लन्डन । नेसन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा युक्रेनसँग स्पेन १–० ले पराजित भयो । समूह डीमा रहेको स्पेनलले चार खेल खेल्दा पहिलो हार व्यहोरेको हो । स्पेनले सुरुका ३ खेल मध्येमा २ मा जित र एउटा बराबरी खेलेको स्पेनले चौथो खेलमा भने युक्रेनसँग पराजित हुन पुगेको हो ।
युक्रेनको जितका लागि खेलको एक मात्र निर्णायक गोल भिक्टर छिहान्कोभले गरे । उनले पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल गरेका थिए ।
पराजित भए पनि चार खेलबाट सात अंकसहित स्पेन समूहको शीर्ष स्थानमा छ । सोही समूह अन्तर्गत भएको अर्को खेलमा जर्मनी र स्वीट्जरल्याण्डले ३–३ को बराबरी खेलेका छन् । ६ अंकसहित जर्मनी समूहको दोस्रो स्थानमा छ । युक्रेनको पनि ६ अंक नै रहेको छ ।
गएराति नै भएका अरु खेलमा माल्टाले लात्भियालाई १–०, फारोइ आइल्याण्डले एन्डोरालाई २–० तथा लग्जेम्बर्गले मोन्टेनेग्रोलाई २–१ ले पराजित गरेका छन् । यस्तै अजरबैजान र साइप्रस तथा लिचेस्टाइन र सान मारिनोले गोलरहित बराबरी खेलेका छन् ।






