प्रहरी चौकी इन्चार्ज हत्या : शंकास्पद ११ जना नियन्त्रणमा

धनगढी । कैलालीमा गस्तीमा गएका एक जना प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक घाँटी रेटेको अवस्थामा फेला परेका छन् भने उनीसँगै गएका एक जना प्रहरी जवानको अवस्था अज्ञात रहेको छ ।

शनिबार राति गस्तीमा गएका धनगढी उपमहानगरपालिका वडा नम्बर १२, जुगेडास्थित अस्थायी प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक घाँटी रेटेको अवस्थामा मृत फेला परेका हुन् । उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउद बेपत्ता छन् ।

विकको शव नेपाल–भारत सीमामा बग्ने मोहना नदीमा घाँटी रेटेको अवस्थामका फेला परेको छ । गर्धनमा धारिलो हतियारको चोट रहेकाले उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीको भनाई रहेको छ ।

नेपाल भारत सीमा क्षेत्र भएकाले तस्करसँगको भिडन्तमा बिकको हत्या भएको हुन सक्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले बताए । उनले घटनास्थल र शवको प्रकृति हेर्दा हत्या नै भएको देखिएको बताए ।

यो नाकामा खुला सिमाना भएकाले यो नाकाबाट अवैध रूपमा तस्करी हुँदै आएको स्थानीयको भनाई छ । शव फेला परेको स्थान प्रहरी चौकीबाट करिब तीन किलोमिटरको दूरीमा छ । गस्तीमा जाँदा उनीहरू चढेको मोटरसाइकल प्रहरी चौकीबाट करिब एक किलोमिटरको दूरी पश्चिममा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतिक बिष्टले बताए ।

मोटरसाइकल फेला परेको नजिकै उखुबारीमा रगत भेटिएकाले त्यहाँ हत्या गरेर नदीमा लास फालेको प्रहरीको अनुमान छ । शनिबार राति साढे आठ बजे गस्तीमा गएका उनीहरु साढे १० बजेपछि सम्पर्कविहीन भएपछि प्रहरीले खोजबिन गर्दा आइतबार बिहान चौकी इन्चार्ज बिकको शव मोहना नदीमा भेटिएको र उनीसँगै रहेका साउदको अवस्था भने अज्ञात रहेको डीएसपी बिष्टले जानकारी दिए ।

घटनापश्चात् अज्ञात अवस्था रहेका साउदको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घटनास्थल आसपासको बस्ती र मोहना नदीमा खानतलासी सुरु गरेको छ । घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको र भारतीय सीमा सुरक्षा बल एसएसबीको टोली पनि घटनास्थल नजिक सीमा क्षेत्रमा आएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले बताए ।

शंकास्पद ११ जना नियन्त्रणमा

गस्तीमा गएका प्रहरीको हत्या भएको घटनामा प्रहरीले स्थानीय ११ जनालाई नियन्त्रणमा लिएको छ । विगतमा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका र उक्त नाकाबाट सामान तस्करी गर्ने पृष्ठभूमि भएका ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बिकको मोहना नदीमा धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा शव फेला परेको थियो । सो नाकामा भारतबाट विभिन्न सामान तस्करी हुने हुँदा तस्करसँगको झडपमा उनको हत्या भएको प्रहरीको अनुमान छ । सँगै गएकासाउद फेला परेका छैनन् ।

शव फेला परेको स्थानभन्दा करिब एक किलोमिटरको दूरीमा उखुबारीनजिक प्रहरीको जुत्ता र अन्यको चप्पल पनि भेटिएको छ । प्रारम्भिक अनुसन्धानबाट उखुबारीनजिक हत्या गरेर शवलाई मोहना नदीमा बगाएको देखिएको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार उखुबारीमा घम्साघम्सी भएको देखिन्छ । रगतका छिटाहरूसमेत देखिन्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ