लमजुङ । लमजुङमा रहेका प्रायः गुरुङ गाउँमा सरकारको ऐन कानुन भन्दा आफैद्वारा निर्मित कानुन पालना गर्ने प्रचलन वर्षौंदेखि चलिआएको छ । त्यसका लागि गाउँलेहरूले भेलाले हरेक वर्ष भदौ महिनामा वर्षदिनभरका लागि नियम बनाउने गर्दछन् । त्यसरी निमय बनाउन बस्ने गाउँलेको भेलालाई ‘भदौ सभा’ भन्ने गरिन्छ ।
गाउँका लागि बर्षभरका लागि आवश्यक पर्ने न्यायनिसाफदेखि भारोपर्म अर्थात कामदारको दैनिक ज्याला तोकिनुका साथै गाउँमा उत्पादन हुने घ्यूँ, मह र चोया तथा उनबाट बनेका हस्तकलाका सामग्रीको मूल्य पनि निर्धारण गरिन्छ । साथै, अन्न अनाजको मूल्य तोक्ने लगायतका सबै काम गर्दछ भदौसभाले । यस्तो कानुनको विरुद्धका काम गरेको पाइए गाउँले कानुनअनुसार जरिवाना तिर्नुपर्छ । त्यसका लागि पालैपालो आउँदै खुकुरीको धार र ताउलो समातेर कसम खाने गर्दछन् । स्थानीय भाषामा कसम खाने कार्यलाई ‘धर्म समात्ने’ भनिन्छ । कसम खाने बेलामा गाउँले अर्थात भदौसभाका भलाद्मी बीचमा तामाको ताउलो राखिन्छ र त्यसको बीचमा भित्र पाती र खुकुरी राखिएको हुन्छ ।
सभाले वर्षभरिका लागि मानापाथी र सेरधार्नीको भाउ कायम गर्छ । गाउँले सामग्रीको मूल्य निर्धारणसमेत गर्छ । सभाले बनाएको नीतिनियम गाउँलेहरूले अनिवार्य मान्नुपर्ने हुन्छ
कोभिड– १९ का कारणले गर्दा विगतका वर्षमा तीन दिनमा सम्पन्न गर्ने सभा यो वर्ष ५ दिन तोकिएको छ । दिनभरि गरिने सभालाई यस वर्ष कोरोना संक्रमणको जोखिमका बीच दैनिक ३ देखि ४ घण्टा मात्रै बस्ने गरेको छ । सभामा गाउँका अगुवा सबै मास्क लगाएर दुरी कायम गरी बसेर छलफलमा जुटेका छन् । क्व्होलासोंथर गाउँपालिका– ४, भुजुङमा बिहीबारदेखि शुरु भएको भदौसभा सोमबारसम्म चल्ने भएको छ । उक्त सभामा विगतका वर्षहरूमा गाउँहरूले सबै जम्मा हुन्थे । यस वर्ष टोल छुट्ट्याएर सहभागी गराइएको वडाध्यक्ष खिमबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार साविकका वडा नं. १ र २ बिहीबार, ३ र ४ शुक्रबार सकिएको छ । शनिबार ५ र ६ सभा भइरहेको छ । यसैगरी, आइतबार ७ र ८ र सोमबार वडा नं ९ का स्थानीयको सहभागितामा सभा गर्ने कार्यतालिका छ । साबिक भुजुङ गाविसका तत्कालीन अध्यक्ष नारायणबहादुर गुरुङले सबै गाउँलेको सहभागितामा कानुन र नीतिनियम बनाउने गरेको बताए । उनी भन्छन् ‘संविधानअनुसारको नियम–कानुनसँग बाझ्ने गरेर हाम्रो कानुन बन्दैन, व्यावहारिक पक्षलाई ध्यान दिने गर्दछौं,’ ।
गाउँका बुद्धिजीवी घेरा हालेर बसेका छन् । सबैको मुख छोपिएको छ । आफू र आफ्ना परिवारले कसैको हानि–नोक्सानी नपु-याएको, आफूले पालेका बस्तुभाउले अरूको खेतीबाली नखाएको, चोरीडकैती जस्ता अनैतिक काममा संलग्न नभएको, गाउँलेहरूले बन्देज लगाएको ठाउँमा आफू नगएको भन्दै स्थानीयले कसम खाने चलन छ । त्यही भदौसभा नामको सो प्रचलन वर्षौंदेखि भुजुङ गाउँमा चलिरहेको छ ।
मकैबाली थन्क्याएर धानकोदो गोडिसके पछिको फुर्सदको समयमा भदौसभा बस्ने प्रचलन रहेको गाउँको रीतिथिति व्यवस्थापन समितिका अध्यक्ष कालबहादुर गुरुङले बताए । उनका अनुसार सभाले वर्षभरिका लागि मानापाथी र सेरधार्नीको भाउ कायम गर्छ । गाउँले सामग्रीको मूल्य निर्धारणसमेत गर्छ । सभाले बनाएको नीतिनियम गाउँलेहरूले अनिवार्य मान्नुपर्ने हुन्छ । यदि त्यस्तो नियमलाई संशोधन गर्नुपरे बुद्धिजीवीको भेला डाकेर निर्णय लिनुपर्ने हुन्छ ।
गुरुङको आदिम थलो क्व्होलासोंथरबाट छरिएकाहरू १ हजार २ सय वर्षअघि भुजुङ आएको मानिन्छ । गाउँको रीतिथिति व्यवस्थापन समितिका अध्यक्ष कालबहादुर गुरुङका अनुसार वर्षमा एकपटक गाउँले मिलेर नीतिनियम बनाउने चलन क्व्होलासोंथरमै थियो । उनले भने ‘हाम्रा पुर्खाले जब भुजुङ गाउँ स्थापना गरे, ६० कुरिया बसाए । त्यही बेलादेखि यो सभा हुँदै आएको छ । पुस्ता हस्तान्तरण हुँदै आएको छ,’ ।







