कोरोना भाइरस संक्रमणको उद्गमस्थल हुवेई प्रान्तमा अध्ययनका लागि गएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरी सरकारले चुनौतीपूर्ण अभिभावकत्व ग्रहण गरेको छ । पहिलो चुनौती भनेका नेपाल सरकारले संकटमा परेका आफ्ना नागरिकको उद्दार गर्नसक्छ कि सक्दैन भन्ने थियो, जो गरिसकेको छ । कोरोना भाइरस उत्पन्न भएको हुवेइ प्रान्तबाट नेपाली नागरिक ल्याइँदा उक्त ज्यानमारा भाइरस उनीहरूसँग नेपालमा आउनसक्छ कि भन्ने आशंका र जोखिमसमेतलाई मोल्नु दोस्रो चुनौती हो । यो चुनौतीपूर्ण अभिभावकत्वले नेपालीमाझ मूलतः खुशीको सञ्चार गरेको छ । यसका साथै उक्त भाइरस सर्न नसकोस् भनेर लिइनु पर्ने उपायले सरकारलाई गम्भीर पनि बनाएको देखिन्छ । भाइरस सरेन भने निकै राम्रो भयो, तर सरेछ र सरकारले बनाएको उपचार सिष्टमले त्यसलाई रोक्न सकेन भने नेपाली समाजमा ठूलो नकारात्मक उथलपुथल ल्याउने पनि देखिन्छ । तथापि स्वदेश फर्किएका नेपालीसँग तीन करोड नेपालीले खुशी बाँडेका छन् । उनीहरू स्वयम्ले सरकारले आफूहरूलाई स्वदेश फर्काएर उचित व्यवस्थापन गरेकाले डिप्रेसनबाट मुक्त भएको भनाइले सबैको अन्तस्करण हल्लाएको छ । चीनबाट उद्दार गरी ल्याइएका १ सय ७५ नेपालीलाई त्रिभुवन विमानस्थलमा आवश्यक स्वास्थ्य जाँचपछि बस्तीभन्दा केही टाढाको सुरक्षित स्थान खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रको क्वारेन्टाइनमा राखिनुले सरकार आमनागरिकको स्वास्थ्यप्रति धेरै गम्भीर छ भन्ने कुरा पुष्टि भएको छ ।
क्वारेन्टाइनमा तालीम प्राप्त स्वास्थ्यकर्मीको विशेष टिम दिनरात खटिरहेको छ । क्वारेन्टाइनको केयर सेन्टर केही आधुनिक र वैज्ञानिक पनि बनाइएको देखिन्छ । कोरोना भाइरस आफैमा मानव जातिका लागि अभिसाप हो । यसविरुद्ध लड्न सबै नेपालीहरू लागि पर्नु जरुरी छ । यातायातमा निगरानी राख्ने, हावाबाट फैलनसक्ने संभावनालाई ख्याल गर्ने, यसको फैलावट र संक्रमणको जोडकोणलाई बुझ्ने तथा नेपालमा चीनबाट उद्दार गरी ल्याइएका नेपाली नागरिकको नियमित रेखदेख गर्ने कुरामा कत्ति पनि हेलच्याक्राइँ गर्नु हुँदैन । क्वारेन्टाइन केयर सेन्टरका ’roundका बस्तीका स्थानीय जनता त्रसित भएर गाउँ छाडेका र त्यहाँ डेरा गरी बस्नेले अन्यत्र डेरा सरेका कुरालाई गम्भीरताका साथ लिनु जरुरी देखिन्छ । किनकि समाजमा वास्तविक रोगले भन्दा पनि मनोवैज्ञानिक रोगले लाखौंलाई मनोवैज्ञानिक रूपमा विरामी बनाउन सक्छ । यसको पहिलो उपचार भनेको मनोवैज्ञानिक सकारात्मक प्रचारप्रसार नै हो । यसका लागि सरकारले खरिपाटीस्थित केयर युनिटमा राखिएका नेपाली नागरिकलाई स्वस्थ बनाएर देखाउनु हो । दोस्रो उपचार भनेको नागरिक सचेतना अभियान अघि बढाउनु र आमजनतालाई आश्वस्त पार्नु हो ।
यसका साथै, सरकारले देशभरका स्वास्थ्य केन्द्रहरूमा आवश्यक सतर्कता अपनाउनु पर्छ । आवश्यक परिआएमा प्रयोगका लागि केयर युनिटको व्यवस्था पनि गर्नुपर्छ ताकि देशभरका जनता यो रोग सर्ने संभावना नै छैन र यदि सरेमा पनि सरकारको अग्रिम सतर्कता रहेको छ भनी ढुक्क हुन सकून् । यसका साथै व्यवहारिक रूपमा पनि यो भाइरस र यसबाट बचाउका लागि स्थानीय स्वास्थ्य कर्मीमा ज्ञान र बचाउका उपायसहित आवश्यक तालीम जरुरी छ । यसका लागि सरकारले ढिलाइ गर्नु हुँदैन । कोरोना भाइरस संक्रमणबाट रोक्नका लागि मात्र भए पनि सरकारले आफ्ना नागरिकमाथिको अभिभावकत्वपूर्ण दायित्व पूरा गर्न यी सबै कुरामा गम्भीरतापूर्वक ध्यान लागिपर्नु पर्छ । यसका लागि देशभरका जनतासँग सरकारले सकारात्मक सहयोगको अपील गर्नुपर्दछ ।