स्याल र चिलकाे मित्रतापछि सुरु भएकाे थियाे जितिया

जनकपुरधाम । मिथिलाञ्चलको प्रमुख पर्व जितियाको दोस्रो दिन विहानै दही च्युरा खाने चलन रहेको छ । विहान पौने ४ बजे घरका सबै सदस्य एकठाउँ बसेर च्यूरा, दही, चिनी, अचार, केरा राखेर खाए । बिहान कागको आबाज आउनुभन्दा पहिला नै यसरी खाने चलन रहेको छ । त्यसकारण ४ बजेसम्म खाईहाल्नुपर्छ रातीनै आमाले निर्देशन दिनु भएको थियो । निर्देशनको पालना गरेँ ।

च्यूरा दही खाइसकेपछि घरको भित्तामा अडेस लगाएर पानी खाने चलन रहेको छ । यसरी खानुलाई मिथिलाञ्चलमा ओगंठन भनिन्छ । सो परम्परा पनि निर्वाह गरियो । मिठो खान पाइने भएकाले हामी सानो हुँदा यो पर्व आउनुभन्दा एकसाता अघिदेखिनै हामी प्रतिक्षा गर्ने गथ्र्यो । आज छोराले पनि खानेबेलामा भन्दै थियो । ‘हामी पनि यहि दिनको प्रतिक्षामा थियौं ।’

ब्रतको परम्परा

जनकपुरधाम ४ की महिमा देवी जितियाको ब्रत बसेकी छिन । बुधवार राती १० बजेदेखि उनको ब्रत सुरु भएको छ । ‘हामीले यो ब्रतको क्रममा पानी पनि खाँदैनौं ।’ उनले भनिन् ।

मिथिलाञ्चलका महिलाहरुको प्रमुख पर्व जितिया बुधवारवाट सुरु भएको छ । पुत्रको दीर्घायुका लागि यो पर्वमा महिलाहरु अष्टमी तिथिभरी व्रत बस्ने गर्छन् । आमाहरूले आफ्नो जिवित पुत्रहरूका लागि व्रत बस्ने गर्दछन् । महिलाहरु ‘निर्जला’ अर्थात पानी समेत सेवन नगरिकन २४ घण्टासम्म भगवान ‘जीतमहान गोँसाई’को पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ ।

‘भन्नका लागि अष्टमीभरि मात्रै ब्रत भन्ने गर्छन तर बुधवार राती १० बजेदेखि सुरु भएको ब्रतको पारण शुक्रवार मात्रै हुनेछ ।’ जनकपुरधाम १० की रञ्जु कर्णले वताइन् ।

खोलाको पश्चिमी किनारामा वलुहटा नाम गरेको एउटा मरुभुमी पनि थियो, त्यहि किनारमा एउटा पाखैरको रुख थियो जसमा पोथी चील चरा बस्थि । जसको रुखमुनी पोथी स्यालको वास थियो । उनिहरु दुवै साथीसाथी थिए

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ । सांस्कृतिविद डा. भोगेन्द्र झाले यो पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्ने बताए ।

जनकपुरधामको प्रमुख तलाउहरुमा महिलाहरुले बुधवार नुहाई जितवाहन भगवानको पुजा गरेका थिए । व्रत बस्नुअघि बुधवार महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

‘यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छ ।’ सांस्कृतिविद् पूनम झा मैथिलीले वताइन । पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् । मिथिलाञ्चलमा पहिलो दिन माछा र कोदोको रोटी खाने चलन रहेको छ । व्रतको क्रममा महिलाहरुले स्याल र चिलको कथा सुन्ने पनि गर्छन् ।

भविष्य पुराणमा वर्णन गरे अनुसार शालिवाहन राजाको पुत्र जिमूतवाहन थिए । उनीमाथि महादेवको असीम कृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायू हुने वरदान भगवानबाट प्राप्त गरेका थिए । तिनै भगवानले पुत्रको रक्षा गरून भनी मिथिलामा जितिया श्रद्धापूर्वक मनाइन्छ । यो पर्वमा आमाले पुत्रको आरोग्य र संमृद्धिको लागि ब्रत बस्ने र पूजा गर्ने परम्परा छ । पुत्रहीन आमाहरूले पुत्र प्राप्तिको लागि पूजा गर्दछन् ।

करिव चालिस वर्षदेखि लगातर पूजा गर्दै आएकी जानकी देवीले भनिन् ‘हाम्रो लागि यो महत्वपूर्ण पर्व हो । यसो गर्दा छोराहरु दीघार्यू हुने गर्छन ।’

पहिलो दिनको तिथिलाई महिलाहरुले नहायखाए भन्ने गर्छन । नहाए खाएको अर्थ हुन्छ चाखो हुनु । यस दिन व्रतार्थी स्नानादी गरी पवित्र भई घिरौँलाको पातमा तोरी वा सर्स्युको तेल र पिना (खरी) चढाएर जिमुतवाहन देवताको पूजा गर्दछन, जसलाई तेलखरी भनिन्छ । यो तेलखरी प्रसादस्वरूप घरका सबैले टाउकामा लगाउने गर्दछन् ।

सप्तमी तिथिकै दिन दिवङ्गत भएका महिलाप्रति श्रद्धास्वरूप नैवेद्य अर्पण गरी महिलालाई निम्तो दिएर भोज गर्ने चलन पनि रहेको छ, जसलाई पितराइन भनिन्छ । संस्कृतमा ‘जिवित पुत्रिका’, हिन्दीमा जियतिया र मैथिल महिलाहरू ‘जितिया’लाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् र यसलाई जिवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अश्विनको (अष्ठमी तिथीको कृष्ण पक्ष)को दिन मनाइन्छ । यो पर्व खासगरि यसैदिन सधवाले कोदो (मरूवा) रोटी र माछा खाने परम्परा रहेको छ । शाहाकारी हुनेले गम्हरी (कोसा भित्रै फल्ने धान) को खीर वा भात पनि खाने चलन छ ।

जितियाको कथा

एकादेशमा नर्मदा नदीको किनारमा कञ्चनवती नाम गरेको एउटा गाउँ थियो र उक्त ठाउँमा राजा मलायकेतुले राज्य गर्दथे । खोलाको पश्चिमी किनारामा वलुहटा नाम गरेको एउटा मरुभुमी पनि थियो, त्यहि किनारमा एउटा पाखैरको रुख थियो जसमा पोथी चील चरा बस्थि । जसको रुखमुनी पोथी स्यालको वास थियो । उनिहरु दुवै साथीसाथी भए र एकदिन गाउँका अरु महिलाहरुले जस्तै उनिहरुले पनि भगवान जीतवाहन गोँसाईको निर्जल व्रत बस्ने निर्णय गरे तर संयोगवश त्यसै दिन उनीहरु बस्ने मरुभुमीको छेउस्थित शहरको धनी ब्यापारीको मरेको छोरालाई ल्याएर जलाउन आउँछन, पानी अत्यधिक परेका कारण मलामी आएकाहरु लासलाई त्यतिकै छोडेर हिडेका थिए । चीलले अरु महिलाहरुझैं ब्रत कायम राखेपनि स्याल भने गाडेको लाशको मासु सेवनगर्ने तिव्र इच्छालाई दबाउन नसकेर व्रत तोड्न पुग्दछे । अर्को जन्ममा यी दुवै चील र स्याल एउटै घरमा अनि व्राह्मण परिवारमा दिदी–बहिनीका रुपमा जन्मिन्छिन् ।

चील अब शिलवती नामकी व्राह्मण कन्याको रुपमा र उनकी वहिनी अर्थात स्यालको यस जन्ममा कपुरवती हुन्छे । शिलवतीको बुद्धिसेन भन्ने व्यक्तिसंग अनि वहिनी कपुरवतीको विवाह राजा मलायकेतुसंग हुन्छ । शिलवतीको सात जना सुन्दर पुत्रहरु हुन्छन् भने कपुरवतीको पुत्रको मृत्यु भएकाले उनि एकदमै दुखी र निरास हुन्छिन् । शिलवतीका छोराहरुले राजा मलायाकेतुकोमा काम गर्न थाल्दछन् र ती केटाहरु आफ्नी दिदीका पुत्रहरु भएको थाहा पाएपछि पूर्वजन्मकी स्याल अनि यो जन्मकि शिलवतीकी बहिनी कपुरवती रिसले चुरचुर हुन्छिन् ।

राजालाई भनेर ती सातैजना शिलवतीका पुत्रहरुको हत्या गर्न लगाई तिनको टाउकालाई रातो कपडामा बेरेर दिदीकोमा पठाउने षडयन्त्र गर्द्छिन् । तर यो कुरा भगवान जीतमहान गोँसाईले थाहा पाएपछि सातै छोरालाई बचाउछन् र ती सातैजना पुत्रहरुलाई अमृत दिएर अमर बनाउँदै उनिहरुको टाउकोको साटो माटोको टाउको रातो कपडामा बेरिन्छ । यसरी रातो कपडाले बेरीएको भाँडो शिलवतीको घरमा पुग्दा टाउकाको साटो फलफुलले भरिपूर्ण उपहारको रूपमा परिरणत हुन्छ ।

यता हत्याको योजना बुन्ने बहिनी कपुरवती आफ्नी दिदीको घरमा अब छोराहरुको मृत्यु र टाउको मात्रको आगमनले त्रसित, भयवित अनि रुवावासी भइरहेको होला भनि एकजना सेविकालाई बुझ्न पठाउँछिन तर शिलवतीको घरमा हर्ष उल्लास र खुशियाली छाएको सन्देशयूक्त खबर उनीहरूले ल्याएपछि राजा मलायकेतु अर्थात कपुरवतीका पतिले पक्कै पनि त्यो घरमा भगवानको कृपा छ भन्ने सोंच्दछन् ।

दिदीको खुशी सहन नसकि अव कपुरवती दिदीको घर पुग्दछिन् र आफूले सम्पूर्ण कुरा भन्दिन्छिन् । यसो भन्दै गर्दा शिलवतीलाई पूर्वजन्मको कुरा याद आँउछ जहाँ उनले चीलको रुपमा भएपनि भगवान जीतमवाहन गोँसाईको व्रत बसेकी थिइन् यो प्रसंग शिलवतीले बहिनीलाई भन्दछिन् र यो सुनेर बहिनी कपुरवति बेहोस हुन्छिन् । लगत्तै उनको मृत्यु हुन्छ । यसै बेलादेखि भगवान जीतमहान गोँसाईको श्रद्दापूर्वक ढंगले आमाहरुले छोराछोरीको रक्षकालागि जितिया पर्वमा व्रतको परम्परा थालेको मान्यता रहिआएको छ ।

विशेषत तराई र अन्य स्थान लगायत भारत अनि संसारका धेरै देशमा वैदिक सनातन हिन्दु रित अनुसार आज जितियाको व्रत लिइन्छ । यो व्रत कुनै धनधान्य अनि ऐश्वर्यकालागि नभई नितान्त मातृस्नेह र मातृवात्सल्यको एउटा अद्भूत उदाहरण रहेको समाजशास्त्री महारुद्र झाले वताए ।

खानेकुराको स्वाद त समय अनि भान्छा अनुसार परिवर्तन हुनसक्ला तर एउटी आमाको आफ्नो सन्तानप्रतिको माया सदियौंदेखि उत्तिकै पवित्र अनि मातृमिठासले भरिपूर्ण छ यो पर्वको सन्देश रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 494 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुन तस्करी प्रकरणः महरा पक्राउ, अरू मुद्दामा छानबिन के हुन्छ ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा महानगर मतगणना : समाजवादीका उम्मेदवारको मत ३ हजार बढी