काठमाडौं । किशोरावस्था पुगेकाहरुले नेपालमा अझै चाहे जस्तो साहित्यि पाठ्या सामग्री पाउदैनन् । बाल बालिका केन्द्रित धेरै सामग्री प्रकाशन भएपनि किशोर किशोरीका चाहना अनुरुपमा साहित्यिक कृति छैनन् ।
उमेर अवस्था र स्वभावले किशोर किशोरहरु जोशिला हुन्छन् अनि नयाँ कुराको असाध्यै भोका हुन्छन् । केही सिक्ने चाहना पनि हुन्छ । यहि उमेर समुहका पाठकका चाहनालाई ध्यानमा राखेर लेखक कृष्णदिप सिग्देलले उपन्यास लेखेका छन् ‘सेकुवा’
तशर्थ ‘सेकुवा’ किशोरकिशोरीका लागि एउटा कोसेली हो । किशोरकिशोरीका लक्षित किताब कै खडेरी भएको अवस्थामा यो एउटा पुस्तक पूर्ण समाधान नहुन सक्छ तर अभाव पुर्तिका लागि एउटा प्रयास भने पक्कै हो
किशोरकिशोरीलाई रोमाञ्च मन पर्छ । विपरित लिङ्गप्रतिको आकर्षण हुन्छ । शारिरीक परिवर्तन वा यौनका बारेमा बुझ्न चाहन्छन् । सामाजिक वा देशभक्तिको भावना पनि बढी नै हुन्छ । सबैलाई आफ्ना कुरा खुलेर भन्दैनन् तर कुरीति वा विसङ्गतिबिरुद्ध निर्धक्क बोल्न वा कार्यशिल हुन मन गर्छन् । उनीहरु चाहन्छन् उनीहरुका यिनै रुचिका क्षेत्रलाई सम्बोधित गरिएका किताबहरु होऊन् । तर नेपाली भाषामा उनीहरुका लागि लेखिएका पुस्तक नै कहाँ छन् ! बजार वा पुस्तकालयमा धुइँपत्ताल खोजि गरियो भने सायद एउटा सानो झोलामा अट्नेसम्मका पुस्तक पाइएला कि ! त्यो पनि गाह्रो छ ।
तशर्थ ‘सेकुवा’ किशोरकिशोरीका लागि एउटा कोसेली हो । किशोरकिशोरीका लक्षित किताब कै खडेरी भएको अवस्थामा यो एउटा पुस्तक पूर्ण समाधान नहुन सक्छ तर अभाव पुर्तिका लागि एउटा प्रयास भने पक्कै हो । यस किताबले उनीहरुको रोजाइमा रहेका सबै विषयलाई सम्बोधन गर्दैन । एउटा किताबले सबै विषयलाई समेट्नु पनि हुँदैन ।
‘सेकुवा’मा गजबको स्वैरकल्पना छ । कथावाचन वा प्रस्तुतिको शैलि नितान्त भिन्न छ । कथाका विभिन्न भागमा जीवनसँग सम्बद्ध साना साना दर्शनका कुरा छन् कथाकै अंशका रुपमा । कथा छोटो छ तर भागैपिच्छे कौतुहलता उब्जाउने घटनावली छन् । पात्रका व्यवहार शुद्ध र प्राकृतिक छन् । कथामा मोडहरु धेरै नै छन् तर मूल विषयबाट कथा भट्किएको छैन । कथा सन्तुलित छ, भाषा सरल र प्रस्ट छ । नेपाली बालसाहित्य (किशोर साहित्य)का लागि यो किताब एउटा प्रयोगका रुपमा आएको छ ।
किशोरकिशोरीका लागि कृष्णदीप सिग्देलको यो पहिलो किताब हो । यसअघि उनका २ बालउपन्यास प्रकाशित भइसकेका छन् भने चित्रपुस्तकलगायतका ७५ भन्दा बढी किताबहरु उनले प्रकाशित गरिसकेका छन् । त्यस्तै युवापुस्ताका प्रखर र क्रियाशिल कलाकार सुमन महर्जनका सरस चित्रहरुले कथालाई अझ उजिल्याएका छन् ।
पुस्तक : सेकुवा
विधा : किशोर उपन्यास
लक्षित उमेर समूह : १२ देखि १५ वर्ष
लेखक : कृष्णदीप सिग्देल
चित्र : सुमन महर्जन
पृष्ठ संख्या : १७६ं
संस्करण : पहिलो (२०७७, कात्तिक)
प्रकाशक : साङ्ग्रिला बुक्स् (साङ्ग्रिला बुक्स् चिल्ड्रेन)
साङ्ग्रिला बुक्स् (साङ्ग्रिला बुक्स् चिल्ड्रेन) ले नवीन तथा प्रयोगधर्मी किताबको प्रकाशनलाई प्राथमिकतामा राखेको छ । यसैको उदाहरण हो यो पुस्तक । बालबालिकाका लागि नवीन शैलिका तथा किशोरकिशोरीका लागि विविध विषयका पुस्तक प्रकाशने हेतु केही पुस्तकको प्रारुप तयार भइरहेको छ । छिट्टै नै सम्बद्ध पाठकहरुमाझ ल्याउनका लागि काम भइरहेको छ ।