कोरोना महामारी आफैंमा चरण र प्रतिचरण गरी घुम्दै र अर्को संक्रमणकारी स्वरूपमा देखापर्दै गरेपछि विश्व त्राहिमाम बन्न गएको छ । यसले महामारीसँगको लडाइँ कुनै सरकार, संस्था वा संक्रमितले मात्र होइन, सबैले एकसाथ लड्नुपर्ने पाठ पनि सिकाइरहेको छ । विश्वमै यो महामारीको संक्रमण आम रूपमा देखापरेपछि यो जटिल र दीर्घकालीन बनेर देखापरेको छ । यसको नियन्त्रणका लागि रोकथामका उपायहरू अब काम नलाग्ने देखिएका छन् । मानिसको थुकको छिटा, दुई मिटरसम्मको ताजा श्वासप्रश्वास तथा औंलाको स्पर्श तथा चुम्बनलाई संक्रमणको मुख्य कारक मानिए तापनि ती मात्र कारक हुन् र हुन सक्छन् भन्ने कुरा स्वास्थ्य विज्ञानले नै प्रमाणित गर्न सकिरहेको छैन । यस्तो अवस्थामा यसको संक्रमणका अरू केके कारक हुन सक्छन्, त्यो पनि स्पष्ट रूपमा खुल्न सकेको छैन । आम रूपमा जनमानसका बस्तीहरूमा घुसिसकेको कोरोना महामारीको संक्रमण अब सामूहिक लडाइँभन्दा अरू उपायबाट सम्भव छैन । रोग वा महारोगको प्रतिरोध त्यो रोगको प्रकृति र प्रवृत्तिअनुसार लडेर मात्र त्यसमाथि विजय हासिल गर्न सकिन्छ । यस’boutमा समयमै सतर्क भई रोग निरोधक उपायहरू सामूहिक रूपमा अपनाउन जरुरी छ ।
महामारीको संक्रमणमा ऋतु परिवर्तनले पनि असर पार्ने देखिएको छ । रोगको प्रकृति र संक्रमणको प्रक्रियाअनुसार गर्मी, ठन्डी, बर्साद आदि ऋतुका कारण पनि संक्रमणको ढिलो वा छिटो फैलावट देखिएको छ । हिउँदको आगमनसँगै कोरोना महामारी अझ गहिरो गरी बल्झने चेतावनी स्वास्थ्य विशेषज्ञले दिएपछि सूर्य दक्षिणायनसँगै उत्तरी ध्रुवमा रहेका राष्ट्र र त्यहाँका जनता थप सतर्क हुन थालेका छन् । चिसो र निमोनिया कोरोना महामारी संक्रमणको राजमार्ग भएकाले पनि सन्निकट चिसो मौसममा बढी सतर्क रहन सुझाइएको छ । यो सुझाव स्वास्थ्य विज्ञानका हिसाबले व्यावहारिक पनि छ । निमोनियाले भेटेका बालक, सुत्केरी आइमाई, दीर्घ रोगी, ब्रोङ्काइटिसका रोगी, दमका बिरामी, चिनी रोग भएका र कमजोरमाथि कोरोना महामारीले ननिकै गरी संक्रमण गरिरहेको छ । यस्ता प्रकृतिका रोग भएकाहरूका लागि कोरोना काल बनेर देखा पनि परिरहेको छ । त्यसो त कोरोना संक्रमण जोकोहीलाई पनि हुने गरेको परीक्षणले देखाएको छ । यो सामूहिक महामारीका रूपमा देखापरेको छ ।
यो महामारी संक्रमण नियन्त्रणका लागि हालसम्म विश्व स्वास्थ्य बजारमा बनेका औषधिको पनि प्रभाव र परिणाम यकिन हुन सकिरहेको छैन । यसले गर्दा निर्माण भइरहेका र क्रमशः प्रयोगमा आइरहेका औषधिको पनि विश्वसनीयतामा आशंका बढिरहेको छ । अर्को कुरा कोरोना महामारी आफंैले स्थान, हावापानी, संक्रमणको चरण, स्थानीय जनतामा रहेको रोग प्रतिरोधी क्षमता तथा मौसम आदिको विशिष्टतामा आफूलाई परिमार्जित र थप विकसित रूपमा विकास गर्दै लगिरहेको देखिन्छ । यसले पनि यो महामारीविरुद्धका औषधि एकै प्रकार वा एउटै कम्पोजिसनमा बनाएर सधैं काम लाग्ने र ढुक्क हुन सक्ने पनि देखिँदैन । औषधि पत्ता लाग्दै गर्ने र महारोगको संक्रमणले नयाँनयाँ स्वरूप र गति लिँदै गर्ने हुनाले पनि संक्रमणको स्वरूपसँगै औषधि निरन्तर रूपमा संक्रमणको प्रकारअनुसार पत्ता लगाउँदै जानुपर्ने देखिन्छ । रोकथाम, नियन्त्रण वा निर्मूलीकरण आदि जेसुकै भए पनि मानवको सामूहिक प्रयास भएन भने कोरोनासहित जुनसुकै महामारीविरुद्ध लड्न पनि कठिनाइ हुने कुरा भुल्नुहुँदैन ।