करिब एक महिनाअघि नै दसैंको ‘ह्याङ’ले छोइसकेको हुन्थ्यो । बिहानीले नै दसैं आएको छनक दिन्थ्यो । ‘आमा दसैं आउन लाग्यो है !’ आमासँग बिहान बिहानै खुसियाली साट्न पाउँदा औधी आनन्द अनुभूत हुन्थ्यो । दाइ र दिदीको साथले वातावरणलाई झनै मनमोहक र रमाइलो बनाइदिन्थ्यो ।
बाल्यकालमा दसैंको उत्साह र रौनक छुट्टै हुन्थ्यो । दसैंमा मामाघरको पनि विशेष महत्व हुन्छ । हरेक दसैंैमा मामाघर जान पाइएन भने दसैं अपूर्ण जस्तै हुन्थ्यो ।
स्कुलमा पनि दसैं आउनुभन्दा झन्डै ३ साताअघिदेखि नै स्कुलको सरसफाइमा जुट्दै दसैंलाई बोलाइन्थ्यो । रातो र सेतो माटोले स्कुल र घर पोतेको झलझली याद आइरहन्छ । यस्तै जुनेली रातमा बालसखासँग डोरे पिङ खेलेको याद अहिले पनि स्मृतिमा ताजै छ ।
बुबाआमाले छोराछोरीको रुचिअनुसारका परिकारको जोहो दसैं आउनुभन्दा एक दुई हप्ताअघिदेखि नै गर्नुहुन्थ्यो । बुबा र दाइले अष्टमी तथा दसैंमीका लागि मार हान्न खसी तथा बोकाको जोहो समयमा नै गर्नुहुन्थ्यो । आमाले करिब करिब ८४ व्यञ्जनका परिकार तयारी अवस्थामा राख्नुहुन्थ्यो । कटुस, बदाम, भब्बे , चिउरा, केरा, सुन्तला, स्याउ, सेलरोटीलगायतका परिकार तथा फलफूल छानी छानी खान पाउने गरी व्यवस्थापन गरिदिनुहुन्थ्यो । आमाबुबाले धेरै मिहिनेत गरेर दसैंमा रंगीविरंगी लुगाहरू पनि किनिदिनुहुन्थ्यो । सेलरोटी र मासु पेटभरि खाना पाउँदा, नयाँ लुगा र जुत्ता लगाउन पाउँदा मन साह्रै फुरुङ्ङ हुन्थ्यो ।
रातो र सेतो माटोले स्कुल र घर पोतेको झलझली याद आइरहन्छ । यस्तै जुनेली रातमा बालसखासँग डोरे पिङ खेलेको याद अहिले पनि स्मृतिमा ताजै छ ।
रोजीरोजी खानेकुरा खान पाउँदाको मजा नै छुट्टै हुन्थ्यो । बाल्यकालको दसैं पो दसै ! प्रायः बाल्यकालबाट वयस्क अवस्थामा पुगेका सबैको अनुभव यस्तै हुने गर्छ ।
कुनै चिन्ता, रिसराग र पूर्वाग्रह हुँदैनथ्यो । बस, बिहान उठ्नेबित्तिकै आमाले बनाइदिएको घरेलु खाजा खाएर गाउँघर घुमेर र पिङमा झुम्मिएरै दिन बित्थे । घटनास्थापनादेखि टीकाको दिनसम्मको दिनचर्या अत्यन्तै रमाइलो हुन्थ्यो । जब टीकाको दिन आउँथ्यो, गाउँघरतिर अग्रजहरूसँग टीका लगाएर घण्टौं हिँडेर मामाघर पुगिन्थ्यो । मामाघरमा हजुरआमा र मामामाइजूसँग आशीर्वाद लिँदाको क्षण पनि निकै आनन्ददायी हुन्थ्यो ।
यसो त दसैं हाम्रो सदाबहार चाड हो । जतिसुकै वयस्क हुँदै गए पनि जोसुकैलाई यो चाडले मनमुटु छोइरहेकै हुन्छ । सद्भाव, एकता र हरेक नेपालीलाई एउटै सूत्रमा बाँध्ने चाड भएकाले पनि दसैंको विशेष महत्व छ ।
अहिले विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना संक्रमणको दर नेपालमा पनि बढ्दो छ । तर पनि हरेक नेपाली कोरोना त्राससँग भिड्दै दसैं पर्वलाई उत्साहका साथ मनाउन जुटिरहेका छन् । धर्मसंस्कृति हाम्रो आस्था र धरोहर हो । मनमुटुमा गहिरो गरी गाडिएको धर्मसंस्कृति मनाउन जस्तासुकै ठूला समस्या आए पनि रोक्नेछैन भन्ने कुराको पुष्टि अहिले देखिएको दसैंैको हर्षोल्लासमय वातावरणले पनि गर्छ ।
अहिले सबैको घरघरमा दसैंको रमाइलो वातावरण सुरु भइसकेको छ । जहाँसुकै रहे पनि मानिसहरू आआफ्नो घरमा फर्कने क्रम सुरु भएको छ । तर, अहिले परिस्थिति जोखिमपूर्ण भएकाले यो चाड मनाउँदा विशेष ध्यान दिनैपर्छ ।
सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क लगाउनुपर्ने र साबुनपानीले हात धुने कार्यलाई निरन्तरता राख्दै दसैंैलाई हर्षोल्लासका साथ मनाउनुपर्छ । दसैंमा त्यतिबेला रेडियो नेपालबाट भगवती देवीले शुम्भ निशुम्भ दानवको वध गरेको नाटक नियमित रूपमा प्रसारण गरिन्थ्यो । हामी पनि गाउँमा जहाँसुकै रमाइरहे पनि सो नाटक प्रसारण हुने समयमा भने घरमै जम्मा भएर एकाग्रपूर्वक खुसी हुँदै नाटक सुन्थ्यौं । नाटकले असत्यमाथि सत्यको विजय भएरै छोड्ने सन्देश दिन्थ्यो ।
आहा ! संकटका बीच पनि हर्षोल्लासमय वातावरणले सबैको मन प्रफुल्लित भइसकेको छ । सहर बजारमा नीलो आकाशमा चंगा देखिन थालेका छन् । गाउँघरमा पिङ बनाउने हतारो सुरु भइसकेको छ । सहरबाट घरगाउँ फर्किन थालिसकेका छन् । कोरोना महामारीका कारणले होला, विदेशमा रहेका नेपाली दाजुभाइ स्वेदश फर्कने क्रममा भने केही कमी आएको छ । त्यसैले उनीहरूको घरपरिवारमा भने दसैंको उल्लासमय वातावरणमा खल्लोपन छ । यद्यपि, स्वदेशमा हुने आफन्तहरूले दसैं मनाउने तयारीलाई खासै कमी आउन दिएका छैनन् ।
चौतर्फी घरआँगन चिटिक्क बनाइएको छ । बाटाघाटा सफासुग्गघर बनाउन थालिएको छ । घरका भित्ता रंगाइएको छ । हरेकको भान्सामा थरी थरीका परिकार पाक्न थालिसकेका छन् । सर्वत्र उल्लास र मनमोहकता छाएको छ । त्यसैले त, दसैं आइसकेको छ । आहा ! कति सुन्दर मौसम, कति सुन्दर वातावरण ! कसको मन प्रफुल्ल नहोला र ?
बिहान घरघरमा नियमित रूपमा नै पूजापाठ भइरहेका छन् । असोज शुक्ल प्रतिपदादेखि दसैंमीसम्म १० दिन पूजापाठ गरी मनाइने हुँदा पनि धार्मिक रूपमा यो चाडको विशेष महत्व छ । असत्यमाथि सत्यको विजय भएको खुसियालीमा यो चाड मनाइने भएकाले हामी सबै जना सत्यको बाटोमा हिँड्नुपर्छ भन्ने सन्देश समेत यो चाडले दिने गरेको छ । हामीले यो चाड मनाइरहँदा सबै मिलेर सत्मार्ग, इमानदारिता र नैतिकताको बाटोमा हिँड्ने प्रण गर्नुपर्छ । सबै मिलेर कोरोनामाथि विजयी हासिल गर्न सक्ने क्षमताको अभिवृद्धि होस् भन्ने कामना गर्नैैपर्छ । बडादसैंको आगमन सँगै सरकारमा बस्नेहरू सबैमा जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्न सक्ने सद्बुद्धि पलाउन सकोस् भने आम नागरिकमा पनि सकारात्मक सोचको विकास हुन सकोस्, यही शुभकामना !