देशीय तथा अन्तरदेशीय सीमा सुरक्षामा कडाइ गर्दै गइरहेका बेला सीमा सुरक्षामा अहोरात्र खट्ने प्रहरी सुरक्षाकर्मीका लागि गाँस, बास र कपासको उचित व्यवस्थापन हुन नसकिरहेको यथार्थता बाहिर आएको छ । विशेषगरी हिमाली जिल्लामा यस्तो समस्या आएको देखिन्छ । चिसो मौसमले नछाड्ने हिमाली जिल्लाका सीमा इलाकाहरूमा सुरक्षामा खटिएका प्रहरीका लागि आधारभूत आवश्यकताकै पनि राम्रो प्रबन्ध गरिएको छैन । बझाङ शैनगाउँस्थित सीमा प्रहरी चौकीमा कार्यरत प्रहरी खाद्यान्न नहुनुका कारण रातमा भोकभोकै सुत्नुपरेपछि अर्को दिन बिहानै चौकीनजिकै रहेको स्थानीयको घरमा खाद्यान्न पैंचो लिन जानुपर्ने अवस्था आउनु दुःखद छ । स्थानीयको मन थामिन सकेन र आफूहरूले खान ल्याएको चामल सुरक्षाकर्मी प्रहरीलाई पैंचो दिएका छन् । यसले एक÷दुई दिन त ट¥यो तर तेस्रो दिन फेरि पनि भोकभोकै रहनुप-यो । यो समस्या नियमित रूपमा खट्किरहेको छ । तर, सम्बन्धित निकायले त्यहाँ आपत्कालीन खाद्यान्न पनि पु-याएको छैन । यो समस्या उत्तरतिरका सीमा इलाकामा खट्ने सबै सुरक्षाकर्मीका लागि बराबर आइपरेको छ ।
यसबाट बुझ्न सकिन्छ कि साधन, स्रोत र पहुँच भएको सरकारी अड्डाका सुरक्षा कर्मचारीको त यो दुर्दशा छ भने स्थानीय जनताको के होला ? अैंचोपैंचोमा काम चलाउने पनि स्थानीय जनतासँग भएमा मात्र त हो । यदि स्थानीय जनतासँग पनि छैन भने जीवन गुजारा कसरी सम्भव होला ? त्यसमा पनि सीमा सुरक्षाजस्तो गम्भीर जिम्मेवारीको कुरा । सीमा क्षेत्रका गाउँहरू अत्यन्तै विकट छन् । त्यहाँ खाद्यान्न अत्यन्तै कम मात्रामा उब्जनी हुने भएकाले जीवन गुजारा निकै मुस्किल छ । घरमा बस्ने महिला र केटाकेटीबाहेक बलिया र वयस्क मानिस कमाइ गर्नका लागि विदेशतिर हान्निएका हुन्छन् । कतिपय अवस्थामा अन्नबालीको खेती समयमा गर्न नसकिने भएकाले पनि खाद्यान्न समस्या परिरहन्छ, यी ठाउँहरूमा । अहिले स्थानीय र प्रदेश सरकार पनि छ । संघीय सरकार त छँदै छ । तर पनि जनता तथा स्वयं कर्मचारीका लागि त्यहाँ केही पनि छैन, छ त केवल स्थानीय जनताको कोमल मन र सहयोगी हात मात्र । राज्य र सरकारको संस्थागत उपस्थिति यस्ता दुःख र कष्टका बेलामा त्यहाँ रहने गर्दैन ।
ठूलाबडाहरूलाई मतलबै छैन । उनीका लागि राज्यको उपस्थिति होइन, गरिनुपर्ने राज्यको उपस्थिति भए मात्र काफी छ । अहिले त प्रहरी संघीय सरकारको हो, स्थानीय र प्रदेशको होइन भनेर अन्तरविरोध पनि छ । यो अन्तरविरोधले रातदिन खट्ने सुरक्षाकर्मीलाई न घाटको, न त घरको बनाएको छ । स्थानीय तथा जिल्ला प्रशासन यसमा मौन छ । स्थानीय जनता र सुरक्षाकर्मीको गुनासो छ, प्रशासन समस्या बुझ्न र हल गर्न नै चाहदैन । हाल त्यहाँ न त विकल्प अघि सारिएको छ, न त व्यवस्थापनका लागि ताकेता नै गरिएको छ । हरेक वर्ष यस्तै हुने गर्दछ । हिउँदमा हिउँ पर्दा होस् वा वर्षामा बाढीपहिरोले सास्ती दिँदा, स्थानीय जनता र सुरक्षाकर्मी तथा अन्य कर्मचारी यस्तै भोकमरीले थिलथिलो परिरहेका हुन्छन् । यस्तो बेलामा ठूलाठालुका अनावश्यक भ्रमणका नाममा हेलिकोप्टर चार्टर गरिन्छ । तर, खाद्यान्न ढुवानीका लागि हेलिकोप्टर चार्टर गरिँदैन । बाटो राम्रो भएमा भेंडा र खच्चरबाट ढुवानी गरिएको खाद्यान्नले पुग्दैन । यसै कारण पनि हरेक वर्ष खाद्यान्न संकट निम्तिइरहन्छ । यही अवस्थालाई मनन गरी सीमा सुरक्षामा खटिएका र स्थानीय जनताका लागि हेलिकोप्टरबाट भए पनि नियमित रूपमा खाद्यान्नको व्यवस्थापन हुने प्रणालीको विकास गर्नुपर्छ ।