सप्तरी, राजविराज । कोरोना महामारी रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान, नियमित शान्ति सुरक्षा व्यवस्थापन लगायतमा खटिएका सुरक्षाकर्मीमा संक्रमणको दर बढ्न थालेको छ ।
नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गरिरहेका प्रहरी र सशस्त्रमा मात्र होइन् । क्वारेन्टाइन, आइसोलेशन र संक्रमितको मृत्युपछि शव व्यवस्थापनमा खटिने गरिएका सेनामा समेत कोरोना संक्रमण बढ्न थालेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीको मंगलबारसम्मको अभिलेख अनुसार नेपाल प्रहरीतर्फ जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी र डिएसपसिहित ६७ जना, सशस्त्र प्रहरीतर्फ २ जना तथा प्रदेश प्रहरी तालिम केन्द्र राजविराजका ३७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण फेला परिसकेको छ ।
त्यस्तै यहाँस्थित नेपाली सेनाको भिमदल गणका ९ जना सेनामा पनि कोरोना संक्रमणको पुष्टि भइसकेको छ । समुहगत र व्यक्तिगत संख्याको दर पनि सुरक्षाकर्मीमै बढी देखिन थालिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए ।
जिल्लामा हालसम्म संक्रमितको कुल संख्या १ हजार २ सय ६ छन् । जसमध्ये सुरक्षा निकायतर्फका संक्रमितको संख्या १ सय १५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
सुरक्षा निकायमा समेत संक्रमणको दर बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन, जमघट, भेला, भिडभाड लगायत समूहगत कार्यक्रम अहिले बन्द गरेको छ । बजारमा देखिने भिड, व्यवस्थापन, ट्राफिक व्यवस्थापन, क्वारेन्टाइन, आइसोलेशन र कारागारको सुरक्षा तथा दैनिक शान्ति सुरक्षा र अपराध अनुसन्धानमा खटिनु पर्ने भएकाले पछिल्ला दिनमा सुरक्षा निकायमा पनि कोरोना संक्रमण बढ्दै गएको प्रहरी अधिकारीहरुको भनाई छ ।






