संकटको मोडमा नेकपा

सत्तारूढ दल नेकपाभित्र चलिरहेको सत्ता र शक्तिको संघर्ष अब पार्टीको आन्तरिक समस्यामा मात्र सीमित रहेन । आजै मिल्यो, भोलि नै मिल्यो भनिने तर अनन्तकालसम्म नमिल्ने लक्षणको यो किचलो अन्ततः पार्टी फुटको बाटो समाउनेसम्मको रणनीतिमा पार्टीभित्रका गुटहरू सक्रिय देखिन्छन् । मुख्य रूपमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको शासकीय शैली र पार्टी सञ्चालनमा देखाएको रबैयामा यो टकराव केन्द्रित भए तापनि अन्तत्वगत्वा यो विषय यतिमा मात्र सीमित रहने देखिँदैन । यो आलेख मूलतः सत्तारूढ दलभित्र देखिएको यही रडाको र शक्ति संघर्षमा केन्द्रित रहने छ । यसले निम्त्याउन सक्ने राष्ट्रिय संकटमा केन्द्रित छ ।

स्पष्टै छ, संविधान जारी भइसकेपछि को आमनिर्वाचनमा दुई ठूला कम्युनिस्ट पार्टीबीचको कार्यगत एकताले नेपाली राजनीतिक इतिहासकै ठूलो विजय कम्युनिस्ट पार्टीले हात पारेको हो । उक्त निर्वाचनमा वर्तमान प्रधानमन्त्रि केपी शर्मा ओलीलाई प्रधामन्त्रीको एकल उम्मेदवारका रूपमा देखाएर राजनीतिक स्थायित्व, विकास र समृद्धिका नाममा भोट मागेर जनताले नेकपालाई जिताएका हुन् । अघिल्लो कार्यकालमा केपी ओलीले देखाएको राष्ट्रवादी चिन्तनले पनि दुई तिहाइ जनमत प्राप्त गर्न थप बल पुगेको यथार्थता पनि हो । भारतले गरेको अघोषित नाकाबन्दीलाई नाकाबन्दीसम्म भन्न नसकेको त्यतिबेलाको कांग्रेसको हालत अहिले कस्तो छ ? ओलीले त्यसबेला लिएको अडानलाई जनताले आधार मानेर केपी ओलीबाट अब केही हुन्छ भन्ने अपेक्षाले नेकपालाई यो अवस्थासम्म ल्याएको यथार्थता हो ।

अहिले नेकपाभित्रको संघषर््ामा सही सल्लाह र सुझाव दिने भन्दा पनि आफ्नो राजनीतिक पोजिसन के हुने हो भन्ने चिन्ता र पिरलोभित्र रुमल्लिएको छ । होला ओलीको बोली र काम गराइमा तादम्यता छैन । आफूले बोलेको कुराले कस्तो राष्ट्रिय अन्तर्राष्ट्रिय असर पर्छ, त्यसको लेखाजोखा उनी गर्दैनन् । प्रधानमन्त्रीले देशकै बेइज्जत गरे, छिमेकीसँगको सम्बन्ध (खासगरी भारतसँग) इतिहासकै संकटपूर्ण अवस्थामा पुगेको भन्ने पार्टीभित्रकै एउटा पक्षले लगाएको आरोपले विकल्पका रूपमा प्रचण्ड अघि सारिनुले पनि कुनै ठोस निकास आउने देखिँदैन । मुख्यतया दुई अध्यक्षबीचको समझदारी र विश्वासले नै नेकपाको भविष्य निर्धारण हुने देखिन्छ । नेकपाको अहिलेको मुख्य कार्यकारी भूमिकाका पात्र भनेकै ओली र प्रचण्ड हुन् ।

नेकपाभित्र सही सल्लाह र सुझाव दिनेभन्दा पनि आफ्नो राजनीतिक पोजिसन के हुने भन्ने चिन्ताले सताउने गरेको देखिन्छ

अहिले पूर्वएमालेभित्र खेलेर प्रचण्डले राजनीतिक बाजी मार्ने कसरत गरेका छन् । यसमा पूर्वएमाले खेमा खासगरी माधव नेपाल, झलनाथ खनालको साथले पनि प्रचण्डलाई थप बल पु¥याएको हुनुपर्छ । खनाल, नेपालको चाहना पनि ओलीको पार्टी र सरकार सञ्चालनमा देखिएको हालीमुहालीलाई जसरी पनि रोक्ने रणनीतिले नेकपा चिरा पर्ने अवस्थामा पुगेको देखिन्छ । तर, पार्टी फुटाएको अपजसबाट बच्न कुनै पनि गुट अहिले एकअर्काविरुद्ध वार कि पारको अवस्थामा पुग्न सकिरहेका छैनन् । पार्टी फुटाएको अपजस आफ्नो टाउकोमा नआओस् भन्ने मनोविज्ञानले ओली, दाहाल एकअर्काविरुद्ध सशक्त रूपमा प्रस्तुत हुन सकिरहेका छैनन् ।

प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमका आआफ्ना स्वार्थ र पक्षपोषणले पार्टी र सरकारको सम्बन्धमा सुरुदेखि नै खटपट देखिएकै हो । खासमा नेकपाभित्रको विवादका प्रमुख पाँच पात्र यिनै हुन् जो नाममात्रको पार्टी एकीकरणदेखि नै आआफ्नै दाउ र रणनीति बनाउनमै व्यस्त रहिरहे । न यी पात्रले सरकार सञ्चालनमा एकले अर्कोलाई खुला हृदयले सहयोग गरे, न त कमी कमजोरीको खुलेरै आलोचना गर्न सके । त्यही दोहोरो चरित्र अहिले आएर पार्टी फुटको कारण बन्दै छ ।

विधि, पद्धति, इमानदारिता, नैतिकताजस्ता कुरा ओलीको राजीनामा प्रकरणसँग जोडिएर आएका छन् । तर, सबै शीर्ष नेताहरूको विगतको इतिहास र कार्यशैली विश्लेषण गर्ने हो भने सफल कोही पनि देखिँदैनन् । सबैका कमीकमजोरी र गुटको राजनीतिलाई पक्षपोषण गरेको आरोप लागेको छ । पार्टी कुनै पनि हालतमा फुट्दैन र फुट्न पनि दिइँदैन भनेर नेकपाका शीर्ष नेताले आआफ्ना गुटका भेला र बैठक पनि गरिरहेकै छन् । तर, ठोस निकास निकाल्न सकिरहेका छैनन् । आफ्नो समूहमा कसरी इत्तर समूहका मान्छेलाई विश्वस्त पार्न सकिन्छ भन्ने दाउपेचमा मात्र ती भेला र बैठक सीमित भएका छन् ।

पार्टीभित्र पूर्वसमूहको तुस अहिले यति बलियो रूपमा रहेको छ कि एक अर्काविरुद्ध अति घृणित र तल्लो स्तरका गाली गलौजमा समेत जिम्मेवार नेताहरू सामाजिक सञ्जालमा उत्रिनुले आमकार्यकर्ता भने निराश भएका छन् । एउटा समूहका नेता कार्यकर्ताको गल्ती, कमजोरीमा अर्काे समूह आक्रामक रूपमा प्रस्तुत हुनुले नेकपाभित्रका शीर्ष नेताको मनोविज्ञान बुझिनसक्नु मोडमा पुगेको छ ।

ओली–प्रचण्ड गठबन्धनले दुवै कम्युनिस्ट पार्टीलाई लाभ मात्र प्राप्त भएको होइन कि पूरै देश नै कम्युनिस्टमय भएको सुनौलो इतिहास पनि बनेको छ । यो घटना बाँकी विश्वका लागि पनि आश्चार्य बन्न पुगेको थियो । कम्युनिस्ट पार्टीले यसरी झन्डै दुई तिहाइ जनमतसहित सत्ता हातमा लिँदा राजनीतिक, सामाजिक र आर्थिक वृत्तमा अनेक टीकाटिप्पणी आएका पनि हुन् । अब केही हुन्छ कि ? तर, अहिलेको पार्टी र सरकार सञ्चालनको भताभुंगको अवस्था देखेर अर्काथरी भने यिनीहरूले कम्युनिस्ट विचार, सिद्धान्त नीति, नियम, अनुशासन, संगठनलाई प्रदूषित बनाएको टिप्पणी गर्न थालेका छन् ।

पार्टी कहाँ चुक्यो ? सरकार कहाँ चुक्यो ? नेता कार्यकर्ता कहाँकहाँ चुके ? भनेर यो तीन वर्ष बित्नै लागेको कार्यकालमा कहिल्यै गम्भीर विश्लेषण गरेर अघि बढेको पाइएन । नेकपा भने पनि सरकार भने पनि म नै हुँ अरू त मैले भनेको अह्राएको गर्ने हुन् भन्ने दासत्वको प्रवृत्तिले नेकपा अहिले गम्भीर मोडमा आइपुगेको छ । सबैलाई थाहा छ, पार्टी फुटको पीडा । पार्टी फुटे कस्तो अवस्थामा पुगिन्छ ? कार्यकर्ता माझ के भन्ने ? चुनावताका गरेका बाचा के हुने ? जनतालाई बाँडेको सपना के हुने ?

कोरोना भाइरसको विश्वव्यापी महामारीले थला परेको देशको अर्थतन्त्रलाई उकास्दै कष्टपूर्ण जीवन बिताइरहेका जनतालाई अलिकति भए पनि राहत दिनुपर्ने अवस्थामा सरकार आन्तरिक समस्यामा रुमलिनुले राम्रो सन्देश भने गएको छैन । दैनिक ज्यालामजदुरी गरेर खाने लाखौंको जीवन जोखिममा छ । लाखौंले रोजगारी गुमाएको पीडा छ । तर, जसको मुक्ति र जीवनस्तर उकास्न सत्तामा गएको भनेर स्पष्टीकरण दिने राजनीतिक दल र सरकार अहिले गुटगत नेतृत्व र शक्तिको उन्मादले संकटग्रस्त मोडमा आइपुग्नुले उक्त दललाई मात्र हैन समग्र दलीय व्यवस्था र राजनीतिक प्रणालीमाथि नै अविश्वास पैदा हुन थालेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कैलालीका दुई पलिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी

कुरी-कुरी