चौतरा । जुगल गाउँपालिका–२ लिदीका पहिरो पीडितहरुका लागि बाह्रविसे नगरपालिकाले आर्थिक सहयोग गरेको छ । बाढीपहिरोबाट समस्यामा रहेका बाह्रविसे नगरपालिकाले पहिरो पीडित जुगल गाउँपालिकालाई सहयोग गरेको हो ।
बाह्रविसे नगरपालिकाले लिदीका पहिरो पीडितहरुका लागि २ लाख ५० हजार रुपियाँ सहयोग गर्ने विज्ञप्ति मार्फत घोषणा गरेको छ । बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सोमबार विज्ञप्ति जारी गर्दे पीडाको यो समयमा सबै स्थानीय सरकार एकै ठाउँमा रहेको सन्देशका लागि थोरै भएपनि सहयोग प्रदान गरिएको बताएका छन् ।
सिन्धुपाल्चोक अहिले बाढीपहिरोको चपेटामा छ, बाढीपहिरोबाट सिन्धुपाल्चोकका सबै स्थानीय सरकार यतिबेला प्रभावित भएका छन् ।
बाह्रविसे नगरपालिकामा पनि असार २४ गते आएको बाढीपहिरोले बाह्रविसे नगरपालिका–५ जम्बुमा एउटा बस्ती नै पुर्दा १६ अझै वेपत्ता छन् भने दुइ जनाको दुःखद निधन भएको छ यस्तो अवस्थामा थोरै भएपनि सहयोग होस भन्ने उदेश्यले हामीहरुले सहयोग गर्न लागेका हौ मेयर शेर्पाले भने ।
हाम्रो नगरपालिका पनि बाढीपहिरो लगायत प्राकृतिक विपत्तीबाट बाट यतिबेला समस्यामा छ । हामी जस्तै समस्यामा यतीबेला जुगल गाउँपालिका पनि छ । यो दुःख र पीडाको घडीमा हामी सबै एकै हुनुपर्छ, हिजो हामीलाई दुःख प¥यो, आज जुगललाई दुखेको छ र भोली अरुलाई पनि यो समस्या पर्न सक्छ विज्ञीपतमा मेयर शेर्पाले भनेका छन् ।यस्तो दुःखका बेला हामी सबै स्थानीय सरकार एकै ठाउँमा उभिएर यस्ता प्राकृतिक विपत्ती लगायत अन्य समस्यालाई मिलेर समाधान गर्दे स्थानीयको दुखेको घाउमा मल्हम लगाउन पर्छ भन्ने हाम्रो मान्यता छ मेयर शेर्पाले भने ।
‘यति ठूलो विपत्तीमा यो रकम थोरै हो, तर पनि जुगलको यो पीडामा हामी पनि सँगै छौ भन्ने अनुभूतिका लागि हामीले केही सहयोग गर्ने निर्णय गरेका हौं’ मेयर शेर्पाले भने ।
भूकम्पपछि कमजोर भुबनोट भएको सिन्धुपाल्चोक जिल्लाका पहाडी बस्तीहरुमा वर्षेनी यस्ता विपत्तीबाट धेरै जनधनको क्षति भइरहेको छ । स्थानीय सरकारले मात्रै यस्ता समस्या समाधान गर्न सक्दैन,त्यसैले प्रदेश र केन्द्र सरकारलाई पनि हामी यस्ता कमजोर भुबनोट भएको क्षेत्रको पहिचान गरी स्थानीयलाई सुरक्षीत स्थानमा राख्ने व्यवस्थाका लागि मेयर शेर्पाले आग्रह गरेका छन् ।
गएको असार २४ गते आएको बाढीपहिरोले बाह्रविसे नगरपालिका–५ जम्बुको बस्ती बगाउदा १६ बेपत्ता भएका थिए भने दुइको मृत्यु भएको थियो । वेपत्ताहरु अझै भेटिएका छैनन् ।






