धुर्मैलाे शनिबार दिउँसो दुई बेज्दै छ ।
स्थान : महत गाउँ, लेले (ललितपुर) ।
एकनास लतमन्न तर हल्का नागबेली पक्की सकड परसम्मै फैलिएको छ ।
‘बुबा, यहाँबाट मनकामना मन्दिर पुग्न अब कति समय लाग्ला ?’ हामीले सोध्यौं ।
एकैछिन घोरिएपछि उनी समय अडकल्न थाले, ‘तिमीहरूलाई लाग्छ होला आधा घण्टाजति, हामी त बिसै मिनेटाँ पुग्छौं ।’
‘चिया खाऔं न बुबा,’ कलायात्री सुरेम देशार झोला बिसाउँदै भन्छन् ।
‘हुन्छ,’ ६९ वर्षका रामबहादुर महत ग्यास चुल्हो ट्याक्क पार्छन् ।
केही केटाकेटी उनको पसलमा झुम्मिसकेका छन् । उनीहरूको सामान रोजाईसँगै ज्येष्ठ नागरिक रामबहादुर
‘वाल्ल’ परेका छन् ।
‘यो…त्यो…,’ उनी केटाकेटीसँग सोध्दै मूल्य सुनाउँछन् ।
एकैछिनमा पसल शून्य भयो । अब अर्का कलाकार दिलकुमार देशारसँगै हामी तीन जनामात्रै छौं ।
‘गाउँमा एउटाले विकास गरे, अर्काेले सहँदैन, अर्कोले गरे अर्को सह“दैन,’ रामबहादुरको संकेत राजनीतिक पार्टीतिर छन् । आफ्नो चिया पसलअघिल्तिर लमतन्न आधा खुइलिएको पिच सडक देखाउँदै उनले थपे, ‘के गर्नु ? यो सडक बनेको सात वर्ष हुन लाग्यो । ऊ…त्यही हो, विश्व चक्रपथ घुम्ती, अहिले पनि त्यस्तै छ ।’
रामबहादुर कुनै समय जावलखेलस्थित सदर चिडियाखानाबाट हात्ती चढेर लेले महतगाउँको घर आइपुग्थे ।
‘चापागाउँ पुग्दा, किसी वल किसी भनेर सबैजना झुम्मिन्थे,’ हाम्रो लागि गाईको दूधचिया बनाउन भ्याइसकेका उनी सुनाउन थाले, ‘यहा“ घरसम्म आइपुग्न चार घण्टा लाग्थ्यो । मलाई पु-याएर माउते हात्ती लिएर फर्कन्थे ।’
२०४६ सालतिर राष्ट्रिय निकुञ्जमा जागिरे भएपछि रामबहादुर हात्ती चढेर घर आउन थालेका थिए । तर, उनलाई जागिरतिर खासै मन भएन ।
‘त्यसपछि जागिरबाट भागें, मनै लागेन अनि किन गर्नु ?’ बाटोकै लागि एक रोपनी जग्गा दिएका रामबहादुुर भन्छन्,
‘अहिलेको वडाध्यक्ष मिलन सिलवालले धेरै राम्रो काम गरिरहेका छन् । राम्रो गरेकालाई राम्रै भन्नुपर्छ, ढाँटेर हुँदैन ।’
उनले सुनाउँदै गरेका सबै कथन ‘थे’ भइसकेका छन् । तर, हामीअघिल्तिर भने अतीत कोल्टे पर्दैछन् ।
चिया पसल राखेकै २५ वर्ष भइसकेका रामबहादुरले मनकामनातिरको बाटो नाप्दै गर्दा हात उठाउँदै भने, ‘बाबुहरू, हामीले ज्येष्ठ नागरिक परिचय पत्र देखाउँदा पनि बसवालाहरूले डबल भाढा असुलिरहेका छन् । लौ न, केही गर्नुप-यो ।’







