उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाको मुख्य प्रशासनिक भवनमा अज्ञात समुहले शक्तिशाली बम बिष्फोटन गराएका छन् । आईतवार बिहान १ बजेतिर शक्तिशाली बम बिष्फोटन गराउँदा उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष क्षतिग्रस्त भएको ताप्ली गाउँपालिका अध्यक्ष उद्धबसिंह थापाले जानकारी दिए ।
अज्ञात समुहले उदयपुरको ताप्ली गाउँपालिका– ५ रुपाटारमा रहेको केन्द्रमा बम बिष्फोटन गराएको हो । बम बिष्फोटनबाट ३ वटा कोठा क्षतिग्रस्त भएको जनाएको छ । बिष्फोटनबाट उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, राजश्व काउन्टर, योजना शाखामा क्षति पुगेको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए । बिष्फोटनबाट फर्निचर, कम्प्युटर लगायतको सामान क्षति पुगेको जनाएका छन ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) भिमबहादुर दाहालका अनुसार ताप्ली गाउँपालिकाको बन्डमा रहेको नागरिक सहायता कक्षमा बम बिष्फोटन गराएको हो । घटनाको अनुसन्धान भई रहेको र कटारीबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली त्यहाँ पुगेको एसपी दाहालले जानकारी दिए ।
मुलद्धारमा राखिएको बम डिष्पोजल गर्न सदरमुकाम गाईघाटबाट नेपाली सेनाको प्राबिधिक टोली घटना स्थल हिडेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बिष्फोटन गराईएको बम शक्तिशाली सकेट बम हुन सक्ने अनुमान गरिएको छ ।
बम बिष्फोटनबाट क्षतिग्रस्त भवन गाउँपालिकाले भाडामा लिएको महेन्द्ररत्न माध्यामिक बिद्यालय रुपाटारको हो । गाउँपालिकाले शनिवारदेखि स्वास्थ्य क्षेत्रका लागि आवश्यक पर्ने २७ जना दरबन्दीमा परिक्षा सञ्चालन गर्दै आएको थियो । पहिलो परिक्षा सकिएकै रातमा बम बिष्फोटन भयो, अरु धेरै परिक्षा सञ्चालन हुन बाँकी थियो, गाउँपालिका अध्यक्ष थापाको भनाई रहेको छ । उनका अनुसार अहिले रुपाटार क्षेत्र त्रसितमय वातावरणमा रहेको छ । उदयपुरकै दुर्गभ पालिका भएकाले सुरक्षा निकाय पुग्नलाई समेत निकै समय लाग्ने गर्दछ ।






