आज सहर सुनसान छ
र म भौतारिरहेको छु
मान्छेहरूको खोजीमा ।
त्यही चोकको चियापसल हो
बिहान सयौं मान्छे जमघट हुने
देशको गफ हुन्थ्यो
विदेशको गफ हुन्थ्यो
राजधानी र सिंहदरबारको गफ हुन्थ्यो ।
खोई ? त आज
न चियापसले छ
न कुनै मान्छे नै छन्् चोकमा
सुनसान सुनसान छ सहर पनि
सबै–सबैतिर शून्य राखेर
कता गएछन््, सहरका मान्छेहरू ?
गल्लीगल्ली खोजें
चोकचोक भौतारिएँ
पसलमा गएँ
क्लबमा गएँ
पार्टी प्यालेसमा गएँ
अफिसमा गएँ
कोही भेटदिनँ, जहाँ गए पनि
सबै खालीखाली छ ।
खोक्रो, शून्य, खण्डहर
खाली सहरमात्र देख्छु
एक्लै हिँडिरहेछु म
किन नामोनिशान छैन, मान्छेहरूको ?
पर क्षितिजसम्म हेर्छु
डाँडा देखिन्छ
निलो आकाश देखिन्छ
पहाड देखिन्छन््
तर, मान्छे देखिदैनन्
हिजोसम्म त सबै यही थिए
आज एक्कासी के भएछ ?
एकजनासम्म मान्छे देख्दिनँ
जाउँ पनि नभनेर
जान्छु पनि नभनेर
मलाई एक्लै छाडी
सबका सब हुल बाँधेर
हैन कता हराए, सहरका मान्छेहरू ?
म आफैं मरे कि भनेर
आफैंलाई जाँच्छु
मुटुको धड्कन ठीक छ
नाडीको चाल ठीक छ
दिमाग चलेकै छ
यसो हातमा चिमोट्छु
च्वास्स दुख्छ
मरेछु पनि कसरी भन्नु ?
आँखा फुट्यो कि भनौं
पर परसम्म
कमिला हिँडेको पनि देख्छन््
यिनै नांगो आँखाले
तर एकजना पनि मान्छे देख्दैनन्
एक्कासी सहरबाटै हराउनुपर्ने
खै के भयो, सहरका मान्छेहरूलाई ?
के आपतमा परे त मान्छेहरू,
हुरी चल्यो भनौं
बगैंचाको फुल सग्लै छ
आगो लाग्यो भनौं
न धुवाँ छ, न डँडेलो देखिन्छ
बाढी आयो भनौं
बगर छैन, पानीको निशाना छैन
घर ढल्यो भनौं
ठिंग उभिएको छ
कालभैरवको मूर्तिजस्तै
महामारी भनौं
न टाउको दुख्छ, न पेट दुख्छ
तैपनि के भयो ?
सारा सहर नै रित्तो पारेर
कहाँ गए त सहरका मान्छेहरू ?
केही मान्छेहरू भेला पारेर
भावी योजना सुनाउनुथियो
केही सपना सुनाउनुथियो
उनीहरूका कुरा सुन्नुथियो
विकास र देशभक्तिको
बहस चलाउनुथियो
खुसी बाँड्नुथियो
दुःख साट्नुथियो
खै कसलाई सुनाउनु ?
न सुन्ने छन््
न सुनाउने छन््
रित्तोरित्तो छन्् हलमा कुर्सीहरू
आज किन आएनन् होला त
सधैं सहरमा भेटिरहने मान्छेहरू ?
के छ भनेर ?
सोध्ने नि कोही छैन
बस, म आउँछु नि कोही भन्दैन
क्षितिज हेरेर, आकाश हेरेर
जुन हेरेर, तारा गनेर
म सहर सम्हालिरहेछु
भोलि मान्छेहरू फर्कंने आशामा
तैपनि एउटा प्रश्न दिमागमा आइरहन्छ
मलाई एक्लैएक्लै छोडेर
हैन, यी मान्छेहरू कहाँ गए त ?
(कवि नेपाल सरकारका सहसचिव हुन् ।)







