संखुवासभा । संखुवासभा जिल्लामा एक साता निषेधाज्ञा जारी गरिएको छ । शुक्रबार बसेको जिल्लास्तरीय कोभिड १९ जोखिम व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आर्चायले जानकारी दिए ।
शुक्रबार राति १२ बजेपछि भदौ १८ गतेसम्म पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । कोभिड–१९ जोखिम व्यवस्थापन समितिले ७ दिन निषेधाज्ञा जारी गरेको हो । संखुवासभामा पछिल्लो समय जिल्ला प्रहरी कार्यालयका प्रहरीमा समेत कोरोना संक्रमित बढ्न थालेपछि गत भदौ २ गते देखि १२ गतेसम्म लक डाउन समेत गरेको थियो ।
निषेधाज्ञामा सवारी साधन र बजार बन्दका साथै अत्यावश्यकबाहेक हिँडडुल बन्द गरिने छ । अत्यावश्यक सेवाका सवारी साधन भने चल्नेछन् । सरकारी कार्यालय, सार्वजनिक संस्थाहरु सकभर विद्युतीय माध्यामबाट गर्न प्रशासनले आग्रह गरेको छ । साप्ताहिक हाटबजार पनि पूर्णरुपमा बन्द गरिएको छ । बैठकले जिल्लामा हुने सम्पूर्ण भेला, सभा, जुलुस, गोष्ठी, तालिम सेमिनारमाथि प्रतिबन्ध लगाएको छ भने दैनिक हुने नित्य पूजा बाहेकका सम्पुर्ण धार्मिक कार्यमा नगर्न भनेको छ ।
शुक्रबार संखुवासभाको जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको ३३ वर्षीया महिला र २८ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । संक्रमित थपिएपछि कोभिड–१९जोेखिम व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो । जिल्लामा कोरोना संक्रमितको सम्पर्कमा आएकाको पहिचान गरी परीक्षण गर्ने काम भइरहेकाले समुदाय स्तरमा नफैलिओस् भनेर निषेधाज्ञा जारी गरिएको प्रजिअ आर्चायले बताए । संखुवासभामा हालसम्म १५ जना कोरोना संक्रमित देखिएका छन् । जसमध्ये ५ जना निको भएर घर फर्किसकेका छन् । भने ८ जनाको हिमाल पब्लिक किरण क्याम्पसको आइसोलेसनमा उपचार भइरहेको छ ।