आङरिता शेर्पालाई राजा बिरेन्द्रले भनेका थिए ‘तपाईका लागि दरवारको ढोका सँधै खुल्ला हुनेछ’

काठमाडौं । बिनाअक्सिजन १० औँ पटक सगरमाथाको सफल आरोहण गरि विश्व कीर्तिमानी रेकर्ड कायम गरेका ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । उनको सोमबार बिहान १० बजे काठमाडौँको जोरपाटीमा निधन भएको हो ।

नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाले उनको जोरपाटीस्थित आफ्नो छोरीको घरमा निधन भएको जानकारी गराएका हुन् । उनी लिबर (कलेजो सम्बन्धी) र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए ।

सोलुखुम्बुको थामेमा जन्मीएका ७२ वर्षीय ‘हिमचितुवा’कोे शवलाई अहिले बौद्धस्थित शेर्पा गुम्बामा राखिएको छ । आगामी बुधबार बौद्धधर्म अनुसार दाहसंस्कार गर्ने तयारी गरिएको उनको घरपरिवार स्रोतले जनाएको छ । उनले सन् १९८३ देखि विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण शुरु गरेका थिए । सन् १९९६ मा विना अक्सिजन सगरमाथाको शिखरमा पाइला टेकेका थिए ।

स्वर्गिय राजा बीरेन्द्रले शेर्पालाई भेटेर अब यहाँको चाहना र आवश्यकता के छ भनेर सोधे पनि आफूले केही पनि चाहना व्यक्त नगरेको आङरिताले यसअघि सञ्चारकर्मीहरुसित बताउँदै आएका थिए

सर्वोच्च शिखर सगरमाथा मात्रै नभई उनले विनाअक्सिजन पाकिस्तानको माउन्ट केटु तथा नेपालको चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरी लगायत दर्जनौँ हिमालको पटक पटक सफल आरोहण गरेका थिए ।

पुर्खौली पेशा चौरीपालन

सन् १९४८ मा जन्मेका आङरिताको पुख्र्यौली पेशा चौरीपालन भए पनि १५ वर्षकै उमेरदेखि उनी आरोहणमा सहभागी भएका थिए । पहिलो पटक करीब २० वर्षका उमेरमा चोयु हिमालको आरोहण गरेका शेर्पाले विनाअक्सिजन पहिलो पटक १९८३ मा सगरमाथा चुचुरामा पाइला टेकेका थिए ।

लामो समय आरोहणकै क्रममा रहेका आङरिता विगत केही वर्षदेखि बिरामी भएपछि आरोहण यात्रा रोकिएको थियो । सगरमाथा आरोहणमा नजानाको मुख्य कारण उनी बिरामी भएका बेला तत्कालीन स्वर्गिय राजा बीरेन्द्र बीरबिक्रम शाहले स्वर्गिय युवराज दीपेन्द्रलाई घरैमा भेट्न पठाएका थिए । त्यसेबेला उनी काठमाडौको चावहिलस्थित गोपीकृष्ण नगरको एउटा घरमा भाडाको कोठामा बसेका थिए । त्यो बेला आरोही शेर्पालाई भेट्न पुगेका तत्कालिन स्वर्गिय युवराज दीपेन्द्रले मेरा बुबाले अब यहाँले आरोहणबाट सन्न्यास लिँदा उचित हुन्छ भन्ने हुकुम भएको बताएका थिए । त्यसपछि शेर्पा आरोहणमा नगएको उनको परिवार स्रोतको भनाइ छ ।

राजास‌ंगकाे त्याे भेट

त्यसबेला स्वर्गिय राजा बीरेन्द्रले शेर्पालाई भेटेर अब यहाँको चाहना र आवश्यकता के छ भनेर सोधे पनि आफूले केही पनि चाहना व्यक्त नगरेको आङरिताले यसअघि सञ्चारकर्मीहरुसित बताउँदै आएका थिए । त्यसेबेला राजाले नै केही समस्या प-यो भने दरबार आउनु भन्दा पनि आफु दरबार नगएको बताउने आरोही शेर्पा सो समय नेपाल सरकारबाट प्रदान गरिएको त्रिशक्तिपट्ट गोर्खा दक्षिणबाहु जस्तो उच्च गरिमामय पदकबाट भने सम्मानित भएका थिए । उनको विना अक्सीजन लगातार १० पटकसम्मको विश्वकीर्तिमानलाई अहिलेसम्म कसैले पनि तोड्न सकेका छैनन् । पछिल्लो समय नेपालको नाम विश्वभरि फैलाउन सफल शेर्पालाई भारत सरकारले सम्पूर्ण सुविधासहित उतै बस्न व्यवस्था मिलाइदिने प्रस्ताव राखे पनि नमानेको र अहिले नेपाल सरकारबाट भने खासै सहयोग नभएको उनको परिवारले जानकारी गराएको छ ।

विगत केही वर्षदेखि भने उनको आर्थिक अवस्था दयनीय भएको भन्दै आरोहीहरुको छाता संस्था नेपाल पर्वतारोहण संघले नियमित सहयोग गर्दै आएको थियो । उनको घरपरिवारका अनुसार पर्वतारोहण संघले शेर्पालाई हरेक महिना १५ हजार रुपैयाँ दिँदै आएको छ । स्वर्गिय आङरिता शेर्पाका ३ छोरा र एक छोरी छन् । उनको जेठ छोरा कर्साङ शेर्पा आरोहण पेशामै छन । माहिला छोरा छेवाङ दोर्जे शेर्पा भने अहिले अमेरिकामा छन । कान्छा छोरा फुरानुरु शेर्पा हाल खुम्बुमै चौरी धपाउने काममा व्यक्त छन । उनका एक छोरी डोमा शेर्पा जोरपाटीमा बस्दै आएकी छिन । अहिले आङरिता आफ्नी छोरीसँग बस्दै आएका थिए । आङरिताको श्रीमतीको भने सात वर्षअघि नै निधन भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?