उदयपुरमा हजारौं बिगाह धानखेत बगरमा परिणत

उदयपुर । लगातार पाँच दिनदेखि भईरहेको अविरल वर्षाले उदयपुरका बिभिन्न ठाउँमा लगाइएको हजारौं बिगाह जमिनको धानखेतमा क्षति पु-याएको छ । लगातार परेको वर्षाले सदरमुकाम त्रियुगा नगरपालिकासँगै चौदण्डीगढी, कटारी र बेलका नगरपालिकाका फाँटिला र समथर जमिनका खेतबारी नष्ट पारेको छ भने पहाडी भेगमा पहिरो गएर स्थानीयलाई विस्थापित गर्ने खतरा बढेको छ ।

भारी वर्षापछि स्थानीय खोला खहरेमा आएको बाढीले कतै बाँध फुटाउने र कतै कटान डुबानले धान खेत क्षति गरेको स्थानीयले बताएका छन् । त्रियुगा नगरपालिका २ मा मात्र ३ हजार बिगाह भन्दा बढी धान खेतमा बाढीले क्षति पुगेको वडाध्यक्ष धु्रब खत्रीले जानकारी दिए । उनका अनुसार सनुवा सुकनाई खहरेको बाँध फुटेर खेतमा पस्दा ५० बिगाह खेतको धानबाली पुरेर नष्ट गरेको छ । बाँध फुटेर गाउँ पस्दा स्थानीय २० घरधुरी परिवारलाई विस्थापित गर्ने अवस्थामा पु¥याएको खत्रीले भने ।

लुहाले खोलाको पश्चिमतर्फ ३ सय बिगाह भन्दा बढी धानखेत बाढीले पुरेको छ भने बबिया खोलाको बाढीले वडा कार्यालय र त्यसको छेउमै रहेको खानेपानी ट्यांकीको भवन कटानको उच्च जोखिममा परेको वडाध्यक्ष खत्रीले भनाई छ । खत्रीका अनुसार २ नं. वडामा मात्र हजार बिगाह हाराहारी जमिनमा बाढीले कटान र डुबान गरेर क्षति पु¥याएको छ भने पसाउने बेला भएको धान बाली नष्ट गरेर किसानलाई मार्का पारेको छ । त्यहीँका बुर्खुया, बैरागी र लालभित्ती खहरेमा लगाइएको बाँध फुटाएर बाढी गाउँ पस्दा थप स्थानीय विस्थापित हुने खतरा बढेको छ ।

वर्षाले डराईडराई बसेका स्थानीयलाई खहरेको बाँध फुटेर गाउँ पसेपछि चिहिलबिहिल पारेको वडाध्यक्ष खत्रीले बताए । तत्काल नगरपालिका र जिल्ला विपत व्यवस्थापन समितिमा खबर गरेर उद्धारको अनुरोध गरे पनि केही सहयोग नपाएको वडाध्यक्ष खत्रीको गुनासो छ । नगरपालिका र प्रशासनले तत्काल घट्नास्थलको अनुगमन गरेर क्षतिको विवरण यकिन गरी आवश्यक राहत र कटान रोकथामका लागि बाँध निर्माण कार्य थाल्न आग्रह गरेका छन् । उनका अनुसार नगरपालिकाबाट उद्धार र क्षतिपूर्ति गर्न नसक्ने भएकाले प्रदेश र संघीय सरकारले पनि घट्नालाई प्राथमिक्ता दिएर तत्काल रोकथामको पहल गर्न आग्रह गरे ।

तत्काल रोकथामको प्रयास नगरे खैजनपुर, सनुवा सुकनाई, मिलनचोक लगायत वडाका आधा दर्जन बढी टोल बस्ती कटान र डुबानको उच्च जोखिममा रहेको उनको भनाई छ । ती बस्तीमा झण्डै डेढ सय बढी घरधुरीलाई बाढीले विस्थापित गर्ने खतरा रहेको खत्रीको भनाई छ । उता चौदण्डीगढीका लामा खोला, काली र द्वार खोलाले बिभिन्न वडामा डुबान र कटान गर्दै धानबालीमा क्षति गरेको स्थानीयले बताएका छन् । निरन्तर वर्षाले डुबान गर्दा होचो र तल्लो भेगका खेतमा लगाइएको सयौं बिगाहा क्षेत्रफलको खेत पुरिदा धानबाली नष्ट भएकोमा किसानलाई भोकै पर्ने चिन्ता बढेको स्थानीय मानबहादुर मगरले बताए । उनका अनुसार बाढीले धान खेत पुरेपछि आउदो वर्ष खाने अन्नको आस मरेको छ ।

कटारीका बैजनाथ, तावा, ककरु र कमला नदीमा आएको बाढीले उस्तै वितण्डा मच्चाएको खवर आएको छ । कटारी बजारसँग जोडिएको बैजनाथ र तावा खोला किनार आसपासका खेतबारीमा बाढी पस्नुका साथै खोला छेउछाउका बस्तीबासीलाई विस्थापित गर्ने खतरा बढेको छ

बेलकाका सिशुवा, गिनेरी, सेती र काली खोला तथा बिभिन्न खहरेमा आएको बाढीले त्यस्तै क्षति गरेको स्थानीय बताउँछन्। खासगरी होचा ठाउँ र खोला किनारका खेत कटान र डुबानमा पर्दा धानबाली नष्ट भएको स्थानीय जनक राईले बताए। उनका अनुसार फाँटका खोला खहरेमा बाढी आउन थालेपछि निरन्तर कटान हुँदै जाने भएकाले तत्काल कटान रोक्ने उपाय अपनाउन स्थानीयले नगरपालिका र विपत व्यवस्थापन समितिसँग आग्रह गरेका छन् ।

उता कटारीका बैजनाथ, तावा, ककरु र कमला नदीमा आएको बाढीले उस्तै वितण्डा मच्चाएको खवर आएको छ । कटारी बजारसँग जोडिएको बैजनाथ र तावा खोला किनार आसपासका खेतबारीमा बाढी पस्नुका साथै खोला छेउछाउका बस्तीबासीलाई विस्थापित गर्ने खतरा बढेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी हेमन्त भण्डारीले जानकारी दिए । निरन्तर वर्षाले बाढी र कटानको खतरा बढेपछि प्रहरी र सशस्त्रलाई परिचालन गरेर उद्धारका लागि खट्दै आएको भण्डारीले बताए ।

यता पहाडी गाउँपालिका रौतामाई गाउँपालिका– ७ को पुवारे डहर खड्काबारीमा पहिरो जान थालेपछि दर्जन घरधुरी दलित परिवार जोखिममा परेका छन् । अबिरल वर्षापछि खड्काबारीको वरिपरि लगातार पहिरो खस्न थालेपछि गाउँका ११ घरधुरी दलित परिवार जोखिमा परेको स्थानीयबासी टेकराज रिखामले बताए । पहिरोले घेर्न थालेपछि गाउँले सबै घर छाडेर सुरक्षित हुन आफन्त र छिमेकीकोमा सरण लिन पुगेको उनले बताए ।

पहिरोले बारी पुरेपछि बालीनालीमा क्षति पुगेको छ भने पशु चौपायाका खोर भत्काएको छ । पहिरो खस्दा पुवारेदेखि चौतारी भन्ज्याङ–रौता सडक समेत भत्काउनुका साथै पुरेर क्षति पुगेको अर्का स्थानीय घमान मगरले बताए । उनका अनुसार पहिरोबाट बँच्न वडा कार्यालयमार्फत गाउँपालिका र प्रशासन समक्ष स्थानीयले गुहार मागेका छन् । वडाध्यक्ष नेत्रबहादुर मगरले गाउँलेलाई जोखिमबाट बँचाउन तत्काल सुरक्षित हुन अनुरोध गर्दै पहिरो रोकथामको प्रयास गर्न गाउँपालिका समक्ष आग्रह गरिएको बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ