बारा । बाराको एक स्थानिय तहमा कोरोना पोजेटिभको संख्या शून्य भएको छ । निजगढ नगरपालिकामा कोरोना पोजेटिभको संख्या शून्य देखिएको हो ।
नगरपालिकाले निमार्ण गरेको अईसोलेसनबाट ४ जना कोरोना संक्रमित डिस्चार्ज भएसंगै कोरोना संक्रमितको संख्या शून्य भएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले जानकारी गराएका छन् । गत आश्विन ४ गते आईसोलेसनमा रहेका ४ जनाको स्वाब परिक्षणको लागि संकलन गरिएको थियो । अइसोलेसनमा रहेका ४ जनासहित ३१ जनाको नतिजा मंगलबार नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख लामाले बताए ।
नगरपालिकाले कोरोना नियन्त्रण र रोकथामका लागि लागु गरेको नियम र व्यस्थापन सफल भएका कारण निजगढमा अहिलेसम्म कोरोना नियन्त्रणको अवस्थामा रहेको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले बताएका छन् । मेयर खनालले नगरपालिकाले जारि गरेको नियम पालनामा सम्पूर्ण नगरवासी र व्यवसायीहरुको सहयोगको कारण नगरमा कोरोना नियन्त्रणको अवस्थामा रहेको भन्दै आभार समेत व्यक्त गरेका छन् ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफईकर्मी, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि लगायत नगरका सरोकारवालाहरुबाट भएको सल्लाह र सहयोगले पनि कोरोना नियन्त्रण गर्न निजगढ नगरपालिका अहिलेको अवस्थासम्म सफल भएको बताए । मेयर खनालले कोरोना भाईरस संक्रमणको जोखिम उच्च रहेकाले नगरपालिकालगायत सरोकारवाला निकायले जारि गरेको आवश्यक स्वास्थ्य सम्बन्धि मापदण्डको पालना गर्न बारम्वार नगरवासीहरुलाई आग्रह समेत गरेका थिए ।
राजनैतिक मनमुटावका कारण केहिले कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले चालेको कदमको निरन्तर विरोध गरेपनि अहिलेसम्म कोरोना नियन्त्रणमा निजगढ नगरपालिका सफल भएको पुष्टि नगरप्रमुख खनालले गरे ।
गत चैत्रदेखि कोरोना पोजेटिभको संख्या बढेसँगै देशभर लगाईएको लकडाउनमा निजगढमा जम्मा ४७ जना कोरोनाबाट संक्रमित भएका थिए भने २ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । १६ वटा स्थानिय तह रहेको जिल्लामा संक्रमितको संख्या संख्या एक हजार एक सय ५३ पुगेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
यस्तै बारा जिल्लामा हाल दुई सय ९५ जना आइसोलेशन छन् । जसमध्ये दुई सय जना होम आइसोलेशनमा रहेको छन् । भने , आठ सय ३९ जना संक्रमण मुक्त भईसकेका छन् । उपचार र अस्पतालमा बेड अभाव भएपछि जिल्लमा दुई सय जना बढी संक्रमित स्वास्थ्य मापदण्ड बिनैं होम आइसोलेसनमा बस्न बाध्य भएका छन् ।