बर्दिया । कोरोना महामारीका कारण बर्दिया राष्ट्रिय निकुञ्जमा लामो समयदेखि बन्द रहेको पर्यटन गतिविधीलाई खुला गरिएको छ । कार्तिक १ गतेदेखि पर्यटकहरुका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल ड्राईभ र जंगल वाक खुला गरिएको बर्दिया राष्टिय निकुञ्ज प्रशासनले जनाएको छ ।
कोरोना महामारीका कारण २०७६ चैत ७ गतेदेखि निकुञ्जमा पर्यटन गतिविधी पूर्णरुपमा बन्द गरिएको थियो । पहिलो चरण पर्यटकका लागि जंगल वाक र जंगल ड्राईभ मात्र खुला गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत महेश्वरप्रसाद निरौलाले जानकारी दिए । हात्ती सफारी, र्याफटिङ्ग, जंगल क्याम्प भने अझै खुला गरिएको छैन ।
आंशिकरुपमा पर्यटन गतिविधी सुचारु गरिए पनि निकुञ्ज घुम्न आउनेले निकुञ्जले निर्धारण गरेको शर्तहरु पालना गर्नु पर्ने निकुञ्ज प्रशासनले जनाएको छ । यो अवधीमा निकुञ्ज घुम्न आउने पर्यटकले नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्नु पर्ने छ । निकुञ्ज प्रवेश गर्दा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्नु पर्ने छ । पर्यटकहरुले एक आपसमा अनिवार्य भौतिक दुरी कायम गर्नु पर्ने निकुञ्ज प्रशासनले जनाएको छ ।
जंगल सफारी वा जंगल वाकमा जाँदा नेचर गाइड साथमा हनु पर्ने, जंगल ड्राईभका लागि सवारी साधनको क्षमताको बढीमा ६० प्रतिशत मात्र पर्यटक राख्न पाइने, जंगल वाकको लागि एक पटकमा गाइडसहित ४ जना मात्र पर्यटन प्रवेश गर्ने पाइने र निकुञ्ज कार्यालयले तोकेको रुटमा मात्र जंगल ड्राईभ र जंगल वाक गर्न पाइने निकुञ्ज प्रशासनले जनाएको छ । यसका साथै बर्दिया राष्टिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका लागि पर्यटकिय गतिविधी संचालन आचारसंहिता २०७६ पूर्णरुपमा पालना गर्ने पर्ने बताइएको छ ।
यो अवधीमा निकुञ्ज घुम्न आउने पर्यटकले नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्नु पर्ने छ । निकुञ्ज प्रवेश गर्दा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्नु पर्ने छ । पर्यटकहरुले एक आपसमा अनिवार्य भौतिक दुरी कायम गर्नु पर्ने निकुञ्ज प्रशासनले जनाएको छ
पर्यटकका लागि निकुञ्ज प्रवेश आंशिकरुपमा खुला गरिए पछि पर्यटकिय गतिविधीमा केही चहलपहल बढ्ने पर्यटन व्यवसायीले विश्वास लिएका छन् । निकुञ्जमा पर्यटकिय गतिविधी बन्द भएपछि यहाँको पर्यटन व्यवसाय पनि ठप्प भएको थियो । पर्यटकका लागि निकुञ्ज खुला गरिएसँगै पर्यटन व्यवसायीहरु पनि पर्यटकको स्वागतका लागि तम्तयार भएका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गर्दै पर्यटकलाई जंगल ड्राइभ र वाकमा लैजान आफुहरु तयार रहेको पर्यटन व्यवसायी तथा गैँडा क्याम्प रिर्सोटका संचालक रामजी थापाले बताए । उनले भने, ‘पर्यटकका लागि निकुञ्ज खुला भएसँगै पर्यटन व्यवसायीहरु पनि होटेल तथा रिर्सोटबाट दिइने सेवा र पर्यटक घुमाउनका लागि तयारी अवस्थामा छन् । ’
निकुञ्ज खुलेसँगै ७ महिनादेखि ठप्प भएको पर्यटन व्यवसायमा केही आशा पलाएको पर्यटन व्यवसायी बताउँछन् । निकुञ्ज घुम्नका लागि यो निकै उपयुक्त सिजन हो । विगतमा यो सिजनमा आन्तरिक तथा वाह्य पर्यटकले निकुञ्ज भरिभराउँ हुन्थ्यो । कोरोना महामारीका कारण यतीखेर विदेशी पर्यटक नआएपनि आन्तरिक पर्यटक निकुञ्ज घुम्न आउन सक्ने पर्यटन व्यवसायीको विश्वास छ । पर्यटकका लागि निकुञ्ज क्षेत्रमा २८ वटा सुविधा सम्पन्न होटेल तथा रिर्सोटहरु संचालनमा छन् ।