कोरोनाले बिचल्लीमा छन् सप्तरीका किसान

राजविराज । आफ्नै पौरखमा भरोसा गर्ने राजविराज नगरपालिका–६ का युवा ओमप्रकाश शर्मा तरकारी खेतीमा लागेको चार वर्ष भयो । माटोमा पसिना पोखेर राम्रै आम्दानी गरेका उनलाई यस वर्ष भने कोरोनाको कहरले निकै समस्या थपिदिएको छ ।

रोजगारीका लागि बिदेसिने युवाहरू जस्तै उनमा पनि पहिला त विदेशै जाने सोच नआएको पनि होइन । विदेशमा पनि कडा मिहिनेत नगरी पैसा कमाउन सकिँदैन भन्ने साथीभाइबाट बुझेपछि उनले विदेश जाने सोच परित्याग गरी घरमै बसेर व्यावसायिक तरकारी खेती थालेका हुन् ।

बैंकबाट केही ऋण लिएर भाडाको जमिनमा सुरु गरिएको व्यवसायबाट विगतका वर्षसम्म उनले राम्रै आम्दानी पनि गर्दै आएका थिए । बारीमा हुर्केका तरकारीका बोटबिरुवा, लहरा हेरेर दंग परेका ओमप्रकाशले यसपालि पोहोरभन्दा पनि बढी आम्दानी हुने सोचेका थिए । नगरून् पनि किन ? भान्टा, काँक्रो, लौका, फर्सी, करेला, बोडीलगायत जातजातका तरकारीका बोट लहलह देखेका कारण उनमा झनै उत्साह जाग्ने गरेको थियो ।

तर, उनको हर्षित मनमा यस्तो आनन्द धेरै समय टिक्न पाएन । कोरोनाको संक्रमण नेपालमा पनि प्रवेश गरेपछि गत ११ चैतदेखि सरकारले देशैभरि करिब चार महिनासम्म गरेको लकडाउनले लटरम्मै फलेको तरकारी नबिकेपछि बारीमै कुहिँदा उनी अति पीडित बन्न पुगेका हुन् ।

पहिला बारीमै बाहिरका व्यापारी तरकारी किन्न धाउने गरेको र बाँकीलाई स्थानीय हाटबजारमा लगेर बेच्ने गर्दा गरेको मिहिनेतको राम्रै कमाइ भए पनि यसपटक बेच्ने बेलाको तरकारी बारीमै कुहेको टुलुटुलु हेरेर बस्नुको विकल्प नै नभएको उनको दुखेसो छ ।

समस्याका ’boutमा स्थानीय जनप्रतिनिधिदेखि सदरमुकामसम्म पुगेर जानकारी गराउँदा पनि रोकथामको कुनै उपाय नभएको स्थानीय किसानको गुनासो

बन्दाबन्दीका कारणले बाहिर पठाउनसमेत समस्या भएका कारण केही उपाय नलागेपछि आफूले उत्पादन गरेको तरकारी आँखा अगाडि कुहिएका कारण अहिले बैंकको किस्ता तिर्नसमेत समस्या परेको उनले पीडा पोखे ।

कोरोनाका कारण पीडित किसानमा ओमप्रकाश एक्ला भने होइनन् । जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ महुलीका गाईपालक किसान बद्री भण्डारीको पीडा पनि उनको भन्दा कम छैन । गाईपालन व्यवसाय चलाएर दूध बिक्रीबाट भएको आम्दानी नै उनको परिवारको गुजाराको एक मात्र आधार थियो ।

उत्पादित दूध लिएर २२ किलोमिटर दक्षिण सदरमुकाम राजविराजसम्म लगेर उनी बेच्ने गर्दथे । तर, कोरोनाका कारण भएको बन्दाबन्दीले उनका ग्राहक रहेका राजविराजका डेरी तथा होटलहरूले दूध नलिएपछि घाटा बेहोर्नुपरेको उनको भनाइ छ ।

बिक्री घटेका कारण डेरीले दूध लिन नमानेको अनि बन्दाबन्दीमा होटल पनि बन्द रहेका कारणले दूध नबिकेपछि आफूजस्ता सामान्य पशुपालकका लागि बज्रपातैसरह भएको उनले बताए । ‘कोरोनाका कारण बजारमा चहलपहल घटेको छ,’ उनले थपे, ‘यस्तोमा टाढाटाढा पुगेर दूध बेच्न पनि जोखिम भएकाले अहिले हामीलाई निकै समस्या परेको छ ।’

कोरोनाकै कारण पीडित हुनेमा यहाँका कुखुरापालक पनि अछुतो छैनन् । कुखुराको मासु खाए कोरोना सल्किन्छ भनी चलेको हल्लाबाट उसै पनि बिक्री घटेको राजविराज–१ स्थित कुखुरा फर्मका सञ्चालक ताज महम्मद बताउँछन् ।

‘कोरोनाको हल्ला चल्नासाथ कुखुराको मासु खाए कोरोना सर्छ भन्ने अफवाह चल्दा कुखुरा बिक्रीमा २५ प्रतिशन ह्रास आयो,’ उनले भने, ‘पछि त बन्दाबन्दी नै भएपछि अहिले थला बसेको अवस्था छ ।’

कोरोनाका कारण विवाह भोजभतेर बन्दै भएका कारण त्यसको प्रत्यक्ष असर आफूहरूमाथि समेत परेकोे उनको भनाइ छ । बन्दाबन्दीले गर्दा पसलमा कुखुरा काटेर बेच्न पनि सम्भव नभएको तथा होटल र पार्टी प्यालेसमा पनि माग नभएका कारण यस पटक अढाई लाखको घाटा परेको महम्मद बताउँछन् । बन्दले गर्दा बाहिरबाट दाना आयातमा समेत समस्या भएको र जसोतसो जोगाएका कुखुरा पनि नबिकेका कारण आफूहरू ठूलो समस्यामा परेको उनको भनाइ छ ।

कोरोनाले गर्दा आफूजस्ता व्यवसायीमाथि परिरहेको समस्यालाई दृष्टिगत गरी सरकारले अहिलेसम्म कुनै राहत नदिँदा व्यवसायलाई कसरी अघि बढाउने भन्ने चुनौती थपिएको उनले सुनाए ।

‘उँभो लाग्दै आएको व्यवसाय एक्कासि धराशायी बन्न पुग्यो,’ उनले थपे, ‘मलगायत जिल्लाका ३२ कुखुरा फार्म सबैको अवस्था अहिले चौपट भएको छ ।’

कोरोनाकै कारणले जिल्लाको प्रमुख उत्पादन धान बालीमा पनि कम नोक्सानी भएको छैन । समयमा वर्षा भएपछि यस वर्ष समयमै रोपाइँ पनि भएको हो । तर, रोपाइँपछि आवश्यक पर्ने रासायनिक मल अभावका कारण बाली सप्रिन नपाएको किसानहरूको भनाइ छ ।

यसपटक सरकारले रासायनिक मलको व्यवस्था गर्न नसकेको तथा सीमावर्ती भारतीय बजारबाट पनि मल ल्याउन नपाएका कारण बाली चौपट भएको तिलाठी कोइलाडी गाउँपालिकाका किसान प्रदीप मण्डलले बताए ।

‘पोहोर परार पनि आवश्यक मात्रामा रासायनिक मल उपलब्ध नहुँदा भारतीय बजारबाटै अलिअलि भए पनि ल्याएर जसोतसो काम चलाउने गरिएको थियो,’ उनले भने, ‘यसपटक नाका सिल गरी आवतजावत रोकिँदा मल हाल्न सकिएन र बाली सखाप बन्यो ।’

रासायनिक मल नपाएर छटपटाएका बेलामा नै धान बालीमा विभिन्न रोगको आक्रमण भएपछि गरिएको मिहिनेत तथा लगानी डुब्ने अवस्थामा पुगेको मण्डलले दुखेसो सुनाए । धानमा गबारो, पातबेरुवा, फड्के, सितब्लाइथ, लिफब्लाइथलगायतका रोगको प्रकोप फैलिँदा बन्दाबन्दीका कारण उपचारको केही उपाय गर्न नसकिएको उनले बताए ।

समस्याका ’boutमा स्थानीय जनप्रतिनिधिदेखि सदरमुकामसम्म पुगेर जानकारी गराउँदा पनि रोकथामको कुनै उपाय नभएको स्थानीय किसानको गुनासो रहेको छ ।

कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार सप्तरीमा यो वर्ष कुल ६३ हजार हेक्टरमा धान बाली लगाइएको छ । तर, रोगका कारण ३० प्रतिशत धान उत्पादनमा ह्रास आउने केन्द्रको पूर्वानुमान छ । यसैगरी, लहरे बाली र तरकारी खेतीमा ४० प्रतिशत जति नोक्सानी भएको अनुमान गरिएको छ ।

केन्द्रका बाली संरक्षण अधिकृत दिनेशप्रसाद यादवका अनुसार कोरोना संक्रमणका साथै लामो बन्दाबन्दीले गर्दा कार्यालयले सम्पादन गर्ने नियमित काममा समेत बाधा उत्पन्न भएको छ । सीमित कर्मचारी मात्र राखेर कार्यालय सञ्चालन गर्नुपरेको र प्राविधिक तथा कृषि विज्ञलाई स्थलगत रूपमा खट्न पनि कठिनाइ भएको यादवले बताए । उनले भने, ‘बालीमा समस्या हुँदा विगतमा किसानहरूले कार्यालयमै आएर पनि जानकारी दिने गरेका थिए तर यसपटक असहज अवस्थाका कारणले उनीहरू पनि उति साह्रो आएका छैनन् ।’

अधिकृत यादवका अनुसार रोग लागेपछि आवश्यक पर्ने कीटनाशक औषधिसमेत भारतबाटै ल्याउनुपर्ने भएका कारण नाका सिल रहेकाले समस्या भएको हो ।

‘मलखादको व्यवस्थादेखि रोग नियन्त्रणका लागि विषादी छर्किनेलगायतका काम यसपटक प्रभावित बन्न पुगेको छ,’ बाली संरक्षण अधिकृत यादवले भने, ‘कोरोनाका कारण यहाँको कृषि क्षेत्रसमेत नराम्ररी प्रभावित बन्न पुग्यो ।’ समग्रमा जिल्लाका १ लाख ४० हजार किसान कोरोना महामारीबाट यो वर्ष प्रभावित बनेको यादवको अनुमान छ ।

तपाइको प्रतिक्रिया
(Visited 363 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित