जनकपुरधाम । जमिन सम्बन्धि विवादमा नेपाल उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह हिरासहित ९ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा राजु साह, विपी साह, विरेन्द्र साह, सत्यनारायण साह, चन्दन कुमार साह, गणेश कुमार साह, गौत्तम साह, प्रदीप साहलगायत रहेका छन् ।
उनीहरुलाई बीबीसीका जनकपुरधाम समाचारदाता बृजकुमार यादवको घरमा ढुगांमुढा गरेपछि पक्राउ गरिएको छ । गए राति जनकपुरधामस्थित रसिक विहारी भगवान तेली कुटीको पर्खाल भत्काइएपछि सो जातीका अगुवाहरु आक्रोशित भएका छन् । जातिका अगुवाहरु पत्रकार यादवको घर घेराउ गर्दै पत्थरवाजी र नारावाजी गरेका छन् । मिडियाको आडमा आफुहरुको एतिहासिक जातीय कुट्टिको जमिन कब्जा गर्न लागेको आरोप उनीहरुको छ ।
यता सम्पादक यादवले घरमा आएर हुलहुज्जत र पत्थरवाजी गरेको प्रति दुःख व्यक्त गर्दै आफुले कुनै डोजर नचलाएको र पर्खाल नभत्काएको दाबी गरेका छन् । उनले नक्सा अनुसार कुट्टीको देखिएको २ कठ्ठा ११ धुर जमिन यदि अपुग रहेको खण्डमा स्वयम आफनो जमिनवाट दिन तयार रहेको भन्दै भने, ‘यदि मेरो जमिन कम भइरहेको छ र कुट्टीको जमिनभन्दा बढि अतिरिक्त जमिन त्यहाँ छ भने त्यो मेरो हुन्छ नी ?’ उनले आफुसंग एक कठ्ठा जमिनको लालपुर्जा, भवनको नक्सा र नापीमा कित्ताकाट सहितका सवै प्रमाणहरु रहेको बताए । तर आफुले रातारात पर्खाल भत्काएको आरोप भने उनले अस्वीकार गरेका छन् ।
बाह्र विगहा नजिक तथा जानकी हेल्थ केयरको छेउमा रहेको तेली कुटीमाथि राति करिब ११ बजेतिर डोजर चलाएर कुटीको पर्खाल भत्काएको समाजका सत्यनारायण साहले जानकारी दिएका छन् । लकडाउनमै गुठीको जग्गामा बाटो पनि काटिएको र राति पर्खाल भत्काइएको आरोप तेली युवा समाजका अध्यक्ष राजु साहको रहेको छ ।
यसअघिपनि सोही जमिनलाई लिएर पत्रकार यादवको सांसद कौशलकुमार यादवसँग विवाद भएको थियो । सांसद यादवले पनि पत्रकार यादवले योग शिविरको पर्खाल भत्काएको आरोप लगाएका थिए ।