नेपाल बहुजातीय, बहुधार्मिक बहुसांस्कृतिक एवं बहुपर्व भएको देश हो । यहाँ विभिन्न जातजाति, धर्म एवं सम्प्रदायका मेला पर्वहरू वर्षभर नै घुमिफिरी आउने गर्दछन् । भरखरै नेपालीको बडादशमी सकिएको छ । अब केही दिनमा तिहार आउँदै छ । नेवार समुदायले मनाउने म्हपूजा, तराईमा विशेषगरी मधेसी समुदायमा मनाइने छठ पर्व, मंसिर महिनामा राई, लिम्बु, याक्खा, सुनुवार आदि किरात वंशीले मनाउने उधौली, पुस महिनामा गुरुङ, तामाङ, सेर्पा, थकाली, मनाङे, जिरेल, मगर आदि समुदायले मनाउने ल्होसार पर्व, माघे संक्रान्ति, थारू समुदायको माघी, सुदूरपश्चिममा मनाइने गौरा पर्व, होली, बुद्ध पूर्णिमा, जनैपूर्णीमा, तीजलगायतका अन्य मेला पर्वहरू वर्षभरि नै मनाउने चलन छ । यसैगरी मुस्लिम समुदायले मनाउने इद र बकरिद पर्वहरूको पनि आफ्नै सामाजिक एवं धार्मिक महत्व र सन्देश रहेको छ ।
किंवदन्तीअनुसार परापूर्वकालमा दैत्यको आतंकबाट हैरान भएका देवताले शक्ति रूपिणी दुर्गा भवानीको आरधना गरेपछि दुर्गा भवानी प्रकट भएर देव–मनुष्यलाई सताउने शुम्भ, निशुम्भ, रक्तबीज र महिषासुर आदि असुरको विनाश गरी उनले असत्यलाई पराजित गरिन् र सत्यको संरक्षण गरेकोले देवताहरूले निर्भय भई दुर्गा भवानीको पूजा–आराधना गरेर खुसियाली मनाउने क्रममा सुरुवात भएको धार्मिक मान्यता रहेको दसैं पर्वले व्यक्ति र समाजलाई असत्यको बाटो त्यागी सत्यको मार्गमा लाग्ने सन्देश दिएर बिदा भएको छ ।
अहिले नेपाली समाज तिहार पर्वको आगमनमा प्रतीक्षारत छ । लक्ष्मीमाताको पूजा आरधना गरी भाइटीका लगाएर दाजुभाइ एवं दिदीबहिनीको सम्बन्ध प्रगाढ बनाउने यस पर्वले पारिवारिक मेलमिलाप र सम्बन्धलाई बलियो बनाउँदै आएको छ । यस दिन विशेष गरेर हिन्दू धर्मालम्बीले आआप्mना घरलाई लिपपोत, सरसफाइ गरी, घरको ढोकादेखि पूजाकोठासम्म रातो माटोले लिपेर, अबिर, चामलको पिठो र पूmलहरूले बाटोलाई सजाएर लक्ष्मीको आह्वान गर्ने चलन छ । वैदिक परम्पराअनुसार लक्ष्मीमातालाई धनकी माता, शोभा, सौन्दर्य, सुख, समृद्घि, सौभाग्य, आरोग्य तथा सिर्जनाकी देवीका रूपमा मान्ने चलन छ । लक्ष्मीको स्वागतार्थ घरका ढोकामा सयपत्री फूलका मालाले सिँगारी यस दिन धनको सिंहासन मूल ढुकुटीमा बत्ती बालेर विशेष रूपमा पूजाआजा गरिन्छ ।
तिहारमा दिदीबहिनीले आआप्mना दाजुभाइलाई भाइटीकाको निमन्त्रणा दिई निधारमा सप्तरंगी टीका लगाइदिएर दीर्घायुको कामना गर्दै कहिल्यै नसुक्ने तेल, शिरमा लगाई कहिल्यै नओइलाउने पूmल मखमलीको मालाले सजाई पूजा गरेर ओखर फुटाएर आप्mना दाजुभाइका शत्रुवैरीको नाश होस् भनी आशीर्वाद दिने चलन छ । यसरी हेर्दा तिहारले दाजुभाइ तथा दिदीबहिनीको बीचमा प्रगाढ माया, आपसी स्नेह तथा सद्भावको भावना अभिवृद्धि गर्ने सन्देश दिएको छ ।
लक्ष्मीमाताको पूजा आराधना गरी भाइटीका लगाएर दाजुभाइ एवं दिदीबहिनीबीच सम्बन्ध प्रगाढ बनाउन तिहार पर्वको ठूलो महत्व छ ।
तिहारमा नेवार समुदायमा म्हपूजा गर्ने चलन छ । नेवार समुदायले मनाउने म्हपूजा ७९० सालदेखि मनाउन थालिएको इतिहास छ । लिच्छवी राजा जयदेव द्वितीयका पालादेखि नेपाल मण्डलमा रहेका नेवारले म्हपूजालाई प्रचलनमा ल्याएका हुन् । नेवार समुदायले म्हपूजा शरीरको शुद्धि, सेवा, शोधन, पूजा, संस्कार र उत्सवका रूपमा मनाउने गर्दछन् । आत्मपूजा, आत्मचेतना र आत्मज्ञानको जागरण गराउन म्हपूजाको महिमा रहेको पाइन्छ । मानवीय सुख, शान्ति र समृद्धिको कामना गर्दै गरिने म्हपूजालाई पारिवारिक एकताको रूपमा पनि हेरिन्छ । म्हपूजा आत्मसम्मान, आत्मसन्तुष्टि, आत्मीयताको प्रतीकको रूपमा मनाउने चलन छ । यस पर्वलाई आत्मदीप्तिको पर्व पनि भनिन्छ । समानता र एकत्वभाव व्यक्त गर्ने म्हपूजालाई विजय, साहस, सहिष्णुता, स्वास्थ्य, शान्ति र दीर्घायुको पर्वका रूपमा मनाउने चलन छ ।
यसैगरी कार्तिक शुक्ल पक्षको षष्ठी तिथिका दिन तराईवासी नेपालीले मनाउने छठ पर्व अस्ताउँदो सूर्यलाई पूजा गर्दै उदाउँदो सूर्यसँगै समापन गर्ने चलन छ । किंवदन्तीअनुसार छठ पर्व राजा याज्ञवाल्क्यको समयदेखि चलिआएको हो र यस पर्वमा भक्तजनले सन्तान प्राप्ति र पारिवारिक दीर्घायुको कामना गर्ने चलन छ । सूर्योपनिषदमा सूर्यलाई ब्रह्मा, विष्णु र महेश्वर तीनै देवताको साझा स्वरूप मानिएको छ । छठ पर्वमा सौर्यशक्तिको शक्ति प्राप्त होस् भनी प्रार्थना गरिन्छ । छठ पर्वलाई सुख, समृद्धि, शान्ति, स्वास्थ्य, प्रसन्नता र सन्तान प्राप्ति हुने जनविश्वासका साथ मनाउने गरिन्छ ।
नेपालका आदिवासी किरात वंशी राई, लिम्बु, याक्खा, सुनुवारलगायतका जातिले मनाउने उँभौलीउँधौली पर्वलाई अन्नवाली भिœयाउने र उपभोग गर्ने पर्वका रूपमा मनाउने चलन छ । यो पर्व कृषिसम्बन्धी भएकोले कृषियुगसँगै सुरुवात भएको जनविश्वास छ । मंसिर महिनाको पूर्णिमाका दिनमा मनाइने उँधौली पर्वमा किरातवासीले पाकेको अन्न इष्ट देवता, कुल देवता र पितृलाई चढाएर आपूmहरूले खाने चलन छ । यसैगरी, वैशाख पूर्णिमाका दिन मनाइने उँभौलीमा बालीनाली सप्रियोस् भन्दै वर्षाको कामना गरिन्छ । यस पर्वलाई राईहरूले उँधौली साकेला, लिम्बुहरूले चासोक् तङ्नाम, याक्खाहरूले चासुवा र सुनुवारहरूले फोलस्यादरका रूपमा मनाउने गर्दछन् । यो पर्व किराँती समुदायकोे मौलिक पर्वको रूपमा परिचित छ ।
उँभौली पर्वमा किराँतीले आकाश, पृथ्वी, पाताल, नदी, रुख, वन, पर्वत, गोठ आदिको पूजा गर्दछन् । संसारमा रहेका सम्पूर्ण प्राणीहरूको भलो होस् भन्दै अन्न पानीका सृष्टिकर्ता प्रकृति परमेश्वरको प्रार्थना गरी घाम, पानी र वायुको अह्वान गरिन्छ । पितृ देवता, लोक देवता र प्राकृतिक देवता आदि यस पर्वका मूल देवी देवताहरू हुन् । यसरी हेर्दा उँभौली र उँधौली पर्वले प्रकृतिलाई पूजा आरधनागरी सुख, शान्ति र लोकहितका लागि कामना गरेको पाइन्छ ।
जातीय तथा नश्लीय सोचका अनुयायीमा हाम्रा सम्पूर्ण पर्वको अध्ययन, अनुसन्धानसहित सही सन्देशलाई आत्मसात गर्ने सत्बुद्धि आओस्
नेपाली समाजमा पर्वहरू मनाउने शृंखलाको रूपमा गुरुङ, तामाङ् शेर्पा, थकाली, मनाङे, जिरेल, मगर आदि समुदायले मनाउने ल्होसार पर्वको पनि ठूलो महत्व रहेको पाइन्छ । ल्होसारलाई गुरुङले तोला ल्होसार, तामाङले सोनाम ल्होसार, सेर्पाहरूले ग्याल्बो ल्होसारका रूपमा मनाउने गर्दछन् । लहोसारलाई जे नाम दिएर मनाए तापनि यसले आत्मीयता, प्रेम, सद्भाव, विश्वास र भ्रातृत्वभाव बढाउनमा ठूलो भूमिका खेलेको पाइन्छ ।
यसैगरी नेपालको सूदरपश्चिममा मनाइने गौरा पर्वको पनि त्यहाँको ठूलो महिमा रहेको पाइन्छ । गौरा पर्व नारी स्वतन्त्रता र दाम्पत्य प्रेमको प्रतीकका रूपमा थालनी भएको किंवदन्ती रहेको छ । पार्वतीले नारी स्वतन्त्रताको आरम्भ गर्दै शिवलाई पतिको रूपमा वरण गरेपछि गौरा पर्वको सुरुवात भएको धार्मिक मान्यता रहेको छ । यस पर्वमा नारीहरूले गौरा घरको आँगनमा भेला भएर महादेवलाई शिरमा राखी गौराको परिक्रमा गर्दै आफ्ना पति र सन्तानको सुख, समृद्धि एवं दीर्घायुको कामना गर्दछन् । नारी जातिको सार्थक र सम्मानजनक उपस्थिति रहने यस गौरवमय सांस्कृतिक पर्वले सुदूरपश्चिमको समाजमा निकै महत्व राखेको पाइन्छ । गौरा पर्वका उपासकमा अमंगल, अभाव, अविद्या, अपसकुन आदिबाट मुक्त बनाई पारिवारिक सुख, समृद्वि, सन्तान लाभ, प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
अन्त्यमा हाम्रो देशमा उल्लेखित चाडबाडका अतिरिक्त अन्य स्थानीय मेला वर्षभरि नै मनाउने चलन छ । धार्मिक, सांस्कृतिक एवं परम्परामा आधारित हाम्रा चाडबाडहरूले व्यक्ति एवं समाजलाई अनुशासित, मर्यादित, लोककल्याणकारी बनाउन ठूलो सन्देश दिएका छन् । अहिले समाजमा कतिपय राजनीतिक दल एवं व्यक्ति विशेषहरू हाम्रा सांस्कृतिक, धार्मिक एवं सामाजिक मूल्य र मान्यताहरूलाई नश्लीय चिन्तनले हेर्ने र यिनीहरूलाई ध्वस्त पार्ने एजेन्टको रूपमा काम गरीरहेकोे पाइन्छ । समाजमा धर्म, संस्कार, संस्कृति, सामाजिक मूल्य र मान्यताहरू नमान्नेहरूले समाजलाई कमजोर बनाइरहेका छन् । सामाजिक अनुशासनमा धावा बोलिरहेका छन् । जातीय विभेद र नश्लीय सोचका अनुयायीमा हाम्रा सम्पूर्ण पर्वहरूको अध्ययन, अनुसन्धान गरी यिनीहरूको सन्देशलाई आत्मसात गर्दै व्यवहारमा लागू गर्ने सत्बुद्धि आओस् । हाम्रा सबै जात जाति, धर्म र सम्प्रदायका चाडपर्वले सामाजिक, धार्मिक एवं सांस्कृतिक मूल्य र मान्यतालाई साझा राष्ट्रिय सम्पत्तिको रूपमा सामूहिक स्वीकार गर्न सक्ने भावनाको विकास हुन सकोस् ।