जस्तै हुनुपर्छ वा कुनै पनि गीतमा गीतमा हुनुपर्ने गुणहरु हुनुपर्छ भन्ने जरुरी छैन । केही गायक र भिडियो निर्देशकको मष्तिष्कमा केही थान अर्धनग्न सुन्दरीहरु राखेपछि भिडियो हिट हुन्छ भन्ने मान्यता स्थापित हुँदै गएको बेला हाम्रा दर्शकले पनि ती मान्यतालाई क्रमश स्थापित गर्दै गएका छन् ।
पछिल्लो समय युट्युबमा सार्वजनिक भएका गीत र आफुलाई गीतका पारखी दाबी गर्नेहरुले गरेको कमेन्ट हेर्दा लाग्छ, हाम्रा स्रोताहरु पनि भ्रष्ट भैसके । नेताले देश बिगारे भन्दै सामाजिक सञ्जाल मार्फत उपदेश दिनेहरुले आफैं मतिभ्रष्ट भएको कहिल्यै महशुस गरेनन् । देश बिग्रिएकोमा सबै भन्दा धेरै चिन्ता गर्नेहरु युट्युबमा आएको यस्तै भिडियो हेरेर रमाउने पुस्ता नै हुन् । कर्मचारीले काम गरेनन्, नेताहरुले घुस खाए, पत्रकारले सही सूचना दिएनन् जस्ता गुनासाहरु यीनै वर्गबाट बढि सुनिन्छ ।
तीजकाे सन्दर्भ समेटिएकाे सशक्त गीतकाे भिडियाे
यदि उनीहरु वास्तवमै राष्ट्रप्रेमी थिए र देश बिग्रेकोमा उनीहरुलाई चिन्ता थियो भने उनीहरुलाई दुर्गेश थापा भन्दा बढी अलिमिया, हरिदेवी कोइराला, पुरुसोत्तम भण्डारी र लक्ष्मी तिवारी (तिवारी आमा) हरुका तीज गीत बढी मन पर्नु पथ्र्यो । भण्डारी र तिवारीले एक वर्ष अघि गाएको ‘पानी मरुवा’ शीर्षकको गीत पछिल्लो समयको तीजको सन्दर्भ समेटिएको सबै भन्दा शसक्त गीत हो । जुन गीतका शब्द शब्दमा अहिलेको समय सन्दर्भ झल्किन्छ । उद्यम गरेर गाउँमै बसौं भन्ने युवाको मनोभाव मात्रै हैन , जागीरको शिलसिलामा शहरमा अल्झिएको एउटा विवाहित जोडीको पीडा पनि छ । तर, त्यो गीतको भिडियोले दर्शकलाई तानेन किनकी गीतमा तिवारी आमा आफैंले अभिनय गरेकी छिन् फरिया चोलो लगाएर ।
यदि उनीहरु वास्तवमै राष्ट्रप्रेमी थिए र देश बिग्रेकोमा उनीहरुलाई चिन्ता थियो भने उनीहरुलाई दुर्गेश थापा भन्दा बढी अलिमिया, हरिदेवी कोइराला, पुरुसोत्तम भण्डारी र लक्ष्मी तिवारी (तिवारी आमा) हरुका तीज गीत बढी मन पर्नु पथ्र्यो
नेपाली लोकसंगीतलाई भद्दा मजाक बनाउनेमा दुर्गेश मात्रै हैन दुर्गेश जस्तै पात्रहरु बढ्दैछन् पछिल्लो समय । जो गीत शीर्षकमा माइक समातेर जे पनि बोल्छन् र हाम्रा दर्शक एवं स्रोता त्यहि कुरा मज्जाले पचाइदिन्छन् । अन्त जानै पर्दैन । दुर्गेशको गीत सुनेर ताली ठटाउँदै उफ्रनेहरुले मध्ये धेरैलाई थाहा नहुन सक्छ नेपाली लोकसंगीतमा अलिमियाँको योगदान । अलिमियाको ओरिज्नल गीत हेर्ने र सुन्ने थोरै छन्, त्यहि गीत चोरेर चर्को स्वरमा कराउने दुर्गेश ‘स्टार’ भए ।
तीजसंगै भाका पनि बद्लियो
तीज गीत बिग्रियो भन्ने बित्तिकै एकथरी मान्छेसंग रेडिमेड जवाफ छ । तीजै तीज जस्तो नभएपछि गीत मात्रै कसरी मौलिक हुन्छ ? हो हिजोको जमाना फरक थियो । गाउँमा धेरै शहरमा थोरै मान्छे थिए । रोजगारीका अवसर कम हुँदा आम मान्छेको दैनिकी निर्वाहमुखी अर्र्थतन्तन्त्रले धानेको थियो । तरकारीमा हाल्ने भुटनदेखि घरको छाना समेत आफ्नै बारीमा उत्पादन गर्नुपर्ने बाध्यता थियो ।
लैना बकेर्ना भैंसी, हल गोरु, केही बाख्रा, कुखुरा, परेवा पाल्नु पर्ने र वर्षभरिलाई पुग्ने खाद्यान्ह आफ्नै बारीमा उत्पादन गर्नु पर्ने बाध्यता । सिंगै परिवार कृषिमै निर्भर थियो । दुध बेच्ने चलन थिएन । घ्यु पैंचोमा चल्थ्यो । खाद्यान्हको नाममा नुन बाहेक किन्ने चलन थिएन । हिँउदमा बढी फलेको तरकारी चाना बनाएर सुकाएर बर्खालाई राख्ने चलन थियो । पहाडी क्षेत्रमा चामलको भात खान ठूलै चाड आउनु पथ्र्यो । मासु खान दसै कुरे जस्तै खीर र घ्यु हालेको भात खानलाई तीजै आउनु पथ्र्यो । पितृसतात्मक सोचको प्रभावले गर्दा बुहारीहरुको दर्जा घरेलु कामदारको भन्दा माथि थिएन । ठूलो जहान परिवार भएका घरकी बुहारीले कहिलेकाँही पटुका कसेर भोकै सुत्नु पनि पथ्र्यो ।
धान कुट्ने, मकै पिँध्ने मेसिन नहुँदा तिनै बुहारीले आधा रातमा उठेर ढिकी जाँतो गर्नुपथ्र्यो । सबै भन्दा पीडित थिए बुहारी र तीजमा बुहारीकै पीडा धेरै गाउँ पाखामा गीतका कथा बन्थे ।
समय परिवर्तन भयो । छोरासंगै बुहारी पनि घर बाहिर निस्कन थाले । बजारको विस्तार यति दु्रत भयो । पैसा भएपछि अभाव केहीको पनि नहुने भयो । अहिलेको समाजकै कुरा गर्ने हो भने दरखाने दिन पाक्ने परिकारका लागि तीजको अघिल्लो दिन कुर्न जरुरी छैन । कतिपयले समय र प्रविधिको विकासले ल्याएको परिवर्तनलाई सांस्कृतिक पर्वमाथि विचलन आएको आफुखुसी गतल व्याख्या गर्न थालेका छन् ।
धान कुट्ने, मकै पिँध्ने मेसिन नहुँदा तिनै बुहारीले आधा रातमा उठेर ढिकी जाँतो गर्नुपथ्र्यो । सबै भन्दा पीडित थिए बुहारी र तीजमा बुहारीकै पीडा धेरै गाउँ पाखामा गीतका कथा बन्थे
मान्न सकिन्छ, तीजमा महिलाले खाने परिकार परिवर्तन भयो । लगाउने साडीको गुणस्तरमा परिवर्तन भयो । नाचगानका शैलीहरु थोरै आधुनिक भयो होला । त्यसो हुँदैमा चेली र माइतीको सम्बन्ध टुटेको हो त हैन । समय जतिसुकै प्राविधिक रुपले निपूर्ण किन नहोस् एउटी चेलीका लागि माइतीघर सँधै अलौकिक हुन्छ । बुहारीलाई हेर्ने दृष्टिकोण परिवर्तन भयो होला सासुले पनि आमाले जस्तै माया गर्दि हुन् तर, ति चेलीलाई माइतीको माया घरले कहिल्यै दिन सक्दैन ।
जमाना फेरियो भन्दै गीत शीर्षकमा बुरुक्क उफ्रने दुर्गेश थापाहरु केही वर्ष वा महिना सुनिएलान् तर, आम नेपाली चेलीले संगितमा तीजको महिमा र महत्व बुझ्न चाहिन् भने फेरि युट्युबमा हरिदेवी कोइराला वा तिवारी आमाहरुकै भाका खोज्न वाध्य हुन्छन् । जब मौलिक गीतको तिर्सना मेटाउने सामध्र्य राख्दैनन् भने दुर्गेशहरुको भिडियो के का लागि ?







