काठमाडौं । अभिनेता अनमोल केसी शुक्रबार नयाँ फिल्म ‘ए मेरो हजुर–४’ तयारीमा थिए । तर, स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय, चलचित्र विकास बोर्डलगायतले छायांकनका लागि अनुमति नदिएपछि यो चलचित्रको छायांकन शुक्रबारबाट सुरु हुन सकेन ।
तर, अहिले पनि केही चलचित्रको छायांकन काठमाडौं उपत्यकामा भइरहेको छ । ती चलचित्रका निर्माताहरूले स्थानीय निकायदेखि चलचित्र विकास बोर्डसँग समेत अनुमति लिएका छैनन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालका अनुसार सरकारसँग चलचित्र छायांकनका लागि बोर्डले पहल गरिरहेको छ । चलचित्र छायांकनका लागि आवश्यक प्रावधान पठाएकोमा अझैसम्म त्यसलाई सरकारले पारित नगरेपछि आधिकारिक रूपमा चलचित्र छायांकन सुरु हुन नसकेको हो ।
यसै विषयमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले राजधानीसँग भने, ‘अहिले केही चलचित्रको छायांकन सुरु भएको जानकारी बोर्डमा आएको छ । तर, हामीले आधिकारिक रूपमा अहिलेसम्म कसैलाई पनि छायांकन सुरु गर्दा हुन्छ भनेर निर्देशन दिएका छैनौं ।’ अध्यक्ष दाहालका अनुसार सरकारले अहिले पनि कोरोना संक्रमित क्षेत्रमा भेला हुन दिएको छैन । यसै विषयमा उनले भने, ‘चलचित्र छायांकनका क्रममा ३० देखि ४० जना कलाकार प्राविधिक दैनिक रूपमा एकै स्थानमा भेला हुन्छन् । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको प्रावधानलाई पालना नगर्दा कोरोना संक्रमण सर्ने देखिएकाले हामीले अहिले छायांकनका लागि प्रेरित गरेका छैनौं ।’
अहिले भइरहेको चलचित्रको छायांकनमा स्थानीय निकायको निर्देशनमा तथा सुरक्षाकर्मी आफैंले पनि जाँच गर्न सक्ने बोर्ड अध्यक्षको कथन छ । जाँचको क्रममा कोरोना संक्रमणबाट जोगिनका लागि सरकारले जारी गरेको प्रावधानलाई नअपनाइएको पाइएमा प्रहरीले छायांकन रोक्न र कारबाही गर्न सक्छ । त्यसैले यस्तो अवस्थामा चलचित्र विकास बोर्ड जिम्मेवार नहुने पनि अध्यक्ष दाहालले बताएका छन् ।
नेपाली चलचित्रको छायांकन अब आधिकारिक रूपमा कहिले हुन्छ त भन्ने राजधानीको जिज्ञासामा बोर्ड अध्यक्ष दाहालले भने, ‘चलचित्र निर्माता संघ, निर्देशक समाज, प्राविधिक संघलगायत विभिन्न संघ संस्थासँग सल्लाह गरेर अन्तर्राष्ट्रिय क्षेत्रका अभ्यास र कार्यलाई निर्देशकका रूपमा तयार गरेर हामीले यसरी छायांकन सुरु गर्न सकिन्छ भन्ने खाका सरकारलाई बुझाएका छौं । सरकारले त्यो निर्देशिकलाई पारित गरेको खण्डमा निर्देशिकाको नियमलाई अपनाउँदै चलचित्रको छायांकन सुरु गर्न सकिन्छ ।’ यतिबेला बोर्डले चलचित्र छायांकन गर्नु पनि नभनेको र गरिरहेकालाई रोक पनि नलगाएको अध्यक्ष दाहालले बताएका छन् ।
अहिले भइरहेका छायांकनको प्रसंगमा कुनै पनि समस्या आएमा बिमादेखि अन्य सुविधा बोर्डले दिन नसक्ने पनि अध्यक्ष दाहालको कथन छ, ‘सरकारले चलचित्र छायांकनमा रोक लगाइरहेको अहिलेको अवस्थामा भोलि कोरोना संक्रमणदेखि अन्य कुनै पनि समस्या देखिएमा बोर्ड जिम्मेवार हुनेछैन । यदि नेपाल सरकारले एउटा मापदण्ड बनाएर छायांकन गर्न अनुमति दिएको खण्डमा त्यो मापदण्डअनुसार छायांकन सुरु हुने चलचित्रलाई हामी विभिन्न सहुलियत दिनेछौं ।’
यतिबेला ए मेरो हजुर–४, परदेशी–२, दुई नम्बरीसहित केही चलचित्रको छायांकन तयारी हुँदै छ । यी चलचित्रको छायांकन गर्नका लागि अझै केही दिन पर्खन बोर्डले सुझाव दिएको छ । भोलि सरकारले अनुमति दिएपछि यी चलचित्रको छायांकन सुरु गर्दा बोर्डले सघाउने पनि अध्यक्ष दाहालले बताएका छन्, ‘अहिले काठमाडौं उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढेको बेला जोखिम मोलेर छायांकन गर्नु राम्रो हैन । कोरोनाको संक्रमण केही कम भएपछि पक्कै सरकारले छायांकन अनुमित दिनेछ ।’ सो अनुमतिपछि छायांकन सुरु हुने चलचित्रका लागि बोर्डबाट केही सहुलियत पनि दिने’bout छलफल भइरहेको अध्यक्ष दाहालले बताए ।






