काठमाडौं । छोटो समयमै नेपाली गीतसंगीत क्षेत्रमा म्युजिक भिडियो सम्पादकको रूपमा फरक चिनारी बनाउन सफल विनोद बमले पछिल्लो समयमा निर्देशनको क्षेत्रमा पनि आफूलाई अब्बल बनाउँदै आइरहेका छन् । औपचारिक रूपमा विन्दावासिनी म्युजिकबाट सम्पादनको ढोका उघारेका बम व्यावसायिक रूपले पनि सम्पादकको रूपमा चिनिन थाल्दा उनलाई अहिले फुर्सद नै मिलेको छैन ।
कलाकारिताभित्रको लुकेको कला प्रदर्शन गर्दै पछिल्लो समयमा भिडियो सम्पादक बमले पछिल्लो पुस्ताका चर्चित गायक गायिकाहरूको विभिन्न म्युजिक भिडियोमा मोडलहरूलाई उत्कृष्ट निर्देशन दिन सफल भएका छन् ।
विन्दावासिनी म्युजिक प्रालिको प्रस्तुतिमा रहेको वरिष्ठ गीतकार रमेश बिजीको रचना अनि नरेश खातीको लय र मेक्सम खातीको आवाजमा रहेको लोक गीत ‘अँधेरी खोलीको तीरैमा तिम्रो पीरैमा’ बोलको गीत निर्देशन गरेपछि एकाएक चर्चामा आएका उनले आफूलाई निर्देशनको क्षेत्रमा पनि अब्बल साबित गरेका छन् । गीत र म्युजिक भिडियो समर्थकले निकै रुचाइएको थियो ।
उनले वरिष्ठ गायक रामकृष्ण ढकालको ‘बनावटी संसार’ बोलको गीतको निर्देशन तथा सम्पादनपश्चात् वरिष्ठ गायिका रीमा गुरुङ होडाको ‘तिमी जून बन्यौ कि’ बोलको गीतमा समेत निर्देशन र सम्पादन गरिसकेका छन् । यसबाहेक उनले केही म्युजिक भिडियोमा अभिनय र केही चलचित्रको सम्पादनसमेत गरिसकेका छन् ।
म्युजिक भिडियो सम्पादन सँगसँगै निर्देशनमा पनि आफ्नो सिर्जनात्मक कला प्रस्तुत गरिसकेका म्युजिक भिडियो सम्पादक बम पछिल्लो समय निकै ब्यस्त निर्देशकका रूपमा देखिएका छन् । हालै मात्र बजारमा आएको गीत वरिष्ठ गायक नरेन्द्र प्यासीको स्वरमा, गणेशबाबु अधिकारी र हिमाल गौतमको शब्द तथा पछिल्लो समयका लोकप्रिय गीतकार तथा संगीतकार अनिल खनालको संगीतमा रहेको ‘कस्तो यो खेल खेलेर गयौ’ (जुन स्मृति गीति एल्बममा समावेश गरिएको मुख्य गीत हो) बोलको गीतलाई निर्देशन तथा सम्पादन गरेका छन् । उक्त गीतलाई जीवन्त रूपमा लोकप्रिय मोडल सनम कठायत र सम्झना गौतमको अभिनय देख्न सकिन्छ । भिडियो अत्यन्तै लोभलाग्दो र मर्मस्पर्शी देखिएको छ ।
बैतडीको पुर्चौडी नगरपालिका–२ मा जन्मिएका बलमे २०७० बाट सांगीतिक यात्रा सुरु गरेका हुन् ।
बमले अहिलेसम्म २ सयभन्दा बढी आधुनिक र लोकदोहोरी म्युजिक भिडियो सम्पादन कार्य गरिसकेका छन् । त्यस्तै, म्युजिक भिडियो सम्पादक बमले निर्देशन गरेका पाँच दर्जन बढी आधुनिक गीत र एक दर्जनको हाराहारीमा लोकदोहोरी गीतका भिडियो बजारमा आइसकेका छन् । बाँकी केही आधुनिक गीत तथा लोकदोहोरी गीतका भिडियोहरू तिहारलगत्तै रिलिज हुनेक्रममा रहेका निर्देशक बमले बताएका छन् ।