काठमाडौं । कोरोना महामारीका कारण मुलुकको आर्थिक गतिविधि कमजोर भएको अवस्थामा वैदेशिक मुद्रा भण्डारण (सञ्चिती) भने वृद्धि भएको छ । राष्ट्र बैंकले वैदेशिक मुद्रा सञ्चिती हालसम्मकै सबैभन्दा बढी भएको जनाएको छ । वैदेशिक मुद्रा भण्डारण बढेको फाइदा यहाँका ऋणीले पाउने भएका छन् ।
हाल राष्ट्र बैंकसँग विदेशी मुद्राको सञ्चिती वृद्धि भएर कुल १४ खर्ब ७० अर्ब २६ करोड रुपैयाँ पुगेको छ । यसलाई शुक्रबारका लागि निर्धारण भएको अमेरिकी डलरको भाउअनुसार हिसाब गर्दा करिब ११ अर्ब ७५ करोड हुन आउँछ । अब यसले आगामी १५ महिनाको आयात धान्ने राष्ट्र बैंकको दाबी छ ।
विगतका वर्षमा राष्ट्र बैंकसँग यति धेरै विदेशी मुद्राको सञ्चिती थिएन । हाल विदेशबाट आउने विभिन्न वस्तुको आयात घटेर यहाँबाट पठाउने समानको निर्यात बढेकाले विदेशी मुद्राको सञ्चिती बढेको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ का लागि जारी गरेको ‘मौद्रिक नीति’को समीक्षाले अब डलरमा ऋण लिएकालाई नेपाली रुपैयाँमा तिर्न पाउने सहुलियतपूर्ण व्यवस्था गरिदिएको छ ।
– विदेशी मुद्राको सञ्चिती १४ खर्ब ७० अर्ब २६ करोड रुपैयाँ
– पर्यटन र वायुसेवा क्षेत्रबाट विदेशी मुद्रामा करिब ३० अर्ब रुपैयाँ ऋण
–वाणिज्य बैंकले विदेशी मुद्रामा दिए ९८ अर्ब रुपैयाँ ऋण
–बैंक र व्यवसायी दुवैलाई राहत
अहिले वाणिज्य बैंकले ९८ अर्ब रुपैयाँ विदेशी मुद्रा ऋण दिएका छन् । यस्तो प्रावधान विशेष गरी पर्यटकीय होटल र वायुसेवामा लागू भइरहेको थियो । कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र पनि पर्यटकीय होटल र वायुसेवा प्रदायक कम्पनीहरू नै छन् । त्यसैले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत उनीहरूलाई केही सहजीकरण गर्न खोजेको देखिन्छ । यसले अब बैंक र व्यवसायी दुवैलाई राहत पुग्ने सम्बन्धित सरोकारवालाको भनाइ छ ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बैंक तथा वित्तीय संस्थाबाट विदेशी मुद्रामा ऋण लिएका ऋणीहरू कोरोना भाइरसको महामारीबाट प्रभावित हुन गई विदेशी मुद्रामा सावाँ तथा ब्याज भुक्तानीमा पर्न गएको असहज परिस्थितिलाई दृष्टिगत गरी यस्तो व्यवस्था गर्न लागिएको बताए ।
राष्ट्र बैंकका अनुसार अब अनलाइनमार्फत निश्चित रकमसम्म विदेशी वस्तु तथा सेवा आयात गरी सोको भुक्तानी गर्न विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । समग्रमा राष्ट्र बैंकले गरेको समीक्षा तथा आगामी वित्तीय उपाय सकारात्मक भएको नेपाल बैंकर्स संघले जनाएको छ ।
बैंकर्स संघका अध्यक्ष भुवन दाहालले विशेषगरी कोरोना प्रभावितलाई मध्यनजर गरी दिइएको यस्तो अवसर सकारात्मक भएको बताए । अब नेपाली मुद्रा हुनेहरूले बैंकको ऋण तिर्न सहज हुने उनले जनाए ।
राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिती अहिलेसम्मकै सबैभन्दा बढी भएकाले यो कदम चालेको हो । हाल पर्यटन र वायुसेवा क्षेत्रमा विदेशी मुद्रामा करिब ३० अर्ब रुपैयाँ ऋण गएको छ । उनीहरूले चाहेमा यो पैसा नेपाली रुपैयाँमै तिर्न सक्छन् ।
राष्ट्र बैंकका अनुसार हाल मुलुकको आयात घटेसँगै चालु आवको पहिलो त्रैमासमा विदेशी मुद्रा सञ्चिती ४ दशमलव ९ प्रतिशतले बढेको छ । असोजसम्म विदेशी मुद्रा सञ्चिती बढेर १४ खर्ब ७० अर्ब २६ करोड रुपैयाँ पुगेको हो । गत असार मसान्तमा विदेशी मुद्रा सञ्चिती १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा यस्तो सञ्चिती गत असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकामा असोज मसान्तसम्म आइपुग्दा ७ दशमलव ८ प्रतिशतले वृद्धि भई १२ अर्ब ५५ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितीमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिती गत असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रुपैयाँ रहेकामा गत असोज मसान्तमा ५ दशमलव १ प्रतिशतले वृद्धि भई १२ खर्ब ८८ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
यसैगरी, कुल विदेशी विनिमय सञ्चितीमा भारतीय मुद्राको अंश २३ दशमलव १ प्रतिशत छ । तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती १५ दशमलव रहेको छ । यसले आगामी ६ महिनाका लागि वस्तु आयात र १४.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिन्छ । गत १० मंसिरमा राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको बितेका ४ महिना (कात्तिक मसान्तसम्म)को तथ्यांकले यस्तो देखाएको हो ।
अन्तर बैंक एटीएम प्रयोगमा शुल्क लाग्ने
अबदेखि एउटा बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै यस्तो निणर्य गरेको हो । राष्ट्र बैंकको यस नयाँ निणर्यका कारण अहिलेसम्म निःशुल्क सेवा पाएका सेवाग्राहीले अब अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क बुझाउनुपर्नेछ । राष्ट्र बैंकले यसअघि कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरूलाई निर्देशन दिएको थियो । सो निर्देशन खारेज गर्दै बैंकहरूलाई पहिलेकै व्यवस्थाअनुसार शुल्क लिन राष्ट्र बैंकले निर्देशन दिएको हो ।






