काठमाडौं । एसियन पेन्ट्सद्वारा आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१९÷२० का विजेताको घोषणा गरिएको छ । नेपाल आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१९–२० को सुरुवात गत २०७६ माघ ७ गते नेपालका आर्किटेक्चरल कलेजमा अध्ययन गरेका २०७२ समूहका ३६ जना विद्यार्थीको सहभागिताबाट गरिएको थियो ।
उनीहरूलाई दिइएको परियोजना ललितपुर महानगरपालिकाको नगर कार्यालय भवनब्लक बि डिजाइन गरिएको थियो । यसरी प्रस्तुत परिकल्पनामध्ये उत्कृष्ट ठहर भएका पाँच जना विजेताको घोषणा यही २०७७ भाद्र २१ गते ललितपुर महानगरपालिकाको नगर कार्यालय भवनमा आयोजना गरिएको एक कार्यक्रमबीच एसियन पेन्ट्स र ललितपुर महानगरपालिकाका प्रतिनिधिको प्रत्यक्ष उपस्थितिमा तथा विद्यार्थी र प्राध्यापकको जुम एपमार्फत भएकोे थियो ।
प्रतियोगिताको विजेता आईओई पूर्वाञ्चल क्याम्पस शुभम् कार्की भएका थिए । उनले पुरस्कारस्वरूप एसियन पेन्ट्स तर्फबाट ७० हजार र लपु महानगरपालिका तर्फबाट २५ हजार नगद पुरस्कार हासिल गरे ।
यसैगरी, आईओई थापाथली क्याम्पसकी सुनिता गुरुङ द्वितीय भइन् उनले द्वितीय पुरस्कारबापत एसियन पेन्ट्सको तर्फबाट ४० हजार र ललितपुर महानगरपालिकाको तर्फबाट २० हजार नगद पुरस्कार प्राप्त गरिन् ।
प्रतियोगिताको तृतीय पुरस्कार आईओई थापाथली क्याम्पसका प्रवासा बज्राचार्यलाई प्रदान गरिएको थियो र उनले पुरस्कारबापत एसियन पेन्ट्सका तर्फबाट ३० हजार र महानगरपालिकाको तर्फबाट १५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।
साथै सान्त्वना पुरस्कार विजेता दुई जना आईओई थापाथली क्याम्पसका दिप्गेस्ट कटुवाल र आईओई पुल्चोक क्याम्पसका विवेक हिमालयले पुरस्कारबापत एसियन पेन्ट्स र महानगरपालिकाको तर्फबाट १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । र अन्य १० सहभागी विद्यार्थीलाई ललितपुर महानगरपालिकाले ५÷५ हजार रुपैयाँ नगद प्रदान गर्नेछ ।
प्रतियोगितामा एक्मे इन्जिनियरिङ कलेज, आईओई पुल्चोक क्याम्पस, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, हिमालयन कलेज अफ इन्जिनियरिङ, ख्वप इन्जिनियरिङ कलेज, आईओई थापाथली क्याम्पस र आईओई पूर्वाञ्चल क्याम्पसका विद्यार्थीको सहभागिता रहेको थियो ।






