जलविद्युत् क्षेत्रका कम्पनीले दिएनन् लाभांश : पाँच वर्षदेखि लाभांश नदिनेमा २० कम्पनी

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ३२ कम्पनीमध्ये २० वटा कम्पनीले विगत ५ वर्षयता कुनै पनि लाभांश दिएका छैनन् । आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्म त्यस्ता कम्पनीले लाभांश नदिएको पाइएको हो । यद्यपि, गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गर्नेक्रम अझै जारी छ । २० वटामध्ये केही कम्पनी नेप्सेमा सूचकिृत भएको एक वर्ष पनि भएको छैन ।
चालू आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्रमा लाभांश घोषणा गरेर वार्षिक साधारणसभा गरिसक्नुपर्ने प्रवधान भए पनि हाइड्रोपावर कम्पनीले यसलाई व्यवहारमा अहिलेसम्म लागू गर्न सकिएका छैन ।

जलविद्युत् क्षेत्रलाई नियमन गर्ने उद्देश्यले स्थापना भएको विद्युत् नियमन आयोगले भने यसको नियमन सेबोनले गर्नुपर्ने बताएको छ । आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले आयोगमा कर्मचारी अभावका कारण प्रभावकारी रूपमा कार्य गर्न नसकेको स्विकारे । उनले भने, ‘कुनै कम्पनीले बदमासी गरेको छ भने हामीले त्यस्ता कम्पनीलाई नियमभित्र ल्याउन ऐन कानुन बनाउँदै छांै, अहिले हामीसँग जनशक्ति अभावले सबै कुरा नियमन गर्न सकिरहेका छैनौं ।’ त्यसकारण अहिले हामीले भन्दा पनि लगानी कर्ता स्वयंले बढी सजग रहनुपर्ने देखिन्छ ।


हालसम्म पाँच वर्षयता लगातार लाभांश दिने चिलिमे हाइड्रोपावर एक मात्रै कम्पनी रहेको छ । यो कम्पनीले पाँच वर्षको दौरानमा ८० प्रतिशत बोनस सेयर र ४२ प्रतिशत नगद लाभांश दिएको छ । त्यस्तै, बुटवल पावरको २७ प्रतिशत बोनस सेयर र १०६ प्रतिशत नगद, रिडी हाइड्रोपावरको २३.२६ प्रतिशत बोनस सेयर र ११.४८ प्रतिशत नगद, अपी पावरको १८ प्रतिशत बोनस सेयर, बरुण हाइड्रोको ५.२६ प्रतिशत, नेपाल हाइड्रोको ४.२१ प्रतिशत, न्याङ्दी ग्रुपपावरको २५.५३ प्रतिशत, राधी विद्युत्को १० प्रतिशत, सानिमा माइको २५.५३ प्रतिशत र युनाइटेड मोदीले १८.४२ प्रतिशत लाभांश वितरण गरेका छन् ।
अधिकांश कम्पनीहरूले कारोबारमा आएदेखि नै लगानीकर्तालाई लाभांश दिएका छैनन् । लगानीकर्ताको रोजाइमा भने जहिले पनि आकर्षक लाभांश दिने कम्पनीहरू नै पर्ने गरेका छन् । जलविद्युत् कम्पनीको लाभांश आकर्षक नभएकै कारण दोस्रो बजारमा अधिकांश कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा निकै तल छन् । पछिल्लो समय जलविद्युत् क्षेत्रमा लगानीकर्ताको चासो निरन्तर घट्दै गएको पाइन्छ । चासो घट्नुमा लामो समयसम्म पनि कम्पनीहरूले लाभांश नदिनु प्रमुख कारण भएको लगानीकर्ता बताउँछन् ।

अर्को तर्फ चालू आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्ने अधिकांश कम्पनीहरूको वित्तीय प्रगति भने सन्तोषजनक नै रहेको छ । हालसम्म दोस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्ने २९ वटा कम्पनीमध्ये १९ वटा कम्पनीले मुनाफा कमाएको विवरण सार्वजनिक गरेका छन् । भने दुईवटा कम्पनी नोक्सानमा रहँदा आठवटा कम्पनी यथास्थानमा रहेका छन् ।

नाफा कमाउनेमा रकमका आधारमा बुटवल पावर कम्पनीले ८५ करोड ८८ लाख नाफा आर्जन गरेको हो । सानिमा हाइड्रोले २८ करोड ७९ लाख, पाँचथर पावरको ८ करोड १७ लाख नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा अरुण काबेलीको प्रतिशतका आधारमा १५८०.६३ प्रतिशतले मुनाफामा वृद्धि भई ४ करोड २८ लाख ७३ हजार नाफा कमाएको हो ।


कालिका पावर कम्पनी, युनाइटेड मोदी, नेसनल हाइड्रोपावर, नेपाल हाइड्रोपावर, सिनर्जी हाइड्रो, रिडी हाइड्रोपावर, अरुण भ्याली, पाँचथर पावर, युनियन हाइड्रो, ङादी गु्रपपावर, हिमालयन ऊर्जा, छ्याङ्दी हाइड्रोपावर, रैराङ, रिडी, अरुण काबेली, बरुण, नेसनल, युनिर्भसल, रसुवागढी, आखुँखोला र राधी विद्युत् कम्पनीले नाफा कमाएका छन् ।


अर्कोतर्फ सातवटा कम्पनी नोक्सानमा रहेका छन् । जसमध्ये खानीखोला हाइड्रोपावर सर्वाधिक ६ करोड ६८ लाख ९७ हजार नोक्सानमा रहेको छ । अपर तामाकोसी २ करोड ३३ लाख नोक्सानमा रहेको छ । साथै, माउन्टेन हाइड्रो, दिव्यश्वरी हाइड्रो, आखुँखोला हाइड्रो, रसुवागढी हाइड्रो, सान्जेन जलविद्युत् र अपर तामाकोसी हाइड्रोपावर कम्पनी नोक्सानमा रहेका छन् ।

लाभांश नदिने कम्पनी र सेयर मूल्य
कम्पनी हालको सेयर मूल्य रु.
अपर तामाकोसी २३८
आँखुखोला हाइड्रोपावर ५६
अरुण काबेली १३७
कालिका पावर १०६
खानीखोला हाइड्रोपावर ५२
घलेम्दी हाइड्रोपावर ७९
जोसी हाइड्रोपावर ६५
दिव्यश्वरी हाइड्रोपावर ५६
माउन्टेन हाइड्रोपावर ९७
नेसनल हाइड्रोपावर ६४
पञ्चकन्या माई १००
पाँचथर पावर कम्पनी १२७
सान्जेन जलविद्युत् १५८
सिनर्जी पावर १०५
रसुवागढी हाइड्रोपावर १६७
रैराङ हाइड्रोपावर १०२
हिमालय ऊर्जा १०९
हिमालयन पावर पार्टनर १५९
युनिर्भसल पावर ७९
युनियन हाइड्रोपावर ६२

तपाइको प्रतिक्रिया
(Visited 431 times, 1 visits today)

epaper

ताजा समाचार

कैलालीका नदीमा डल्फिनको चहलपहल