काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्र केन्द्रीय समिति गठनमा विवाद भएको छ । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच पार्टी एकीकरण भएको पाँच महिना पुगे पनि विवादकै कारण केन्द्रीय समिति गठन हुन सकेको छैन् ।
जसपा बिधानमा सात सय एक सदस्यीय केन्द्रीय समिति बनाउँने उल्लेख गरिएको छ । जसमा समाजवादीको तर्फबाट तीन सय ५० र राजपाबाट तीन सय ५० सदस्य रहने सहमती दुई पार्टीका बीचमा भएको छ ।
तर तत्कालिन राजपाभित्र तिब्र विवाद रहेको छ । विवादकै कारण दुई वटा नामावली तयारी भईरहेको जसपा स्रोतको दावी छ । बबरमहल स्थित राजपाको कार्यालयमा बसेको शिर्ष नेताहरुको बीचमा सहमती हुन नसक्दा दुई वटा नामावली तयारी भईरहेको छ ।
तत्कालिन राजपा नेपालको तर्फबाट केन्द्रीय सदस्य चयन गर्नका लागि अध्यक्ष मण्डलमा रहेका महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव र राजकिशोर यादवको बैठक सोमबार बस्यो । तर चार नेताका बीचमा सहमती जुटनन सकेन् ।
जसपा स्रोतका अनुसार ठाकुर र महतोले आफूसंग एक सय आठ राखेर महेन्द्र र भण्डारीलाई ४०/४०, राजकिशोर र अनिललाई २७/२७ सदस्य दिने गरी भागबण्डा गर्ने प्रस्ताव गरेका छन् । यो प्रस्तावमा महेन्द्र, राजकिशोर र अनिलको असहमती छ ।
महेन्द्र, राजकिशो र अनिलले ठाकुर र महतोको कोटाबाट घटाएर अन्य चार नेताको कोटा बढाउँनुपर्ने प्रस्ताव गरेका छन् । ठाकुर र महतोको कोटाबाट घटाएर महेन्द्र र भण्डारीलाई ५२/५२, अनिल र राजकिशोरलाई ३८/३८ हुनुपर्ने प्रस्ताव असन्तुष्ट समुहले राखेका छन् ।
छलफलमा अनिल र भण्डारी सहभागि भएनन् । जसपा नेतृ एवं पत्नी डा. डिम्पल झाको उपचारका लागि अनिल नयाँ दिल्लीमा छन् । यस्तै भण्डारी बिरामी भएकाले घरमै आराम गरिरहेका छन् । भण्डारीले दुई मध्ये जुन प्रस्तावमा सहमती भए आफू त्यसैमा सन्तुष्ट रहेको बताउँदै आएका छन् । ठाकुर र महतोले आफूहरुको तत्कालिनन पार्टीको संगठन गाउँ गाउँ सम्म रहेकाले सोही अनुसार सदस्य संख्या अरु भन्दा बढी नै हुुनुपर्ने अडानमा छन् ।
दुई पार्टी एकीकरण पश्चात बनेको जसपा कार्यकारिणी समितिमा समेत ठाकुर र महतोले मनोमानी गरेको आरोप महेन्द्र, अनिल, राजकिशोरले लगाउँदै आएका छन् । जसपा अध्यक्ष समेत रहेका ठाकुर र वरिष्ठ नेता महतोले पुर्व सहमती अनुसार सदस्य संख्या आफूहरुका लागि नछुटयाएको आरोप लगाउँदै छुटै नामावली तयार गर्ने असन्तुष्ट नेताहरुले जनाएका छन् ।
तत्कालिन राजपाको केन्द्रीय सदस्य आठ सय ६१ थियो । तर अहिले उसले तीन सय ५० केन्द्रीय सदस्य छान्नुपर्ने भएकाले नेतृत्वलाई मिलाउँन सकस भएको छ । समाजवादीको केन्द्रीय सदस्य चार सय ३१ रहेको थियो । केही निष्कृय तथा केही दोहोरो जिम्मेवारीमा रहेकाले उसलाई केन्द्रीय सदस्य छान्न सजिलो छ ।
साउन अन्तिम साता सम्पन्न भएको जसपा कार्यकारिणी समितिको बैठकले जिम्मेवारी बाँडफाँड, पदाधिकारी चयन र नेताहरुको मर्यादाक्रम टुंगो लगाउँन पाँच सदस्यीय पदाधिकारीलाई सचिवालय निर्माण गर्दै जिम्मेवारी दिएको थियो ।
जसपामा अहिले अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादव र वरिष्ठ नेतात्रयमा अशोक राई, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो रहेका छन् । यही पाँच जना पदाधिकारी रहने गरी सचिवालय बनाईएको र आवश्यक गृहकार्य गरेर जिम्मेवारी बाँडफाँड, पदाधिकारी चयन तथा नेताहरुको वरियता टुंगो लगाउँन अधिकार दिएको हो ।
तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी बीच गत १० बैशाखमा रातारात पार्टी एकिरण गरेर जसपाको घोषणा भएको थियो । सचिवालय भित्रै अधिकारको बाँडफाँड बिषयलाई लिएर विवाद हुदै आएको छ ।







