लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल गैरआवासीय नेपालीलाई नागरिकता दिने ऐन छिट्टै पारित हुने ढुक्क रहन आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली संघ बेलायतद्वारा ‘सम्पत्तिको सुरक्षा – नागरिकताको निरन्तरता र समानतामा आधारित गोर्खाज आन्दोलन’ विषयमा शनिबार आयोजित वेबिनारलाई सम्बोधन गर्दै सभापति पोख्रेलले गैरआवासीय नेपालीले नेपाली नागरिकसरह आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउने कुरा संविधानले नै सुनिश्चित गरेको र त्यसमा कुनै भेदभाव नहुने बताउनुभयो ।
बेलायती सेनाबाट सेवा निवृत्त भएपछि हाल बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिकको नेपाली नगरिकताको निरन्तरताका विषयमा उठेका प्रश्नको जवाफ दिंदै सभापति पोख्रेलले गोर्खा सैनिकले गर्दा नेपालको शिर ठाडो भएको बताउँदै भन्नुभयो, “गोर्खा भूपू सैनिकहरुको नेपाली नागरिकतालाई निरन्तरता दिँदा नेपाललाई कुनै नोक्सान हुने म देख्दिन । संविधान संशोधनका क्रममा भूपू गोर्खा सैनिकहरुका लागि छुट्टै व्यवस्था गर्न सकिन्छ, छलफल गरौँ ।”
एनआरएनएको नागरिकता निरन्तरता समितिका केन्द्रीय संयोजक तथा उपाध्यक्ष सोनाम लामाले एनआरएनको गैरआवासीय नेपाली नागरिकता सुरक्षित रहेकाले त्यस’bout आशंका नगर्न आग्रह गर्दै नेपालको संविधान संशोधन गरेर भए पनि गोर्खा सैनिकको नेपाली नागरिकतालाई निरन्तरता दिन अनुरोध गर्नुभयो ।
एनआरएनएका केन्द्रीय महासचिव डा हेमराज शर्माले एनआरएनएको स्थापनायता एनआरएन नेतृत्वले गरेको लगातार प्रयासका कारण मात्रै अहिलेको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान राख्न सम्भव भएको बताउनुभयो । उहाँले नयाँ ऐनमा एनआरएनहरुले नेपालमा गएर काम गर्न पाउने कि नपाउने भन्ने स्पष्ट नभएकाले यस’bout छलफल जारी रहेको जानकारी दिनुभयो ।
गोर्खा सरोकार समितिका संयोजक अनररी लेफ्टिनेन्ट चन्द्रबहादुर गुरुङले सुगौली सन्धिका आधारमा नै गोर्खा सैनिक बेलायत आएकाले नेपाललाई संसारभरि चिनाउने उनीहरुको नेपाली नागरिकतालाई निरन्तरता दिनुपर्ने माग गर्नुभयो ।
एनआरएनए बेलायतका अध्यक्ष पुनम गुरुङले एनआरएन नागरिकताको विषय ५०–६० लाख गैरआवासीय नेपालीको सरोकार भएको बताउंदै गैरआवासीय नेपालीको नागरिकताको निरन्तरताका लागि एनआरएन बेलायतले सरोकार पक्षसँग पैरवी गरिरहेको जानकारी दिनुभयो ।






