मुहार फेरिँदै काठमाडौंका सडक

काठमाडौं । वषौंदेखि धुलोधुवाँ र खाल्डाखुल्डीको सहरको उपमा नै पाएको काठमाडौं उपत्यकाका सडकले बिस्तारै मुहार फेर्न थालेका छन् । नेकपा नेतृत्वको सरकार गठनको डेढ वर्षसम्म खासै परिवर्तन नभएको काठमाडौं उपत्यकाका सडकले विगत एक वर्षमा भने सुधारको फड्को नै मारेको छ ।

पछिल्लो एक वर्षमा सडक डिभिजन कार्यालय काठमाडौंले मात्र करिब १० हजार खाल्डाखुल्डी पुरेर सडकलाई चिटिक्क पारेको छ ।

डिभिजन कार्यालय काठमाडौंले गत आर्थिक वर्षमा ४२ किलोमिटर सडकको कालोपत्रे थप ‘ओभर ले’ को काम सक्ने लक्ष्य राखेकामा अहिलेसम्म सो लक्ष्य पूरा गरिसकेको छ । विशेषगरी भौतिक पूर्वाधारमन्त्रीका रूपमा वसन्त नेम्वाङ आएपछि नै काठमाडौंलगायत अन्य स्थानका सडकको अवस्थामा एकाएक सुधार आएको हो ।

सडक विस्तार तथा मर्मत नभएर वर्षौंदेखि हिलाम्मे र धुलाम्मे हुँदै आएको कलंकी–सतुंगल–नागढुंगा सडकको मर्मत कार्य समेत सम्पन्न भएको छ । सो सडकखण्डमा अहिले सबै ठाउँमा मर्मत तथा विस्तारको काम सकिएसँगै सडक सफा समेत बनेको छ ।

काठमाडौंको मुख्य भित्री भाग पुतलीसडकमा ढल हालेर सडक पिचको काम सम्पन्न भएको छ । लकडाउन र निषेधाज्ञाकै समयमा ढल राख्ने काम गरिएको होे । वर्षौं पिच नभएर लथालिंग जस्तै बन्दै आएको बल्खु–कुपण्डोलसम्मको बाग्मती करिडोर सडकको पिच भएसँगै अहिले सो क्षेत्रसमेत चिटिक्क बनेको छ ।

काठमाडौं–टोखा सडकको मर्मत सम्भारका कारण वर्षांैदेखि गाडी रोकिँदै आएकामा यस वर्ष गाडी रोकिएनन् । बल्खु दक्षिणकाली सडकको सुधार पनि नियमित रूपमा भइरहेको छ ।

सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार गोठाटार–मूलपानी सडक र बालाजु–सिसढोलको मुख्य भागको काम सम्पन्न भइसकेको छ । ती सडकमा अहिले पनि काम जारी छ । बालाजु–काभ्रेस्थली सडकखण्डमा पनि धमाधम काम भइरहेको छ ।

नेतृत्व र नीतिले परिवर्तन
काठमाडौं डिभिजन प्रमुख कुवेर नेपालीले काठमाडौं उपत्यकाका सडकको सुधार भएको सर्वसाधारणले समेत प्रत्यक्ष अनुभव गरिरहेको बताए । यसका पछाडि विभागदेखि मन्त्रालयसम्म राम्रो ‘लिडरसिप’ हुँदा काममा सहजता भएको र संस्थागत वातावरण पनि सुधारिएको उनको भनाइ छ ।

डिभिजन प्रमुख नेपालीले यसपटक जथाभावी सडक खन्ने कामलाई कडाइ गरिएको जनाए । ‘कति खनेर कति दिनमा काम सक्ने हो, त्यो स्पष्ट गरेर खाल्डो पुर्ने समय पनि निर्धारण गरेर काम गरिरहेका छौं,’ उनले भने ।

२-३ सय ठेक्का लथालिंग जस्तै अवस्थामा पुगेकामा पछिल्लो समय तीनले पनि गति लिएको उनी बताउँछन् । ‘थर्काएर भन्दा पनि समन्वय र सहकार्य गरेर अघि बढियो, अहिले त ती लथालिंग जस्तै भएका ठेक्काले उल्लेख्य प्रगति गरेका छन्,’ उनले भने ।

डिभिजन प्रमुख नेपालीले ट्राफिक प्रहरीसँग समन्वय गरेर सडक सुरक्षाको कामलाई प्राथमिकता दिएको र रंग रोगन गरेर सडक सौन्दर्यकरणमा ध्यान दिइएको बताए ।

चालु वर्षमा २४ किमि सडकमा ओभर ले गर्ने, अख्तियार प्राप्त बाग्मती सभ्यतालगायत निकायसँग समन्वय गर्दै मुख्य नदी करिडोरका सडकहरुको काम सम्पन्न गर्ने र आगामी वर्षदेखि फुटपाथलाई उच्च प्राथमिकता दिने योजना रहेको कार्यालयले जनाएको छ ।

तिहारसम्म चावहिल सडक पनि चिटिक्क
सरकारले सडक मर्मत सम्भार तथा विस्तारमा उल्लेख्य रूपमा प्रगति गरे पनि चावहिल–गौशाला सडकखण्डले भने सरकारलाई चुनौती थप्दै आएको छ ।

लामो समयदेखि मर्मत सम्भार नहुँदा सो क्षेत्र हिलाम्मे र धुलाम्मे बन्दै आएको छ । सडक डिजिभन कार्यालय काठमाडौंका प्रमुख नेपाली भने अब सो क्षेत्रको समस्या हल हुँदै गएको दाबी गर्छन् । ्

‘अलिक अगाडि नै त्यहाँको काम सम्पन्न गरौं भन्ने थियो, लकडाउनलगायतले केही ढिलाइ भयो । पुनः वर्षाले पनि अवरोध सिर्जना ग¥यो । अब तिहारसम्म त्यहाँको काम सम्पन्न हुन्छ,’ नेपालीले राजधानीसँग भने ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

कुरी-कुरी