काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्को सयुंक्त आयोजना तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था संघ (एआइएन) र गैरसरकारी संस्था महासंघको सहयोगमा मुलुकभर ४१ औं सामाजिक सेवा दिवस मानाइएको छ ।
‘सामाजिक क्षेत्रः राष्ट्रको गौरव, आजको प्राथमिकता समृद्धि सुखको लागि सामाजिक रुपान्तरण र उध्यमशीलता’ भन्ने नारासहित ४१ औं सामाजिक सेवा दिवस मनाइएको हो । राष्ट्रिय आवश्यकता र हितका बिषयमा भएका छलफलहरुमा सरकारी र गैरसरकारी संघसंस्था तथा सरोकारवाला निकायका विज्ञ तथा प्रतिनिधिहरु सहभागी भएका थिए ।
समग्र विकासका लागि सामाजिक उद्यमशीलता, नेपालमा वैदेशिक सहयोगको प्रभावकारिता तथा कोभिड—१९ को महामारीका समयमा सामाजिक क्षेत्रको योगदानसहितको बिषयमा वृहत अन्तक्र्रिया गरिएको छ । भर्चुअल माध्यमबाट भएका ती अन्तक्र्रियामा सामाजिक सञ्जालको प्रयोग गरी सहभागी र यसको प्रयोगकर्ताले सक्रिय सहभागिता जनाएका थिए ।
४१ औं सामाजिक सेवा दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरिवी हटाउने र जनताको मौलिक अधिकारलाई स्थापित गर्न सरकार लागिपरेको बताए । प्रधानमन्त्री ओलीले परोपकारी भावनाबाट अभिप्रेरीत भएर समाजिक बिकासमा आवद्ध हुन सबैलाई आग्रह समेत गरे । सोही अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले देशको विकासमा सामाजिक क्षेत्र एउटा प्रमुख आधारशिला भएको धारणा राखे । उनले राज्यको नीति र सामाजिक क्षेत्रको मूल्य तथा मान्यता अनुरुप अघि बढ्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था र सामाजिक कार्यकर्तालाई आग्रह समेत गरे ।
सो अवसरमा एआइएनका अध्यक्ष अच्युत लुइटेलले समृद्ध मुलुक निर्माणका लागि सरकारका अतिरिक्त राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाको भूमिका अपरिहार्य रहने धारणा राखे ।
सामाजिक रुपान्तरण र कोभिड–१९ को नियन्त्रणमा सरकारको प्राथमिकता अनुसार स्वास्थ्यसहितका क्षेत्रमा काम गरिरहेको र अन्तराष्ट्रिय गैरसरकारी संस्थाले कम्तिमा २ अरब रुपैंया सहयोग गर्ने निश्चित रहेको बताए । यसैगरी, गैरसरकारी संस्था महासंघका अध्यक्ष जितराम लामाले मुलुकलाई नयाँ ढंगले अघि बढाउन तथा सामाजिक परिवर्तन ल्याउन राष्ट्रिय गैर सरकारी संस्था सरकार, निजी क्षेत्र र अन्तराष्ट्रिय साझेदार संस्थाहरुसँग मिलेर अघि बढ्न तयार भएको बताए ।






