काठमाडौं । दैनिक चार जना कोरोना भाइरस संक्रमितको मृत्यु हुने गरेको पाइएको छ । पछिल्लो एक हप्तालाई आधार मान्दा दैनिक रूपमा चार जना संक्रमितको मृत्यु भएको पाइएको हो ।
गत बिहीबार मृतकको संख्या ९५ पुगेको थियो भने बिहीबार मृतकको संख्या १ सय २६ पुगेको छ । बिहीबार थप ६ जनाको मृत्यु भएको हो । आज शुक्रबार बिहान २ जनाको मृत्यु भएको छ । भरतपुर र बुटवलमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।
यस्तै, बिहीबार नेपालमा थप ७ सय ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २९ हजार ६ सय ४५ जना पुगेको छ ।
यस्तै, काठमाडौं उपत्यकामा एकैदिन बिहीबार थप २ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । काठमाडौंमा १ सय ७४, भक्तपुरमा ८ र ललितपुरमा १८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, कोरोना जोखिम दिन प्रतिदिन बढ्दै गएको छ । जनस्वास्थ्य विज्ञहरुले भौतिक दूरी कायम नराख्ने, मास्क प्रयोग नगर्ने, भीडभाड गर्नेजस्ता कारण कोरोना जोखिम बढेको बताउँदै आएका छन् । स्वास्थ्य मन्त्रालयले पनि मास्कको प्रयोग, सामाजिक दूरी, भीडभाड नगर्न बारम्बार सचेत गराउँदै आएको छ ।
पछिल्लो २४ घण्टामा थप २ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १७ हजार ९ सय ६४ उपचारपछि निको भएका छन् ।
हालसम्म ५ लाख ६६ हजार २ सय २० जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । देशभर ११ हजार ५ सय ५५ जना आइसोलेसनमा छन् ।






