काठमाडौं । ठीक पाँच वर्षपछि नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक रितेश थापामाथि नेपाल प्रहरीले लगाएको निलम्बन फुकुवा गरेको छ । २ असारमा सर्वोच्च अदालतबाट राज्यविरुद्धको अपराध मुद्दामा सर्वोच्चबाट सफाई पाएको झन्डै साढे ३ महिनापछि प्रहरीले उनीमाथिको निलम्बन फुकुवा गरेको हो । २०७२ को असोजमा उनलाई निलम्बन गरेको थियो ।
रितेशसहित राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापा, अञ्जन केसी, सन्दीप राई, विकाससिंह क्षेत्री र फिजियो डेजिव थापाले सर्वोच्चबाट असरामा सफाइ पाएका थिए । असोज १९ गते निलम्बन फुकुवाको पत्र प्राप्त गरेको थिए । ‘लामो लडाइँपछि विशेष र सर्वोच्चबाट न्याय पाएका थियौं,’ रितेशले भने, ‘त्यसपछि आफ्नो संगठनबाट निलम्बन फुकुवा गर्छ भन्नेमा ढुक्क थिए । फेरि फर्कन पाउँदा खुसी लागेको छ ।’ रितेशका अनुसार अहिले उनको दरबन्दी विराटनगर उच्च अदालतमा रहेको छ ।
केही दिनपछि हाजिर गर्ने तयारीमा रहेको रितेशले बताए । २०६० सालमा प्रहरीमा आबद्ध भएका रितेशले पुलिसलाई तीनपटक शहीद स्मारक ‘ए’ डिभिजन लिग जिताएका थिए । २०५७ सालबाट रुस्लान थ्री स्टार क्लबबाट व्यावसायिक खेल जीवन सुरु गरेका उनी त्यसपछि पुलिसमा आबद्ध भएका थिए । २०६६ मा उनी प्रहरी सहायक निरीक्षकमा बढुवा भएका थिए । ३८ वर्षीय उनले पुलिसबाट पाँचपटक एएफसी प्रेसिडेन्ट्स कप खेलेका थिए । सन् २००७ मा पुलिस प्रेसिडेन्ट्स कपको फाइनल पुगेको थियो ।
राष्ट्रिय टोलीबाट खेल्दा अन्तर्राष्ट्रिय खेलमा रितेशसहितका खेलाडीले म्याच फिक्सिङ गरेको पुलिसको दावी थियो । तर नेपालमा म्याच फिक्सिङको अलग्गै कानुन नभएका कारण पुलिसले राज्यविरुद्धको अपराधमा पाँच जनाविरुद्ध जन्मकैदको माग गर्दै विशेष अदालतमा २०७२ कात्तिक २२ गते मुद्दा दायर गरेको थियो । सुरुमा विशेष अदालत र पछि सर्वोच्चबाट सफाइ पाएपछि रितेशको निलम्बन फुकुवा प्रक्रिया सुरु भएको थियो । रितेशसहित सबैलाई एसियाली फुटबलको सर्वोच्च निकाय एएफसीले लगाएको आजीवन प्रतिबन्ध भने यथावत् छ ।






