भोजपुर । प्रदेश –१ सरकारको लगानीमा भोजपुर सदरमुकाम देखि टक्सार एयपोर्ट सम्मको सडक कालोपत्रे शुरु भएको छ । जिल्लामै पहिलो आसपाल्ड प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको १६ करोड ९२ लाख रुपैंयामा कालोपत्रे गर्ने काम शुरु भएको हो ।
यस अघि नै कालोपत्रेको लागि आवश्यक प्रक्रिया सम्पन्न गरिएको भए निरन्तर भएको बर्षातका कारण काम रोकिएको थियो । तर केहि साता अघिबाट मौसममा सुधार आएपछि कामको थालनी भएको हो । प्रदेश सरकारको निकै महत्वपूर्ण योजना भएकोले यसको गुणस्तरमा ध्यान दिइएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए ।
प्रमुख रेड्डीले भने ‘प्रदेश–१ सरकारको महत्वपूर्ण भित्रको यो एउटा योजना हो, यसको कामलाई गुणस्तरिय बनाउन हामी लागि परेका छौँ, जिल्लामा नै पहिलो पटक यो प्रविधिबाट कालोपत्रेको काम थालिएकोले पनि यसमा बढी नै ध्यान दिएका छौँ ।’
सडक कालोपत्रेको काम शुरु भएसंगै गुणस्तरमा कमि आउन नदिन जिल्ला प्रशासन कार्यालयसंगै अन्य सरोकारवाला पक्षले अनुगमन गरिरहेका छन् । अनुगमनका क्रममा काम मापदण्ड अनुसारको रहेको पाइएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए । ‘यो जिल्लाको एउटा नमुना सडक हो, यसको कामलाई गुणस्तरिय ढंगले सम्पन्न गराउन हामी पनि लागेका छौँ, निर्माणका क्रममा आउने विभिन्न समस्या समाधानदेखि अनुगमनको पाटोमा हामीले विशेष ध्यान दिएका छौँ, हामीले हेर्दा सडकको गुणस्तर राम्रो नै छ ।’ उनले भने ।
काम गर्ने क्रममा कुनै यन्त्र उपकरणको समस्या नआएमा तथा मौसम राम्रो भएमा यो महिना भरिमा निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ । कालोपत्रेको काम शुरु गरेको भएपनि स्थानीय सरकार तथा सरोकारवाला पक्षले ट्याक्टर लगाएतका ढुवानीका साधन सञ्चलानमा रोक नलाउदा भने काममा केहि बाधा पुगेको कम्पनीको गुनासो छ । कामको गुणस्तरमा कुनै पनि कमी नहुने निर्माण कम्पनीको दावी छ ।
मार्सेली निर्माण सेवाका प्रमुख श्याम श्रेष्ठले भने,‘खासमा यसको काम तोकिएको समय भन्दा पनि अगाडि नै सम्पन्न गरेर जिम्मा लाउने लक्ष्यका साथ मैले काम गरेको हो, वर्षातका कारण कालोपत्रे गर्न सकिएन तरपनि यसको तोएिको अवधि भित्र सक्ने लक्ष्य छ, सायद अवको ८ देखि १० भित्रमा यसको काम सक्छु ।’
रायामाझी–जगदम्बा–मार्सेली जेभीले निर्माण गरिरहेको यो सडकको लम्वाई ५ किलोमिटर रहेको छ । कालोपत्रेको मोटाई ४ सेन्टिमिटर रहने जनाइएको छ । सडक कालोपत्रे शुरु भएसंगै स्थानीयमा उत्साह थापिएको छ ।






