बाजुरा । बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ कवाडीमा गएराति परेको अबिरल बर्षाका कारण आएको बाढीले बगाएर ३ जना बेपत्ता छन् भने तीन घर बगाएको छ । अबिरल बर्षासंगै सुप खोलामा बाढी आउँदा उक्त घटना भएको कुरा बिच्छ्याँ प्रहरी चौकीले बताएको छ ।
सदरमुकामदेखि दुई दिनको पैदल दुरीमा रहेको उक्त गाउँमा संचारको कुनै साधान नभएका कारण जानकारी आउन ढिलो भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रबक्ता तथा प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले भने, ‘माछा मार्न खोलामा गएका ३ जना मान्छे सम्र्पकमा आएका छैनन् । बिच्छ्याँ प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा खटिएको छ । क्षतिको बिबरण आउन बाँकी रहेका छ ।’
बाढीकै कारण खोला नजिकै रहेका ३ वटा आधुनिक, ४ वटा परम्परागत घट्ट र ३ वटा काठेपुल पनि बगाएको छ । खोलामा आएको बाढीले स्थानीयका १० वटा घर र ५ वटा छानासहित पाक्न लागेको धानबाली र कोदो समेत बगाएको प्रहरीले जनाएको छ ।
यस बर्षको बर्षलले क्षदबिक्षद भएको बाजुरा अहिले पनि पहिरोले क्षति पुगाएका कारण तंग्रन पाएको छैन । बाढी र पहिरोका घटना एकपछि अर्को थपिँदा झन पिडामाथि पिडा थपिरहेको छ । जिल्लामा बाढीले हालसम्म सात जनाको मृत्यु, तीन बेपत्ता, ६३ घर पुर्णरुपमा क्षति, पाँच वटा उद्योग बगाएको छ भने चार सय ३५ जनसंख्या बिस्तापित भएको छ ।






