लमजुङको उदिपुरमा रात्री बस दुर्घटना : एकको मृत्यु, तीन जना घाइते

लमजुङ । लमजुङको उदिपुरमा रात्री बस दुर्घटना भएको छ । शनिबार साँझ ७ः४५ बजे भएको बस दुर्घटनामा एक जनाको निधन हुनुका साथै तीन जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । दुईको अवस्था चिन्ताजनक रहेको जिल्ला अस्पतालले जनाएको छ ।

जिल्ला सदरमुकाम बेसीशहरबाट यात्रु लिएर वीरगंज जादै गरेको ग १ ख ६५०१ नम्बरको यात्रु बाहक रात्री बस बेसीशहर नगरपालिका– १ उदिपुरमा दुर्घटना ग्रस्त भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बेलुका ७ः४५ बजे दुर्घटनामा भएको हो । सो घट्नामा चार जना घाइते भएकोमा एक जनाको जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि लग्नासाथ चिकित्सकले मृत घोषित गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार मृतक २६ वर्षीय अर्जुन परियार हुन् । उनको ठेगाना खुलेको छैन ।

उद्दार गरिएका घाइते यात्रुहरू चार जनाको उपचारका लागि लमजुङ सामुदायिक अस्पतालमा पठाइएको उदिपुर स्थित अस्थाई प्रहरी बिटका इन्चार्ज प्रहरी हवल्दार दिपेन्द्रराज पन्तले बताए । उनका अनुसार बस सडकबाट करिब एक सय मिटर तल धान खेतमा खसेको थियो । उद्दार कार्य जारी रहेको छ र थप विवरण आउन बाँकी छ । बसका चालक सम्पर्क बाहिर रहेकाले यात्रुको संख्या कति थियो भन्ने एकिन हुन नसकेको प्रहरी हवल्दार पन्तले जानकारी दिए । उनका अनुसार उदीपुर बजार कट्नासाथको घुम्ती पार गर्न लाग्दा बस धान खेतमा खसेको हो । उनले भने, ‘अँध्यारो स्थानमा बस फसेको हुँदा उद्दार कार्य कठिन भएको छ । बसका चालकको खोजीका साथै थप यात्रु भए नभएको एकिन गर्ने कार्य जारी रहेको छ ।’

अन्य घाइतेमा बेसीशहर नगरपालिका– ४ का २८ वर्षीय मनोज गुरुङ, सोही वडाका १९ वर्षीय दिपेन्द्र गुरुङ र राइनास नगरपालिका– ९ का सुदीप नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गंगाबहादुर थापाले बताए । उनका अनुसार मनोज र सुदीपको थप उपचारका लागि पोखरामा रिफर गरिएको छ । उनले भने, ‘मृतक परियार बेसीशहर नगरपालिका– १ को धिमिरे गाउँका बासिन्दा हुन् ।’

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

सभापतिको शैली पछ्याउँदै गृहमन्त्री गुरुङ