काठमाडौं । गायक एवं संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो…’ बोलको कवाली फ्लेवरको गीत बजारमा आएको छ ।
राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शव्दहरुले भरिपूर्ण गीत सुन्दा जति आनन्द आउँछ, त्यती नै मज्जा यसको आकर्षक म्युजिक भिडियोले दिन्छ । कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा तयार भएको यसको म्युजिक भिडियो दरवारिया शैलीमा निर्माण गरिएको छ । बिहेका लागि राजकुमारीलाई हेर्न पुगेका दुई राजकुमारको प्रवेशपछि दरारमा चलेको कवाली प्रस्तुत गरिएको म्युजिक भिडियोमा चक्लेटी हिरो पल शाह दोहोरो भूमिकामा छन् ।

पलले राजकुमार दाजुभाईको भूमिकामा अभिनय र नृत्य गरेका छन् । त्यसै गरी राजकुमारीको भूमिकामा सिक्कीमेली सुन्दरी छुकिला शेर्पालाई प्रस्तुत गरिएको छ । केही म्युजिक भिडियोमा अभिनय गरीसकेकी छुकिला नेपाली रजतपटको ढोका ढकढक्याउने क्रममा यो गीतको म्युजिक भिडियोमा देखिएकी हुन् ।
भिडियोमा कविराज गहतराजले होटल याक एण्ड यतीलाई आलिसान दरवारको रुपमा प्रस्तुत गरेका छन् भने आउटडोर इनडोरमा सयभन्दा बढी कोरसले अभिनय गरेका छन् । लोभलाग्दो ढंगले प्रस्तुत गरेका छन् । भिडियोमा गायक दाजुभाई सत्यराज र स्वरुपराज आचार्यसमेत कवाली गाउँदै गरेका देखिन्छन् । कोरियोग्राफीको कलामार्फत हरेकजसो फिल्मी गीतलाई धनी बनाउँदे आएका कविराज गहतराजको यो भिडियो पनि कुनै फिल्मी गीतभन्दा कम लाग्दैन । झकिझकाउ र चमक दमक प्रकाश व्यबस्थापनका साथ सुदीप बरालको छायांकन कलाले भिडियोलाई उत्कृष्ट बनाउन सघाएको छ भने आलिया गिरीको पहिरन डिजाइनले कविराजको दरवारभित्रको सांगितीक कार्यक्रमको परिकल्पनालाई सार्थक बनाउन सघाएको छ ।
गीतमा शव्द रचना अमृत खतिवडा (भाञ्जा भाई) तथा सत्यराज र स्वरुपराज आचार्य एवं संगीत संयोजन उदयराज पौडेलको रहेको छ । कैलाश राई (सिक्कीम)द्वारा निर्मित भिडियोमा कोरियोग्राफी दीपकराज सुनार, सम्पादन अर्जुन जिसी, भिएफएक्स सत्यम राना, कलर रेनिष फागोको रहेको छ ।
‘यो हाम्रो ३ वर्षपछिको एलबम हो । वास्तवमा हामीले यो गीत अमेरिकाको सांगितीक यात्राका क्रममा बनाएका थियौँ । यसको कम्पोजचाहिँ कवाली गजल टाइपको छ, एरेञ्जमेन्टचाहिँ मोडर्न डान्सिङ नम्बरमा गरिएको छ । लामो समयपछि आएको भएर हामीले मास र क्लासलाई ध्यान दिएका छौ’ स्वरुपराज भन्छन् । म्युजिक भिडियोका छायांकार सुदीप बराल गीतअनुसार निर्देशकको थिमसँग मिल्ने गरी भिडियो उतारिएको बताए । निर्माता कैलाश राईले सिक्कीमको माया नेपालसँग जोड्ने सिलसिलामा यो गीत तथा यसको म्युजिक भिडियो तयार पारिएको र यस कार्यलाई निरन्तरता दिइने बताए ।






