लन्डन । यूईएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा फिफा वरीयताको शीर्षस्थानमा रहेको बेल्जियम इंग्ल्यान्डसँग पराजित भएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियममाथि २–१ को पुनरागमन जित हात पारेको हो ।
वेम्वली स्टेडियममा इंग्ल्यान्डको जितमा मार्कुस रासफोर्ड र मासन माउन्टले गोल गरे । रोमेल लुकाकुले गरेको गोल सान्त्वना बन्यो । आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको १६औं मिनेटमा पाउना टोली बेल्जियमले रोमेलु लुकाकुको पेनाल्टी गोलबाट अग्रता लिएको लिएको थियो । एरिक डाएरले पेनाल्टी बक्समा लुकाकुलाई लडाएपछि प्राप्त पेनाल्टीमा लुकाकु आफैंले गोल गर्न सफल भएका थिए ।
३९औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टी गोलमार्फन नै खेललाई १–१ गोलको बराबरीमा ल्याए । थोमस म्युनियरले कप्तान जोर्डन हेन्डरसनलाई फल गरेपछि रेफ्रीले इंग्ल्यान्डलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा रासफोर्ड चुकेनन् । ६४औं मिनेटमा किरिएन ट्रिपिएरको पासमा मासन माउन्टले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । उनको प्रहार टोवी एल्डरवेइरिल्डदाइ डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । जितसँगै इंग्ल्यान्ड ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।
पराजित बेल्जियम ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । यही लिग ‘ए’ ४ को अर्काे खेलमा डेनमार्कले आइसल्यान्डमाथि ३–० को सहज जित हात पारेको छ । डेनमार्कको जितमा क्रिस्टियन इरिक्सन र रोबर्ट स्कभले गोल गर्दा एक गोल उपहार पाएको थियो । डेनमार्कको ३ तथा अंकविहीन आइसल्यान्ड पुछारमा छ ।
यस्तै, नेसन्स लिगको अर्काे खेलमा विश्वविजेता फ्रान्स र युरो र नेसन्स लिग विजेता पोर्चुगलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको केही अवसर पाए पनि सदुपयोग हुन नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । यो बराबरीसँगै पोर्चुगल ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थनमा यथावत रहँदा समान ७ अंक रहे पनि गोल अन्तरमा फ्रान्स दोस्रो स्थानमा रहेको छ ।
हालान्डको ह्याट्रिक
युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डले राष्ट्रिय टोलीबाट पहिलो ह्याट्रिक पूरा गरेपछि नर्वेले यूईएफए नेसन्स लिगको समूह चरणको तेस्रो खेलमा रोमानियामाथि ४–० को फराकिलो जित आत्मसात गरेको छ । घरेलु मैदान ओस्लोमा आइतबार राति भएको खेलमा नर्वेको जितमा अर्काे एक गोल एलेक्सान्डर सोरलोथले एक गोल थपे ।
२० वर्षीय युवा फरवार्ड हालान्डले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गर्दै राष्ट्रिय टोलीबाट पहिलो ह्याट्रिक पूरा गरे । २० वर्षीय हालान्डले १३, ६४ र ७४औं मिनेटमा गोल गर्दै राष्ट्रिय टोलीबाट पहिलो ह्याट्रिक पूरा गरे । २०१९ देखि राष्ट्रिय टोलीमा रहेका हालान्डले नर्वेबाट ६ खेल खेल्दै ६ अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका छन् ।
जितसँगै नर्वेको लिग ‘बी’ १ मा तीन खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा उक्लन सफल भएको छ । पराजित रोमानिया ४ अंकसहित तेस्रो स्थानमा छ । यही समूहको अर्काे खेलमा अष्ट्रियले नर्दन आयरल्यान्डमाथि १–० को जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ । अस्ट्रियाको जितमा माइकल ग्रिगोरिसचले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । समान ६ अंक भएपनि हेड टु हेडमा नर्वे दोस्रो स्थानमा छ । नर्दन आयरल्यान्ड १ अंकसहित पुछारमा छ ।